
पोखरा, ५ माघ। २८५१ औ सोनाम ल्होसारको अवसरमा पोखरामा माघ ७ गते गर्न लागिएको दोस्रो ल्होसार म्युजिक फेष्टिबलको प्रचारगर्दै पोखरामा सोमबार मोटरसाइकल ¥याली निकालिएको छ।
पोखरा लेकसाइड स्थित डिहिकोपाटनबाट शुरु भएको ¥याली लेकसाइड, छोरेपाटन, पृथ्वीचोक, महेन्द्रपुल, बगर, रानीपौवा, अमरसिंहचोक, सृजनाचोक परिक्रमापछि पुन डिहिकोपाटनमा पुगेर सभामा परिणत भएको थियो।
सभामा बोल्दै फेष्टिबल आयोजक बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङले फेष्टिबलमा सहभागिता जनाउन सवैलाई आव्हान गरे। उनले फेष्टिबलको तयारी अन्तिम चरणमा पुगेको जानकारी पनि दिए।
बैदाम तामाङ समाजले ल्होसार संस्कृतिको संरक्षण एवं पोखरा –६ लेकसाइडस्थित निर्माणाधिन तामाङ शान्ति गुम्वाका लागि अर्थ संकलन गर्ने उदेश्यले म्युजिक फेष्टिबल आयोजना गर्न लागेको हो।
सो गुम्वा निर्माणका लागि झण्डै डेढ करोड रुपैया खर्च लाग्ने बताइएको छ। फेष्टिबल पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने छ।
मध्यान्ह १२ देखि साँझ ७ बजेसम्म संचालन हुने फेष्टिबलमा कलाकारहरु निमा रुम्बा, सितल मोक्तान, रोज मोक्तान, तिष्णा गुरुङ सहित जी नाइन र अलजाइमर व्याण्डको प्रस्तुती रहने छ।
कलाकारहरु मङ्गलबार साझसम्ममा पोखरा आइपुग्ने छन्। त्यसैगरी, ल्होसार सम्बन्धि सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने बताइएको छ।
फेष्टिबल शुरु हुनुपुर्व भने शान्तिको कामनागर्दै पुजा अर्चना गर्ने कार्यक्रम तय गरिएको छ। यसअघि समाजले पहिलो पटक गतवर्ष पनि म्युजिक फेष्टिबल आयोजना गरेको थियो।
यसपटकको फेष्टिबलबाट १० लाख रुपैया बचत गर्ने लक्ष्य लिइएको छ। फेष्टिबल सम्पन्न गर्न झण्डै १० लाख खर्च लाग्ने र १० हजार दर्शकको सहभागिता रहने अनुमान गरिएको छ।
