
माघ ८ गते-
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति एवं एमाओवादी नेता डा. बाबुराम भट्टराईले प्रतिबद्धता अनुसार संविधान दिन नसकेकोमा आफ्नो हिस्साको जिम्मेवारी लिंदै माफी मागेका छन् ।
उनले अरु दल र नेतालाई पनि सामुहिक आत्मालोचना गर्न आग्रह गरेका छन् । भट्टराईले आफ्नो फेसबुक पेजमा जनतासंग गरिएको प्रतिबद्धता र भीष्मप्रतिज्ञा अनुरुप १ बर्षभित्र नयाँ अग्रगामी संविधान देशलाई दिन नसकेकोमा आफ्नो हिस्साको जिम्मेवारी लिंदै सम्पूर्ण मतदाता र जनसमुदाय समक्ष अन्तर्हृदयैदेखि नै क्षमायाचना गरेको उल्लेख गरेका छन् ।
संविधानका मुख्य अन्तर्वस्तुमा सहमतिको त्यति नजिक पुगेर पनि तिनलाई समयमा टुंग्याउन नसक्नु दुःखद रहेको उनको भनाई छ । तर सहमतिको सम्भावना अझै छ र सहमतिबाट बन्ने संविधानले मात्रै देशमा दिगो शान्ति सुनिश्चित गर्न सक्ने सम्भावना पनि भट्टराईले औंल्याएका छन् ।
आजको दिनमा संविधान दिन नसके पनि संविधानसभाका अध्यक्षको पहलमा सर्वदलीय बैठक बसेर सबैले सामुहिक आत्मालोचना गर्न र निश्चित मितिमा सहमतिबाटै अग्रगामी संविधान दिने प्रतिबद्धता गरेर सकारात्मक काम गर्न सकिने उनले बताएका छन् ।
