‘चार्ली हेब्डो’ले इस्लामको निन्दा गरेको भन्दै नाइजरमा हिंसात्मक प्रदर्शन, ३ जनाको मृत्यु

Share:

काठमाडौं, माघ ४ । फ्रान्सेली पत्रिका ‘चार्ली हेब्डो’ले पैगम्बर मोहम्मदको कार्टुन छापेको विरोधमा अफ्रिकीमुलुक नाइजरको राजधानी नियामेमा भड्किएको पछिल्लो हिंसामा तीनजनाको मृत्यु भएको छ ।

राजधानी नियामेसहित अन्य सहरमा झन्डै आधा दर्जन चर्चमा मुस्लिम समुदायका प्रदर्शनकारीहरुले आगजनी गर्दा उनीहरुको ज्यान गएको हो । प्रदर्शनकारीले राजधानी नियामेमा मात्रै ६ ओटा चर्च, केही रेस्टुरेन्ट तथा फ्रान्सेली लगानीका व्यवसायिक प्रतिष्ठानलाई निशाना बनाएका थिए ।

यसअघि नाइजरको दोस्रो ठूलो सहरमा शुक्रबार भएको प्रदर्शनका क्रममा ५ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । राजधानी नियामेको एउटा मस्जिद बाहिर प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनले झन् उग्र रुप लिएको हो ।

गत हप्ता फ्रान्सेली पत्रिका ‘चार्ली हेब्डो’को कार्यालयमा दुई बन्धकधारीले आक्रमण गर्दा ८ पत्रकारसहित १२ जना मारिएका थिए भने अन्य आक्रमणमा ५ व्यक्तिले ज्यान गुमाएका थिए ।

यसको विरोधस्वरुप ‘चार्ली हेब्डो’ पत्रिकाले यो हप्ताको अंकमा प्रोफेट मुहम्मदको कार्टुनलाई कभरपृष्ठमा छापेको थियो । इतिहासमै सर्वाधिक अंक बिक्री भएको उक्त अंकको विरोधमा पाकिस्तान, नाइजरलगायतका केही राष्ट्रमा प्रदर्शन भइरहेका छन् ।

फ्रान्सको पूर्वउपनिवेश रहेको नाइजरमा मस्लिम बाहुल्यता रहेको छ भने त्यहाँका अधिकांश ठूला परियोजनाहरु फ्रान्सेली लगानीमा सन्चालन भईरहेका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्
Share: