राजापाक्षेमाथि भ्रष्टाचारको उजुरी

Share:

एएफपी कोलम्बो, पुस ३० / श्रीलङ्काका निवर्तमान राष्ट्रपति महिन्दा राजापाक्षेमाथि भ्रष्टाचारको उजुरी परेको छ । उनी गत हप्तामात्र सम्पन्न निर्वाचनमा राष्ट्रपति पदमा पराजित भएका थिए।

उनीमाथि बुधबार भ्रष्टाचारमा मुद्दा दायर गरी उनलाई देश छोड्नबाट रोक लगाउँन भ्रष्टाचारका विरुद्धमा कारबाही गर्ने अड्डालाई आग्रह पनि गरिएको छ। श्रीलङ्काको विपक्षी माक्सिस्ट पार्टीले उनका विरुद्धमा भ्रष्टाचारको मुद्दा लगाई उनी र उनको परिवारले देश छोड्न सक्ने भएकाले त्यस कार्यमा प्रतिबन्ध लगाउन माग गरिएको समाचारमा जनाइएको छ ।

timthumb

पूर्व राष्ट्रपति राजापाक्षे, उनका जेठा छोरा नमल र दुईजना भाइमाथि पनि भ्रष्टाचारको छानबिन गर्न माग गरिएको छ । उक्त विपक्षी पार्टीले पूर्व राष्ट्रपति राजापाक्छेसहित उनको कार्यकालमा महत्वपूर्ण ओहदामा रहेका उनीहरुले भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएका र हालैमात्रको निर्वाचनमा राजापाक्छेले अप्रत्यासित रुपमा सत्ताबाट हट्नुपरेकाले उनीहरु भाग्नसक्ने भन्दै उक्त मुद्दा दायर गरेको बताइएको छ ।

राजापाक्षेमाथि आफ्नो शासनकालमा भ्रष्टाचार गरेको र नाताबादमा बढी फसेको आरोप लाग्दै आएको थियो। सोही कारण पनि हतारहतार विपक्षीले सो मुद्दा दिएको बताइएको छ। सो पार्टीका प्रवक्ताले राजापाक्छेको परिवारले सत्ताको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएकाले उनीहरुलाई पनि कानुनको कठघरामा ल्याउनुपर्ने भन्दै सो उजुरी दिएको बताएका छन् ।

राष्ट्रपति राजापाक्षेले देशमा सर्वसत्तावाद चलाएको र शासनमा आफन्तको भीड बढाएको आरोप लगाउने गरिन्छ तर उनको शासनको कार्यशैलीको आलोचना खुलेरै गर्न सक्ने अवस्था भने देशमा नरहेको पनि विपक्षीले विगतमा यस्तो मुद्दा उठाउन नसकेको उनको भनाइ छ ।

पछिल्लो कार्यकालमा वर्तमान राष्ट्रपति राजापाक्षे विपक्षीहरूप्रति बढी कठोर बनेको र देश एकल हिसाबले चलाएको भन्दै उनको बढी आलोचना गर्ने गरिएको थियो । उनी सत्ताबाट हट्नासाथै उनमाथि यो आरोप लगाइएकाले यसलाई अर्थपूर्ण रुपमा लिइएको छ । किन यति हतार गरी उनमाथि यो मुद्दा लगाइयो भन्नेबारेमा विश्लेषण सुरु भएको बताइन्छ ।

उनीमाथि केही दिनअघि मात्र पनि आफूले निर्वाचन हारेपछि सैनिक कू गर्न खोजेको आरोप लागेको थियो तर उनले आफू सधैँ जनताको मतको अगाडि झुक्ने भन्दै निर्वाचनमा जनताले आफ्नो विकल्प खोजेपछि आफूले अरु केही नसोची सरकारबाट हटेको दाबी गरेका छन्।

राजापाक्छे सन् २००५ देखि श्रीलङ्कामा सत्तामा रहिआएका थिए। उनी शासनका क्रममा नातावादमा बढी फसेको भनी आलोचना हुने गरेको थियो । नवनियुक्त राष्ट्रपति मैत्रीपाला सिरीसेनाको प्रशासनले राजापाक्छेले आफूले निर्वाचन हारेपछि सैनिक कू गर्न सैनिक प्रमुखलाई भनेको तर सैनिक प्रमुखले नमानेपछि उनी बाध्य भएर सरकारी निवासबाट बाहिरिएको बताएको थियो ।

तर यस भनाइको उनले भने कडा प्रतिवाद गरेका थिए। उनले आफूले त्यस्तो गर्न नखोजेको प्रतिक्रिया हिजोमात्र दिएका थिए। एकपछि अर्काेगरी उनीमाथि विपक्षीले लगाएको यस आरोपका बारेमा श्रीलङ्कामा व्यापकमात्रामा चर्चा सुरु भएको प्राप्त समाचारमा जनाइएको छ।

कमेन्ट गर्नुहोस्
Share: