
भैरहवा, माघ १-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण औपचारिक काम बिहिबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री सुशील कोइरालाले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्ने कार्यक्रम छ । शिलान्यासपछि औपचारिक रूपमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु हुने र आउँदो तीन वर्ष अर्थात् डिसेम्बर २०१७ मा निर्माण सम्पन्न हुने गौतमबुद्ध विमानस्थल स्तरोन्नति आयोजना (जिबिए) का प्रमुख मुरारी भण्डारीले जानकारी दिए ।
उनका अनुसार प्रथम चरणमा विमानस्थलको तीन हजार मिटरको रनवे, ट्याक्सी वे, अन्तर्राष्ट्रिय टमिर्नल भवन, टावर, प्रशासकीय भवन, आन्तरिक तथा बाह्य पेरिफेरि सडक, एअरकार्गो भवन, सुरक्षा पोस्ट भवन, विमानस्थल सडक, घाघरा नदी डाइभर्सन लगायतका भौतिक निर्माणका काम हुनेछन् । चीनको नर्थवेस्ट सिभिल एभिएसन कर्पोरेसन समूहले सबैभन्दा कम मूल्यमा विमानस्थल निर्माण गर्ने प्रस्ताव हालेको आधारमा विमानस्थलको निर्माण गर्ने जिम्मा पाएको हो ।
