
रञ्जन अधिकारी पोखरा, १ माघ / पोखरा ८ सिमलचौरमा बुधबारदेखि आयोजित दोस्रो सिमलचौर माघे संक्रान्ति महोत्सव विहिबार सकिदैंछ माघे संक्रान्तिको अवसरमा जाल्पादेवी टोल सुधार समितिले आयोजना गरेको महोत्सवको बुधबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले एक कार्यक्रमका उद्घाटन गरेका थिए ।
अध्यक्ष थापाले मेलाले आर्थिक गतिविधि बढाउने र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राख्दै पुरानो व्यापारिक क्षेत्र भएर पनि अहिले ओझेलमा परेको यस क्षेत्रमा पुरानो बजारलाई मूलधारमा ल्याउन सघाउ पुर्याउने विश्वास लिए । स्थानीय युवाकै जागकताले यस क्षेत्र अघि बढ्न सक्छ । पोखरा उद्योग वाणिज्य संघ आवश्यक सहयोग गर्न तयार छ । उनले भने मेला महोत्सवले निरन्तरता पाउनुपर्छ ।
संविधान जारी गर्ने भनिएको मिति नजिकिरहेको सन्दर्भमा विभिन्न पक्षले बन्द हडताल कार्यक्रम आयोजना गर्दा नागरिकको दैनिक जीवनयापन र उद्योग व्यवसायमा प्रतिकुल असर परेको भन्दै उनले पोखरालाई बन्दमुक्त क्षेत्र बनाउनुपर्नेमा जोड पनि दिए । बजारमा देखिएको ग्याँस अभावलाई बन्दहडताल कार्यक्रमले झनै बढाएको स्पष्ट पार्दै उनले सरकारले सुरक्षाको व्यवस्था र क्षतिपूर्तिको व्यवस्था गर्छ भने उद्योगी व्यवसायी बन्दको प्रतिकार गर्न तयार रहेको जनाए ।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले परम्परागत पर्व महासंक्रान्तिको अवसर पारेर युवाहरुको सक्रियतामा समग्र टोलको हितका लागि यस्ता महोत्सव आयोजना हुनु सराहनीय रहेको बताए ।
जनप्रिय बहुमुखी क्याम्पसका प्रमुख विरञ्जी गौतमले क्याम्पस स्थापना तथा विकासका लागि सिमलचौरबासीको ठूलो सहयोग रहेको जनाउँदै सांस्कृतिक सम्पदा रहेको सिमलचौर क्षेत्रमा मेलामहोत्सवले निरन्तरता पाउनुपर्ने धारणा राखे ।
नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले द्वन्द्वकाको परिवेशमा सांस्कृतिक महोत्सव भएको स्मरण गर्दै आफ्ना टोलको जगेर्ना गर्न यस्ता महोत्सव हुन आवश्यक रहेकाले हरके टोलबासी जागरुक हुन आवश्यक रहेको खाँचो औंल्याए ।
पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले धेरै व्यवसायीको कर्मथलो सिमलचौरलाई बनाउँदै आएको जनाउँदै पूरानो संस्कृति जगेर्ना गर्ने महोत्सवको रुपमा चिनिएको सिमलचौर महोत्सवलाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सहआयोजक एवं संघसंस्थाहरुका तर्फबाट सिर्जना विकास केन्द्रका अध्यक्ष राजु पौडेलले पोखराको पुरानो बस्ती सिमलचौरको पहिचान तथा स्थानीय बजार प्रवद्र्धनमा महोत्सवले ठूलो भूमिका खेल्ने बताए ।
महोत्सव कार्यसम्पादन समितिका निर्देशक वीरेन्द्रमान बिजुक्छेले सुन्दर पोखरालाई यस्ता मेलामहोत्सवले अझै सुन्दरता थपेको जनाउँदै ६० वर्ष पहिलेको व्यापारिक केन्द्र सिमलचौलाई युवाहरुकै सक्रियतामा अहिले आएर महोत्सवमार्फत प्रचारप्रसार गर्ने अवसर मिल्नु खुशीको कुरा भएको बताए ।
