वर्ल्ड क्रिकेट लिगमा वसन्तको कीर्तिमान

Share:

माघ ५ काठमाडौं / सन् २००८ मा नेपालका मिडियम तेजबलर महबुब आलमले जर्सीमा भएको आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन पाँचमा मोजाम्बिकविरुद्व एउटै पालीमा १० विकेट लिएर विश्व कीर्तिमान कायम गर्दा नेपाली टोलीमा रहेका स्पिनर वसन्त रेग्मी २२ वर्षका थिए।

basanta
आईसीसीद्वारा सञ्चालित डिभिजन ढाँचाको प्रतियोगितामा नेपालको यो नै पहिलो सहभागिता थियो।

त्यसको दुई वर्षअघिमात्र सिनियर टोलीमा ‘डेब्यु’ गरेका वसन्त आफ्नो उत्कृष्ट बलिङ क्षमताका कारण पछिल्लो समय नेपाली क्रिकेटमा प्रशंसाको पात्र बन्दै आएका छन्। यसै क्रममा आइतबारमात्र उनी वर्ल्ड क्रिकेट लिगमा कीर्तिमान बनाउन सफल भएका छन्।

उमेर र अनुभवका हिसाबले टोलीमा रहेका खेलाडीमध्ये दोस्रो स्थानमा पर्ने वसन्तले वर्ल्ड क्रिकेट लिगमा एक सय विकेट पूरा गरेर कीर्तिमान बनाएका हुन्। यस्तो सफलता हात पार्ने उनी विश्वकै पहिलो बलर हुन्।

नामिबियामा जारी वल्र्ड क्रिकेट लिग डिभिजन दुईमा आइतबार नेदरल्यान्ड्सविरुद्व दुई विकेट लिएर उनले व्यक्तिगत एक सय विकेटको कोसेढुंगा पूरा गरेका हुन्। वसन्तले एक सयौं विकेटका रूपमा नेदरल्यान्ड्सका प्रारम्भिक ब्याट्सम्यान स्टेफान माइबर्घलाई बोल्ड गरे।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले आफ्ना एसोसिएट तथा एफिलिएट सदस्यलाई एकदिवसीय विश्वकपमा सहभागिता गराउन र माथिल्लो स्तरको क्रिकेट खेलाउन (एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता) सन् २००७ देखि यस्तो प्रतियोगिता सञ्चालन गर्न थालेको हो।

त्यसअघि विश्वकपमा सहभागी गराउन र एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिन आईसीसीले आईसीसी ट्रफी सञ्चालन गर्थ्योम।

सन् २००७ को विश्वकपका लागि भएको छनोटमा भएको प्रदर्शनलाई आधार बनाएर आईसीसीले आफ्ना एसोसिएट र एफिलिएट सदस्यलाई विभिन्न डिभिजनमा राखेको थियो जसअनुसार नेपाल डिभिजन पाँचमा परेको थियो।

डिभिजन पाँचबाट डिभिजन दुईसम्म आइपुग्दा नेपालले खेलेका हरेक प्रतियोगितामा स्पिनर वसन्तले सहभागिता जनाउँदै आएका छन्। सन् २००८ मा भएको डिभिजन पाँचमा उनले आठ खेलमा १४ विकेट लिएका थिए।

उनले एउटै खेलमा केवल आठ रन खर्चेर पाँच विकेट पनि हात पारेका थिए। उक्त प्रतियोगितामा नेपालकै मेहबुब आलम सर्वाधिक विकेट (१९ विकेट) लिने खेलाडी बनेका थिए।

यसैगरी सन् २०१० मा नेपालमै भएको डिभिजन पाँचमा वसन्तले ६ खेलमा १२ विकेट लिएका थिए। त्यतिबेला उनले दुई खेलमा चार/चार विकेट हात पारेका थिए। सन् २०१० मै भएको डिभिजन चारमा वसन्त ६ खेलमा १४ विकेट लिएर सर्वाधिक विकेटकर्ता बनेका थिए।

सन् २०१२ मा भएको डिभिजन चारमा पनि वसन्त ६ खेलमा २१ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए। त्यतिबेला उनी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी पनि घोषित भएका थिए।

उक्त प्रतियोगिताको दुई खेलमा उनले पाँच/पाँच विकेट हात पारेका थिए। वसन्तले सन् २०१३ मा भएको डिभिजन तीनमा ६ खेल खेलेर १२ विकेट लिएका थिए।

सन् २०१४ मा भएको विश्वकपको विश्वस्तरको छनोटमा पनि वसन्तले ६ खेल खेलेर नौ विकेट लिएका थिए।

सोही वर्ष भएको डिभिजन तीनमा उनले सात खेल खेलेर १४ विकेट लिए। त्यतिबेला उनी प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए।

वसन्तले ४७ खेलमा एक सय विकेटको कोसेढुंगा पार गरेका हुन्। प्रतिखेल उनको बलिङ रन औसत ११.०६ रहेको छ।

भैरहवाका २९ वर्षीय वसन्त सन् २००० मा यू-१७ एसिया कपमार्फत राष्ट्रिय टोलीमा प्रवेश गरे पनि सिनियर टोलीमा आउन भने लामो समय कुर्नु परेको थियो।

कमेन्ट गर्नुहोस्
Share: