आज माघे सक्रान्ति पर्व

Share:

पोखरा, माघ १-
आज माघे सङ्क्रान्ति पर्व देशभरका विभिन्न नदी, दोभान तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठ गरेर मनाईंदैछ । माघे सक्रान्तिको अवसरमा पोखरा र आसपास पनि आज विभिन्न कार्यक्रम हुँदैछन् ।
पोखराको सिमलचौरमा हिजैदेखि दोश्रो सिमलचौर माघे सक्रान्ति मेला शुरु भएको छ भने ढुङ्गेसाँघुमा आज मूल आयोजक समितिले बिशेष कार्यक्रम गर्दैछ । दुवै मेलामा आज दिनभरी नै विभिन्न साँस्कृतिक कार्यक्रमका साथै प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरिएको छ ।
यसैगरी, तनहुँको प्रसिद्ध देवघाट, बराहक्षेत्र, पाल्पा, स्याङ्जा र गुल्मीको संगमस्थल रिडी, पनौती, दोलालघाट, कन्काई, भारतका प्रयाग र गङ्गासागरलगायतका नदी तथा त्रिवेणीमा मकर स्नान, दान, श्राद्धलगायतका कार्य गर्नेहरूको ठूलो भीड लाग्छ ।
आजको दिन घिउ–चाकु, तिलको लड्डु र तरुल खाई खाने चलन छ । आयुर्वेद र आधुनिक चिकित्साशास्त्रमा पनि यो दिन खाइने परम्परागत खाद्य पदार्थले हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेट र क्याल्सियमलगायत पौष्टिक तत्व प्राप्त हुने र तिनले सम्भावित रोगसँग लड्ने क्षमता प्रदान गर्ने उल्लेख गरिएको छ ।
ज्योतिष शास्त्रअनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यस पर्वलाई ‘मकर सङ्क्रान्ति’ पनि भन्ने गरिन्छ । आजदेखि दिन लामो हुने र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।
यसैबीच, थारू समुदायले आजकै दिनलाई ‘माघी’ पर्वका रूपमा मनाउँदैछन् । आजका दिन यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने चलन छ ।

कमेन्ट गर्नुहोस्
Share: