नामिवियाविरुद्ध शानदार जीत निकाल्दै नेपालद्वारा डिभिजन २ सुरक्षित

Share:

काठमाडौं, माघ ७ / आइसिसी विश्व क्रिकेट लिग दुई अन्तर्गत नेपालले आयोजक नामवियाविरुद्ध शानदार जीत हासिल गरेको छ। कप्तान पारस खड्काको आक्रामक व्याटिङको मदतमा प्रतियोगितामा लगातार तेश्रो खेल जित्ने क्रममा नेपालले घरेलु टोली नामिबियालाई ३ विकेटले हरायो । नेपालले डिभिजन २ मा आफ्नो स्थान सुरक्षित पारेको छ। यो जितसँगै डिभिजन वानमा बढुवा हुने र इन्टरकन्टिनेन्टल कप पनि खेल्न पाउने नेपालको संभावना बलियो भएको छ । यो जितपछि नेपाल र नामिबियाको समान ४ खेलबाट ६ अंक छ । तर नेपाल रनरेटका आधारमा दोश्रो स्थानमा छ ।

नामिवियाले दिएको १४३ रनको लक्ष्य पछ्‌याएको नेपालले ३७।५ ओभरमा १४६ रन बनाउँदै विजय हात पार्‍यो। ओपनर द्वय सुवाष खकुरेल, सागर पुन सस्तैमा आउट भएपछि धर्मराएको नेपालको इनिङ कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हालेका थिए। कप्तान पारसले सर्वाधिक ६६ रनको योगदान दिए। उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन बनाए। विनोद भण्डारीले ३२ बल सामना गर्दै १८ रन बनाएर आउट भए भने शरद भेषवाकर ७ रनमा पेभेलियन फर्किए।

यसअघि टस हारेपछि पहिलो ब्याटिङ गरेको नामिबियालाई नेपालले खेल सकिन ५ बल अघि नै १ सय ४२ रनमा अलआउट गर्‍यो । नामिबियालाई सस्तैमा सिमित गर्न नेपालका करन केसीले ३ विकेट लिए । ६ दशमलव १ ओभर बलिङ गरेका उनले १२ रन दिए ।

यस्तै सोमपाल कामी, बसन्त रेग्मी र शक्ति गौचनले समान २ विकेट लिए । शक्तिले १० ओभरमा २२ तथा बसन्तले ८ ओभरमा २३ रन दिए । कप्तान पारस खड्काले कुनै विकेट लिन नसकेपछि १० ओभरमा मात्र १९ रन दिए ।

नेपालले अब शुक्रबार केन्यासँग खेल्ने छ । यसअघि पहिलो खेल नेपाल कमजोर मानिएको युगान्डासँग २ रनले पराजित भएको थियो भने दोस्रो खेलमा चार पटक विश्वकप खेलेको नेदरल्याण्ड्सलाई २ विकेट र सशक्त क्यानडालाई ७ विकेटले पराजित गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: