
नवराज ढुङ्गाना/
पोखरा, २ माघ-
आज १७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस, पोखरा र आसपासमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईंदै छ ।
दिवसको अवसरमा पोखरा उप–महानगरपालिका र शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय पोखराको संयोजनमा आज पोखरामा औपचारिक कार्यक्रम आयोजना गरिएको छ । पोखरा सभागृहमा हुने कार्यक्रममा भूकम्पीय क्षतिलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफल हुने पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले जानकारी दिए ।
भू–कम्पको खतराका दृष्टिले पोखरा पनि उच्च जोखिममा रहेकाले सबै नगरवासीलाई भूकम्प प्रतिरोधात्मक संरचना निर्माणदेखि लिएर अन्य बिषयमा समेत सचेत रहन उनले आग्रह गरेका छन् ।
पोखरासहित देशका प्रमुख शहरहरुमा घर लगायतका भौतिक संरचना भुकम्प प्रतिरोधी बनाउनु पर्ने नियम भए पनि जथाभावि बन्ने गरेका छन् । तर पनि कडाइका साथ अनुगमन नहुँदा यसको जोखिम बढिरहेको विज्ञहरुको भनाई छ ।
वि.सं. १९९० साल माघ २ गते गएको भुकम्पमा दिवंगत भएकाहरुको सम्झना तथा भुकम्पको क्षतिबाट बँच्ने उपायबारे जानकारी गराउने उद्देश्यले २०५५ सालदेखि प्रत्येक बर्ष सरकारले भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।
नेपालको इतिहासमा १९९० सालको भूकम्प नै सबैभन्दा ठूलो हो । भूकम्पमा परी ८ हजार ७ सय मान्छेले ज्यान गुमाएका थिए भने ८० हजार भन्दा धेरै घर तथा अन्य संरचना भत्केका थिए ।
