
रञ्जन अधिकारी पोखरा, २७ पुस / नेपाल पुलिस पोखरामा जारी मनकामना पोखरा कप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । अर्को विभागीय टिम नेपाल आर्मीलाई २–० गोलले हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिसको जीतमा जुमनु राई र निरकुमार राईले गोल गरे ।
खेलको सुरुमै आक्रामक बनेको आर्मीविरुद्ध खेलको आठौं मिनेटमा जुमनुले गोल गरेपछि आर्मी दबाबमा आयो । पुलिसका हेम तामाङको प्रहार क्रसबारमा लागेर रिबाउण्ड बललाई कमजोर डिफेन्सको फाईदा उठाउँदै पुलिसका कप्तान राईले हेड मार्फत नै जाली चुमाएका हुन् । त्यसपछि पुलिस हावी बन्यो र जुमुनले कम्तिमा तीन उत्कृष्ट अवसर खेर फाले ।
दोस्रो हाफमा ५४ औं मिनेटमा निरकुमार राईले टोलीका लागि दोस्रो गोल गरेपछि आर्मी पहिलो खेलबाटै बिदा भएको हो । पुलिसले पहिलो खेलमा रुपन्देही विरुद्ध सडेन डेथमा कठिन जीत हात पार्दा आर्मी बाई पाएर सिधै क्वार्टरफाईनल खेलेको हो । म्यान अफ दि म्याच पुलिसका दिपेन श्रेष्ठ बने ।
अब पुलिसले फाईनल प्रवेशका लागि पुस ३० गते मनाङ मस्र्याङ्दीको सामना गर्नेछ । मनाङले शुक्रबार सरस्वती युथ क्लबलाई ४–१ गोलले हराउँदै अन्तिम चार पुगेको हो ।
‘आर्मीको खेल नराम्रो होईन । पहिलो खेल भएर आर्मीलाई केही दवाव भयो । हाम्रो दोस्रो खेल भएर मैदानमा सेट हुदैं गएपछि डोमिनेट ग¥यौं ।’ पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भने—‘मनाङसितको खेल टप हुन्छ । जित्ने सम्भावना बराबरी रहन्छ ।’
‘आर्मी राम्रो टिम हो । सधै एकनास खेल खेलिन्छ भन्ने छैन् । पहिलो गोल खाएपछि खेलाडी सुस्ताए । क्लियर गर्न नसक्दा सिल्ली गोलले मनोबल गि¥यो ।‘ आर्मीका प्रशिक्षक मेघराज केसीले भने ‘पुलिसको डिफेन्स चिर्न सकेनौ । उनीहरुको रणनीति सफल भयो ।’
सोमबार शसस्त्र प्रहरीको एपीएफ क्लब र हङकङको टोली बीच खेल हुने छ ।
photo : goalnepal.com

