नेपथ्यबाट पर्दा अगाडिसम्म भुपालको यात्रा

Share:

रेम बिक / पोखरा, ९ माघ | अक्सर उनी क्यामेरा अगाडि आउँदैनन् । क्यामेराको पछाडि रहेर विभिन्न आकृति र व्यक्तिहरुलाई कसरी राम्रो फ्रेम लगाउने भन्ने उनको काम हो । विगत चार वर्षदेखि पोखरामा ग्लामर साईट ‘जक्शन डटकम’ संचालन गर्दै आएका भुपालकुमार गुरुङको परिचय अहिले आएर एकाएक परिवर्तन भएको छ । फिल्मको अभिनेताको रुपमा उनले आफ्नो परिचयलाई विस्तार गरेका छन् ।

Bhupal final

खासमा फिल्ममा अभिनय गर्नु उनको लक्ष्य थिएन । स्टिल फोटोग्राफि नै उनको सानैदेखिको सोख हो । जुन अहिले आएर पेशा बनेको छ । लजालु स्वभावका भुपाललाई फिल्म खेल्छु जस्तो पनि लागेको थिएन । तर निर्देशक केश गुरुङले अकस्मात फिल्म खेल्ने हो ? भनेर सोधेपछि उनलाई पनि क्यामेरा अगाडि आउने रहर जाग्यो । भन्छन्–‘कुरा भैरहँदा रहरै रहरले फिल्म खेल्न मलाई उत्प्रेरित ग¥यो ।’

उनले तीनवटा फिल्ममाम मुख्य अभिनेताकै रुपमा अभिनय गरिसकेका छन् । ‘यम्फावती’ र ‘बलेनी’ उनले खेलेका अन्य दुई फिल्म हुन् । यी दुवै फिल्मका निर्देशक कृष्णकुमार गुरुङ हुन् । फिल्मको बारेमा सोँच्दै नसोँचेका भुपाल जब पहिलो फिल्म खेले त्यसपछि अलिक दिन त चुप नै थिए । तर निर्देशक कृष्णकुमार गुरुङले ऐतिहासिक फिल्म ‘यम्फावती’को स्क्रिप्ट लिएर उनीकहाँ आईपुगे, उनलाई त्यसको स्टोरीलाईनले नै तान्यो । भुपाल भन्छन्–‘दोस्रो फिल्मचाँहि स्टोरिलाईन अत्याधिक मन परेकै कारणले ओके गरेको हुँ ।’ भुपाल यो फिल्ममा भेडा गोठालेको रुपमा देखिएका छन् । पौराणिक पात्र ‘यम्फावती’को रुपमा यो फिल्ममा भलिबल खेलाडि सिपोरा गुरुङ देखिएकी छन् । तेस्रो फिल्म ‘बलेनी’मा भने उनलाई अघिल्लो फिल्ममा राम्रो काम गरेको आधारमा निर्देशक कृष्णकुमार गुरुङले आफै एप्रोच गरेका थिए ।

भुपालको फोटोग्राफि करिअर खासगरि पोखरासिटी डटकमबाट शुरु भएको हो । पोखरासिटी डटकमका संचालक राम गुरुङले उनलाई त्यहाँ ब्रेक दिएका थिए । सात वर्षयता उनै राम गुरुङको गुरु थापेर उनले फोटो खिच्दै आएका छन् । तीन वर्षसम्म उनले त्यही साईटमा फोटो पत्रकारिता गरे । ‘पछि आफैँलाई केहि गरौँ भन्ने लाग्यो त्यहि भएर जक्शन डटकमको शुरुवात गरेँ ।’ भुपाल पुराना दिन सम्झिन्छन्–‘अहिले यसले राम्रै गति लिईरहेको छ, दुख गरेको प्रतिफल पाएँ जस्तो लाईरा’छ ।’

ग्लामर फोटोग्राफिमा विशेष रुची राख्ने भुपालले हालसम्म १ सय भन्दा बढि मोडलहरुको फोटोशुट गरिसकेका छन् । न्यूड फोटोशुट गर्ने पोखराकै पहिलो फोटोग्राफर पनि उनै हुन् । ग्लामर फोटोग्राफि बाहेक ‘प्राकृतिक सुन्दरता’को फोटोग्राफि गर्नु पनि उनको सोख हो । भिडियोग्राफिमा उनको खासै रुची भने छैन । तर उनले आफ्नै सिनेम्याटोग्राफि र निर्देशनमा ‘घाटु’ नामक एउटा साँस्कृतिक डकुमेन्ट्री भने बनाएका छन् ।

लाहुरे परिवारमा जन्मे हुर्केका भुपाल सानैदेखि प्रकृतिसँग खुब रम्थे । प्रकृतिमा देखिएका राम्रा कुरालाई कैद गरेर राख्ने ईच्छा उनको बाल्यकालदेखिको नै हो । बुवा भारतीय आर्मी र दाई ब्रिटिश आर्मीमा भएकोले उनले सानैमा आफ्नो दाई र बुवासँग ‘रिलवाला क्यामेरा’को माग गरेका थिए । उनले त्यो पाए पनि । ‘रिलवाला क्यामेरा लिएर कति फोटो खिँचे, खिँचे, त्यहि बाल्यकालको रहरले अहिले मलाई क्यामेराम्यान बनाईदियो ।’

अभिनयको यात्रामा अगाडि बढिरहँदा भुपाल अब केहि चुजी हुने मुडमा देखिए । ‘मेरो लक्ष्य भनेको उत्कृष्ट फोटोग्राफर बन्नु हो, त्यसैले फिल्म मैले रोजेर गर्ने बिचार गरेको छु ।’ उनले भने–‘फिल्म खेल्न चटक्कै छाड्दिन, राम्रो अफर आएको खण्डमा भने गर्छु ।’ उनलाई बाँकी सबै कुरा छाडेर कसरी राम्रो फोटो निकाल्ने भन्ने चिन्ता मात्रै बढि लाग्छ । भन्छन्–‘मेरो फोटोग्राफिले सवत्र चर्चा पाओस् भन्ने म चाहन्छु ।’

ओम ईभेन्ट्स नामक ईभेन्ट कम्पनीसँग पनि आबद्ध भुपालको जक्शन डटकम पोखरासँगै बुटवल, चितवन, भैरहवा, सिमरा, काठमाण्डौँ, हङकङ, अष्ट्रेलिया, कोरिया र जापानबाट एक साथ चल्दै आएको छ । नेपालको ग्लामर साईटहरुको लिस्टमा यो साईट अग्रस्थानमै आउने गरेको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: