माघ ३ र ५ गतेको नेपाल बन्द फिर्ता, संयुक्त रुपमा ६ गते बन्द आह्वान, प्रचण्ड, बैद्य र तुलाधरको मोर्चाबन्दी

Share:

काठमाडौं ३० पुस । प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चा, बैद्य माओवादी र पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समितिले मोर्चाबन्दी गरेर संयुक्तरुपमा आन्दोलन गर्ने भएका छन् ।

साथै बैद्य माओवादीले ३ गते र ३० दलले ५ गते आहृवान गरेको नेपाल बन्द फिर्ता लिएका छन् भने संयुक्त रुपमा ६ गते बन्द आह्वान गरेका छन् । एमाओवादी अध्यक्ष प्रचण्ड, नेकपा-माओवादी अध्यक्ष मोहन वैद्य र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका संयोजक पदमरत्न तुलाधरसहितका नेताबीच बुधबार भएको छलफलमा बन्द एकै दिन बनाउने सहमति भएको एक नेताले बताए ।

यसअघि बैद्य माओवादीले माघ ३ गते र ३० दलीय मोर्चाले माघ ५ गते नेपाल बन्द आह्वान गरेका थिए । ३० दलीय मोर्चाको मंगलबार बेलुका बसेको बैठकमा पनि बन्द र हड्तालले जनतामा मर्का परेको र सत्तापक्षले यसमा खेल्न खोजेको विश्लेषण गरिएको थियो ।

प्रचण्ड, वैद्य र तुलाधरको एउटै कमिटी

३० दल, वैद्य माओवादी र आदिवासी आन्दोलन समितिबीच संयुक्त आन्दोलन गर्न सहमति भएको छ । यसका लागि एउटै कमिटी बनाएर अघि बढ्न नेताहरु सहमत भएको माओवादी सचिव देव गुरुङले जानकारी दिए ।

यसअघि आन्दोलनकारी पक्षहरुबीच भएको छलफलमा प्रचण्डले संयुक्त राष्ट्रिय आन्दोलन गर्ने प्रस्ताव गरेका थिए । त्यसका लागि आन्दोलनकारीहरुको एउटै हेडक्वार्टर बनाउने र युवाहरुको प्रतिरोध दस्ता बनाउने प्रचण्डको प्रस्ताव थियो ।

कमेन्ट गर्नुहोस्
Share: