पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा मनाईनुपर्नेमा जोड

Share:

रञ्जन अधिकारी पोखरा, २७ पुस / नेपालको एकीकरणका नायक पृथ्वीनारायण शाहको आईतबार नागरिक स्तरमा स्मरण गरिएको छ । २ सय ९३ औं पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते सरकारले सार्वजनिक बिदा नदिएपनि नागरिक स्तरबाटै विभिन्न स्थान कार्यक्रम आयोजना गरी उनको योगदानको सम्झना गरिएको हो ।

नागरिक समाज पोखराको आयोजनामा पोखरामा पनि उनलाई स्मरण गरियो । नेपालका आधार स्तम्भ, राष्ट्र संयोजक, एकताका धरोहरका रुपमा चित्रित गर्दै वक्ताहरुले अहिलेको समयमा पृथ्वीनाराण शाहको महत्व र उनको विचारको औचित्य झनै बढेर गएको बताए । बाईसे चौबिसे राज्यलाई एकीकृत गर्दै वृहत नेपाल निर्माण गरेका पृथ्वीनारायण शाहका केहि कमजोरी भएको भएपनि त्यसलाई बिर्सदैँ उनको योगदानको कदर नगरे ईतिहासले धिक्कार्ने वक्ताहरुको ठम्याई छ । राज्य संघीयतामा जाँदै गर्दा पृथ्वीनारायण शाहलाई नै स्मरण गर्दै राष्ट्रियताका सवाललाई पनि मनन् गर्न उनीहरुले सरोकारवालाको ध्यानाकर्षण गराए ।

20150111_091112

कार्यक्रमको प्रमुख वक्ताका रुपमा रहेका अधिवक्ता तिलक पराजुलीले पृथ्वीनारायण शाहकै अगुवाईमा नेपालले वृहत रुप लिएकाले यसको जस पनि उनलाई नै जाने भन्दै पुस २७ लाई सरकारले राष्ट्रिय बिदा घोषणा नगरेपनि नागरिक स्तरमा उनको स्मरण गरिरहनुपर्ने खाँचो औंल्याए । ‘गोरखा राज्यलाई ठूलो बनाउँदै अन्ततः नेपाल राज्यमा विलिन गराएका पृथ्वीनारायण शाहमा कुनै स्वार्थ भएका भए भाइछोरालाई उनले पुनः राज्य बाँड्ने थिए’ पराजुलीले भने– ‘महत्वाकांक्षी नभएको भए गोरखामै राज गरेर बस्थे नि । त्यही महत्वाकांक्षाले नै राज्य एकीकरण गरे र अहिले हामी नेपाल देशमा रहन पाएका छौं ।’

पश्चिमाहरु बाईबल र व्यापार हातमा लिएर भारतहुँदै नेपालतिर पस्दा अब कसैको हितमा नरहेको थाहा भएपछि पृथ्वीनारायण शाहले लडाईं नै गरेर देश एकीकरण थालनी गरेकाले यसबीचमा कोहि कसैलाई मन नपर्ने कुरा भएपनि यसलाई ठूलो बनाएर उनको आलोचना गर्नुको कुनै अर्थ नरहेको उनको भनाई छ । राज्यलाई धार्मिक, सांस्कृतिक र जातीय विविधताको साझा फूलबारीको रुपमा स्वीकार गर्दै विजित राज्यरजौटालाई स्वायत्तत्रा प्रदान गरेकाले पृथ्वीनारायण शाह जातिवादी, विखण्डनवादी, साम्राज्यवादी, विस्तारवादी हुनै नसक्ने उनले उल्लेख गरे ।

अधिवक्ता सुरेन्द्र थापा मगरले उपनिवेशबाट उन्मुक्त गराउँदै राष्ट्रको स्वरुप दिएका पृथ्वीनारायण शाह एकताको प्रतिक भएकोमा कुनै विमति नरहेको बताए । ‘केहि समय अघिसम्म भावना जोड्ने राजमुकुट, धर्म, भाषा थियो तर अहिले हामी अहिले यस्तो अवस्थामा छौं, अहिले तपाईं र म बीचको कडी टुटेको छ । यसलाई पुनः जोड्ने एकताको सुत्र छैन’ – थापामगरले भने– ‘टुटेका भावना जोड्ने सेतु बनाऔं । खोजीनीति गरौं । उनको योगदानको प्रशंसा त गर्ने तर उनको प्रशंसामा बाहुन क्षेत्री ठकुरीहरु खुशी हुने र अन्य जनजातिहरु दुःखी हुनुपर्ने कारण छैन।’

