
नवराज ढुङ्गाना,
पोखरा, २७ पुस-
एकीकृत नेकपा माओवादी सहितको ३० दलिय मोर्चाको बन्दका कारण आज बिहानैदेखि पोखरा आसपासको जनजीवन प्रभावित बनेको छ ।
समयमै संविधान निर्माणका लागि दवाव दिन भन्दै माओवादीसहितका विभिन्न साना दलहरुले आज तमुवान, मगँरात लगायत राज्य बन्दको आव्हन गरेका हुन् ।
बन्दका कारण पोखरामा बिहानैदेखि कुनैपनि सवारीसाधन चलेका छैनन् भने बिहान पढाई हुने कुनैपनि शिक्षण संस्थामा पढाई हुन सकेको छैन । यसैगरी, पसल तथा कलकारखाना समेत सबै बन्द रहेका छन् । बन्द सफल गराउन बिहानैदेखि बन्दकर्ता चोकचोकमा खटिएका छन् ।
बन्दका क्रममा अत्यावश्यक सामान बोक्ने गाडी लगायत प्रेश, एम्बुलेन्स, शववाहन, पर्यटक गाडीलाई नरोकिने एकीकृत नेकपा माओवादी कास्कीका अध्यक्ष दिपक कोईरालाले जानकारी दिए ।
साँझ पाँचबजेपछि मात्रै बन्द खुल्ने एकीकृत नेकपा माओवादीको ३० दलीय मोर्चाले जनाएको छ ।
बन्दका क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएका प्रहरीले बताएको छ ।
