
काठमाडौं, पौष २८ । पाकिस्तानको पेशावरस्थित सैन्य विद्यालयमा गत महिना तालिबानले गरेको ‘नरसंहार’पछि बन्द रहेको विद्यालय सोमबारदेखि पुनः सन्चालनमा आएको छ ।

विद्यार्थीहरुले विद्यालयको प्रवेशद्धारमा पुगेपछि मन थाम्न नस्कदा डाँको छाडेर रोएको पाकिस्तानी सन्चारमाध्यमहरुले जनाएका छन् । विद्यार्थीहरुको बिलौना देखेर उनीहरुका अभिभावकहरुसमेत भक्कानिएका थिए ।

नरसंहारमा आफ्नो साथी गुमाएका विद्यार्थीहरुले मारिएका साथीहरु बिना खाली बेन्च देख्दा ‘मुटु टुक्रा परेको जस्तो’ भन्दै मन थाम्न नसकेको बताएका थिए ।
गत डिसेम्बर १६ मा तालिबान बन्दुधकारीले विद्यालयका १ सय ३२ विद्यार्थीसहित १ सय ५० जनाको नृशंस हत्या गरेका थिए । हाल विद्यालयमा सुरक्षाका लागि २० जना सैनिक राखिएको छ भने आसपासको क्षेत्रमा सुरक्षा थप बलियो बनाइएको जनाइएको छ ।
तालिबानले पेशावर आसपासको क्षेत्रमा लामो समयदेखि नै आफ्नो गतिविधि तीव्र पारे पनि विद्यालयमै यस्तो आक्रमण भएको थिएन । उत्तर–पश्चिम पाकिस्तानमा तालिबानविरुद्ध सेनाले गरेको कारबाहीका बदलास्वरुप विद्यालयमा आक्रमण गरेको तालिवानको तर्क थियो ।
पेशावर विद्यालयमा गरिएको तालिवानको आक्रमण पाकिस्तानको इतिहासकै सबैभन्दा क्रुर र हिंस्रक आक्रमण मानिन्छ । (एजेन्सी)