‘पृथ्वीनाराण शाहको एकीकरण हो कि राज्य विस्तार ? राज्य एकीकरणको क्रममा जसले लडे उनीहरुप्रति पृथ्वीनारायण शाहको व्यवहार कस्तो थियो ? भन्ने पनि बहसको विषय भन्दै थापामगरले थपे – ‘नेल्सन मण्डेलाले भनेका छन् जब काला जातिको हातमा सत्ता थियो, अंग्रेजको हातमा बाईबल थियो, एक छिन आँखा चिम्लँदा उनीहरुको हातमा सत्ता पुगे, हाम्रो हातमा बाईबल भयो । पृथ्वीनारायण शाहले एकीकरण नगरेका भए पनि यस्तो अवस्था आउन सक्थ्यो ।’

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पृथ्वीनारायण शाहका राम्रा कार्यलाई केहि नराम्रो कुराहरुले ढाकछोप गर्दै बिर्सने दुस्प्रयास हुनु दुःखद् कुरा भएको उल्लेख गरे । ‘कसैको योगदानलाई भुल्नु हुँदैन । विरोधका नाममा नराम्रा कुरा मात्रै उठान गरिँदै आएको पाईन्छ’ – बास्तोलाले भने– ‘पृथ्वीनारायण शाहलाई सम्झदैंमा गणतन्त्र विरोधी हुने होईन । गणतन्त्र स्थापित गर्न चाहन्छौं भने उनको सम्झनालाई झन् दिगो राख्ने प्रयास गर्नु जरुरी छ । आजको दिनले सद्भावको विकास गरुन् ।

लेखबहादुर थापाले पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन छाड्नु र मुलुक धर्म निरपेक्ष बनाईएपछि मुलुकमा विदेशी चलखेल बढेको जनाउँदै पृथ्वीनारायण शाहलाई दुई शतकपछि मूल्यांकन गरिरहँदा त्यो बेलाको घटनाक्रमलाई अहिलेको चस्माले हेर्नु कतिको जायज हो भन्दै प्रश्न गरे । नेपालबाट हार खाएर निकालिएका बाईबलधारीले लेखेको ईतिहासमा किर्तिपुरे जनताको नाक काटिएको उल्लेख गरेपनि यो कुनै कोणबाट पनि सही नदेखिएको उनको भनाई छ ।

नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले पृथ्वीनारायण शाह राष्ट्र निर्माता नै भएको भन्दै यसमा कोहि कसैको विरोधले फरक नपर्ने बताए । उनले बन्द हडतालले नागरिक, मुलुक कसैलाई फाईदा नमिल्ने भन्दै बन्द आव्हानकर्तालाई बन्द नगर्न पनि आग्रह गरे ।

गिताञ्जली साहित्य परिषद्का उपाध्यक्ष शिव प्रसाद गौतमले परिवर्तनका नाममा नयाँ नेपाल निर्माण गर्ने भन्दै मुलुक बनाएका पृथ्वीनारायण शाहको शालिक ढालेर अर्का विभूतिको शालिक राखिनु निकै दुःखदायी कार्य भएको बताए ।

उदयबहादुर अमात्यले आज सबै नेपालीलाई गौतम बुद्ध नेपालमा जन्मिएको हो भनेर जति गौरव लाग्छ, उनको जन्मस्थल लुम्बिनी नेपालकै बनाउने पृथ्वीनारायण शाहलाई घृणा गरिनु कतिको शोभनिय हो ? सबैलाई विचार गर्न आग्रह गरे ।

सरोजनारायण बरालले अरु मुलुक जस्तो नेपालले स्वतन्त्र दिवस मनाउनुपर्ने दिन नहुने हुँदा पुस २७ लाई राष्ट्रिय एकताको दिवस मनाउनुपर्नेमा जोड दिए । पार्वती पौडेलले पृथ्वीचोकमा रहेको शालिक साह्रै निर्मम तरिकाले टुक्राएर अर्को व्यक्तिको राखिनु दुःखद भएको भन्दै थपिन् ‘लखन थापा मगर पनि हाम्रा विभूति हुन् । उनलाई पनि ससम्मान अर्को चोकमा राखिनु पथ्र्यो । यसो हुँदा हरेक समुदायबाटै झनै सम्मान मिल्थ्यो । यसतर्फ सोच्नु जरुरी छ ।’

पृथ्वी पौडेल, उत्तम जोशीले अन्र्तक्रियाले मात्र नपुग्ने भन्दै अब नागरिक स्तरबाटै पुस २७ लाई पुनः राष्ट्रिय एकता दिवसको दिनमै फर्काउन दवाव आवश्यक रहेको बताए । पत्रकारहरु सुस्मा पौडेल, रञ्जन अधिकारी ले आज नेपाली भन्ने अवस्था पनि उनकै योगदानका कारण पाईएको, बाईसे चौबिसे राज्यलाई एक बनाएका पृथ्वीनारायण शाहकै कारण आज देशमा विभिन्न राज्यको माग गर्न पाएको कुरालाई पनि मनन गर्न आग्रह गरेका थिए ।

कार्यक्रम संयोजक शशि तुलाचनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नागरिक समाज पोखराकी अर्थ संयोजक सावित्री शर्माले गरेकी थिईन् ।

कमेन्ट गर्नुहोस्
Share: