
पोखरा, ६ माघ। बैदाम तामाङ समाजले २८५१ औ सोनाम ल्होसारको अवसरमा पोखरामा माघ ७ गते बुधबार गर्न लागेको दोस्रो ल्होसार म्युजिक फेष्टिबलको तयारी पूरा भएको छ।
फेष्टिबलको प्रचार प्रसार, मञ्च तथा कलाकार व्यवस्थापन लगायतका सम्पूर्ण तयारी पुरा भएको छ।
फेष्टिबल पोखरा नयाबजारस्थित प्रदर्शनी केन्द्रमा मध्यान्ह १२ देखि साझ सात बजेसम्म संचालन हुने छ। फेष्टिबल शुरु हुनुपुर्व शान्तिको कामनागर्दै पुजा अर्चना गर्ने कार्यक्रम तय गरिएको छ। पुजा अर्चना कार्यक्रममा पनि सहभागिताका लागि सवैलाई आग्रह गरिएको छ।
पुजा अर्चनाका लागि फेष्टिबलस्थलमा नै गुम्बा निर्माण गरिएको छ। फेष्टिबलस्थलमा बनाइएको गुम्बाले छुट्टै रौनक थपेको छ। फेष्टिबलस्थललाई पनि झकिझकाउ पारिएको छ।
फेष्टिबलका लागि कलाकार निमा रुम्बा र रोज मोत्तान पोखरा आइसकेका छन्। त्यसैगरी कलाकार सितल मोक्तान र तिष्णा गुरुङ बुधबार विहान पोखरा आइपुग्ने छन्। फेष्टिबलमा जी नाइन र अलजाइमर व्याण्डको समेत प्रस्तुती रहने भने ल्होसार सम्बन्धि सांस्कृतिक कार्यक्रमले दर्शकलाई मनोरञ्जन दिने छ।
ल्होसार संस्कृतिको संरक्षण एवं पोखरा –६ लेकसाइडस्थित निर्माणाधिन तामाङ शान्ति गुम्वाका लागि अर्थ संकलन गर्ने उदेश्यले म्युजिक फेष्टिबल आयोजना गर्न लागिएको हो। सो गुम्वा निर्माणका लागि झण्डै डेढ करोड रुपैया खर्च लाग्ने बताइएको छ।
गुम्बा निर्माणको उदेश्यले फेष्टिबल आयोजना गर्न लागेका हौ बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङले भने – फेष्टिबलले गुम्बा निर्माणका लागि अर्थ संकलन गर्ने र दर्शकलाई भरपुर मनोरञ्जन समेत प्रदान गर्ने छ। यसअघि समाजले पहिलो पटक गतवर्ष पनि म्युजिक फेष्टिबल आयोजना गरेको थियो।
यसपटकको फेष्टिबलबाट १० लाख रुपैया बचत गर्ने लक्ष्य लिइएको छ। फेष्टिबल सम्पन्न गर्न झण्डै १० लाख खर्च लाग्ने र १० हजार दर्शकको सहभागिता रहने अनुमान गरिएको छ।