समितिका सचिव देवराज गिरीले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष एवं प्रचारप्रसार समितिका संयोजक कृष्ण थापाले गरेका थिए भने भने धन्यवाद ज्ञापन संस्थापक अध्यक्ष गणेशबहादुर अधिकारीले गरेका थिए । कार्यक्रममा महोत्सवका मुख्य प्रायोजक तालबाराही रियल स्टेट एण्ड हाउजिङ, चन्दन बोरिङ एण्ड कन्सट्रक्सन प्रालिका साथै प्रायोजक सहयोगीलाई मायाको चिनो प्रदान गरिएको थियो । महोत्सव शुभारम्भ अघि पोखरा नयाँबजारस्थित गुरुकुल संगीत प्रशिक्षण केन्द्रका प्राचार्य तीर्थराज पोखरेल सहितको टोलीले शास्त्रीय संगीत प्रस्तुत गरेका थिए ।
सिमलचौर पोखराको पुरानो व्यापारिक केन्द्र भएकोले यस क्षेत्रको प्रवद्र्धनको लागि पनि महोत्सवको आयोजना आवश्यक भएको महोत्सव मुल आयोजक समितिका संयोजक एवं समितिका अध्यक्ष कृष्णमान ठुसाजुले जनाए । कार्यक्रमको अध्यक्षता समेत गरेका ठुसाजुले पुरानो बस्तीको परिचय बोकेको सिमलचौरमा सिमलै सिमलका रुख र ठूला चौरहरु रहेकाले सिमलचौर नामाकण भएको, इतिहासमा ढुंगैढुंगाले बनेको बाटाबोट मुक्तिनाथ क्षेत्रको पदमार्गलाई यसले स्वागत गरेको, पोखराको पहिलो पिचबाटो यसै क्षेत्र भएर गएको, सतीदेवीको अंग पतन भएको ठाउँ जाल्पामन्दिरका रुपमा रहेको, शताब्दी पुरानो बालधाराका साथै गणेशमन्दिर, भिमसेन स्थान मन्दिर र भैरव मन्दिरले सुसज्जित भएको बताए ।
आलुमाइला चोकदेखि सृजनाचोकसम्मको सडक क्षेत्रमा आयोजित महोत्सवले सिमलचौर क्षेत्रमा रहेका सामाजिक, धार्मिक एंव साँस्कृतिक महत्वका विषयहरुलाई प्रचारप्रसारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । महोत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु र स्थानिय कलाकारहरुको लोक, दोहोरी, पप व्याण्डको प्रस्तुति, हाँस्यव्यङ्ग्य, नृत्यहरु महोत्सवको आकर्षण रहने साँस्कृतिक कार्यक्रम संयोजक दिपक तिमिल्सिनाले बताए । महोत्सवमा हाँस्यतर्फ धुर्मुस र सुन्तलीको वेजोड प्रस्तुति रहने छ भने प्रजापति पराजुली, चोलेन्द्र पौडेल, पार्वती जिसी, कृष्ण गुरुङ, रामजी पौडेल लगायतकोे साँस्कृतिक प्रस्तुति रहेको छ ।
धार्मिक महत्व बाकेको नेपालमै परिचित तथा स्थापित जाल्पादेवी मन्दिरको दर्शन तथा श्री स्वस्थानी कथा श्रवणसहित सिमलचौरमा अवस्थित गणेश, शिव, भीमसेन स्थान, भैरव मन्दिरको दर्शन, अवलोकन सहित माघे संक्रान्ति खानाका परिकार, विभिन्न खाना तथा परिकारको प्रस्तुति, लाखे तथा विभिन्न जातजातिहरुको साँस्कृतिक प्रस्तुतिहरु सहित संस्थागत स्टलहरु समेत रहने प्रचारप्रसार संयोजक कृष्ण थापा बताए । महोत्सवमा ५० भन्दा बढी खाना तथा विविध प्रकारका सामाग्रीहरुको स्टल राखिएको स्टल व्यवस्थापन संयोजक मिनप्रसाद भट्टराईले जनाए । अर्थ संकलन संयोजक विश्वकुमार विजुक्छेका अनुसार महोत्सवमा ६ लाख २० हजार खर्च लाग्ने र ८ लाख आम्दानी हुने अनुमान गरएको छ ।
