बन्दले गरिखाने जनतालाई सास्ती, बैद्य र प्रचण्ड मोर्चाको बन्दले जनजीवन कष्टकर, लेकसाईडमा आमा समूह बन्द विरुद्ध उत्रिए

Share:

रञ्जन अधिकारी पोखरा, २७ पुस /जनताकै लागि राजनीति गर्दै आएको बताउने विभिन्न दलले छुट्टाछुट्टै माग राखेर बन्द हड्ताल गर्दा सर्वसाधारण मर्कामा परेका छन् । वर्षौ प्रतिक्षापछि बन्न लागेको संविधानमा आफ्नो अडानका लागि दबाब तथा संविधानसभाको बहिस्कार स्वरुप छुट्टाछुट्टै पक्षले क्षेत्रगत रुपमा  लगातार गरेको बन्दका कारण मुलुकभरको जनजीवन दिनदिनै कस्टकर बनेको छ । कहिले कुन ठाउँमा बन्द छ भन्ने थाहा नपाउँदा नागरिकहरु अन्यौलमा छन् ।

प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चा र मोहन वैद्य नेतृत्वको नेकपा—माओवादीले छुट्टाछुट्टै आह्वान गरेको बन्दका कारण आज पनि जनजीवन प्रभावित बन्यो । दुबै पक्षको पूर्वघोषित आन्दोलनको कार्यतालिका अनुसार माघ पहिलो सातासम्म जनताको हित विपरितका यस्ता बन्द हड्ताल जारी नै रहने छन् ।

बन्दविरुद्ध आमा समूह उत्रिए सडकमा

एकीकृत माओवादीसहितको ३० दलीय मोर्चाले आह्वान गरेको तमुवान र मगरात क्षेत्र बन्दविरुद्ध पोखराका आमा समूह सडकमा उत्रिए ।      लेकसाइड क्षेत्रको जगदम्बा आमा समूहको नेतृत्वमा करिब एक सय महिला बन्द विरोधी नारा लगाउँदै सडकमा ओर्लेका हुन् । उनीहरुले बन्दले जनताको ढाड सेक्ने भएकाले बन्द सधैंका लागि बन्द गर्नुपर्ने नारा लगाएका थिए ।

बन्द गरेर संविधान नबन्ने भएकाले बन्द फिर्ता लिएर जनतालाई राहत दिन पनि उनीहरुले माग गरे । यिनै महिला र आमा समूहले २०६६ र २०६७ मा पनि बन्द हुँदा निरन्तर यस्तै विरोध प्रदर्शन गरेका थिए । यद्यपी उनीहरुको बन्द खुलाउने प्रयास भने सफल हुन सकेन ।

बन्दको असर

एमाओवादी नेतृत्वको मोर्चाले आइतबार तमुवान, मगरात, किरात, खम्बुवान र लिम्बुवान बन्द गरायो भने वैद्य माओवादीले आइतबार नै पश्चिमाञ्चल केहि जिल्ला बन्द गराएको हो । कास्कीमा भने एमाओवादी मोर्चाको बन्द थियो । साँझ पाँच बजेपछि कोणसभा गरी बन्द खुलेको कास्कीका मजदुर नेता राजेन्द्र न्यौपानेले जानकारी दिए । यद्यपी बन्दका क्रममा कुनै अप्रिय घटना नभएको भए पनि २ वटा गाडीमा सामान्य क्षति भएको उनले जानकारी दिएका छन् ।
मोर्चाको बन्दका कारण आज यातायातका साधन चल्न सकेनन् भने उद्योग, कलकारखाना, शैक्षिक संस्था, पसल बन्द रहे । बन्दमा आयोजकले प्रेस, एम्बुलेन्स, खानेपानीको टयांकर, मानवअधिकारवादी चढेको गाडीमा समेत खानतलासी गरेका थिए । बन्दका कारण पर्यटकीय नगरी पोखरा घुम्न आएका आन्तरिक एवं बाह्य पर्यटकहरु मारमा परे ।

1978897_1055818951101586_3613939801119521434_n

यस्तै, लिम्बुवान क्षेत्र भनिएको अरुण नदी पूर्वका ९ं जिल्ला (सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र संखुवासभा ) को जनजीवन कष्टकर बनेको छ । नेकपा—माओवादीले शुक्रबार गराएको पूर्वाञ्चल बन्द खुलेको एक दिनपछि एमाओवादी मोर्चाले लिम्बुवान क्षेत्र बन्द आह्वान गरिँदा सर्बसाधारणले सास्ती पाएका हुन् ।

हातमा लिम्बुवान पार्टीको झण्डा बोकेका बन्द समर्थकहरुले मोटरसाइकल, एम्बुलेन्स, दमकल, प्रहरी र सरकारी सवारी साधन बाहेक अन्य कुनैलाई पनि गाडीलाई गुड्न दिएनन् ।

गाडी तोडफोड

लिम्बुवान कार्यकर्ताले आइतवार बिहान साढे ५ बजे काठमाण्डौबाट यात्रु बोकेर झापाको काँकडभित्ता जाँदै गरेका दुई बसमा इटहरीमा तोडफोड गरेका छन् । बन्दकर्ताको ढुंगा प्रहारबाट दुबै बसका पछाडिका सिसा फुटेका छन् । बन्दकर्ताहरुले विद्यालयको गाडीमा समेत अवरोध पु¥याएका थिए । बन्दका कारण पूर्वका उद्योग कलकारखाना, ब्यापार ब्यवसाय सबै ठप्प रहे ।

संविधानका नाममा जनतालाई सास्ती

बन्दकर्ताहरुले जनपक्षीय संविधान बनाउन यस्ता बन्द र हडताल आयोजनाम गरेको बताउने गरेका छन् । तर, यस्ता कर्मकाण्डीय बन्द हडतालले सरकारलाई नभएर दिनभरि बनिबुतो गरिखाने सर्वसाधारण जनता नै बढी मर्कामा पर्ने गरेका छन् । जनताले कुनै पक्षबाट भएको बन्दलाई पनि साथ नदिने बेला आएको नागरिक स्तरबाट आवाज उठेको छ । दलहरुले बन्द नगर्ने भनेर घोषणा पत्रमा लेखेको कुरालाई मनन गर्न आवश्यक भएको उनीहरुको भनाई छ । नेकपा एमालेले घोषणापत्रमै बन्द हडताल नगर्ने उल्लेख गरेको छ र अहिलेसम्म उसले बन्द आह्वान नगरेपनि एमाओवादी नेतृत्वको मोर्चाबाट भएको बन्दलाई नागरिकले सहज रुपमा लिएका छैनन् ।

Photo: Hum Tamu

कमेन्ट गर्नुहोस्
Share: