दूतावासको दिवाभोजमा ओलीले प्रचण्डलाई भने–‘अहिले मिठो मिठो खाउँ, भोलिपर्सि वार्ता गरौंला’

Share:

काठमाडौं, १२ माघ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ्गले प्रश्नावली समिति गठन गरेपछि सत्तापक्ष र विपक्षी नेताहरु खरो रुपमा एक आपसप्रति आरोप प्रत्यारोपमा व्यस्त भैरहेका वेला लैनचौरस्थित भारतीय दूतावासमा भने आमने सामने भएका छन् ।

६६ औं भारतीय गणतन्त्र दिवसको अवसरमा राजदुत रञ्जित रेले दिएको दिवाभोजमा सरिक हुन पुगेका नेताहरु आमने सामने हुँदा उपस्थित् सबै पाहुनाहरु भने कानेखुसी गर्दै उनीहरुकै बारेमा कुरा गर्दै दिए । संविधानसभामा नाराबाजीका वीच बहुमतीय प्रक्रिया अघि बढाएर विपक्षी दलहरुलाई चिढ्याएका सभाध्यक्ष सुवास नेम्वाङ पनि भारतीय दुतावासमा पुगेका थिए । त्यस्तै सभाध्यक्षको निर्णयबाट सबैभन्दा बढि चिढिएका प्रमुख प्रतिपक्षी दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपनि त्यहाँ पुगेका थिए ।

भारतीय दूतावासले, सत्ता पक्ष र प्रतिपक्षका नेता एवं विभिन्न साना दलका नेतालाई लैनचौरमा निम्त्याएको थियो । कार्यक्रममा राष्ट्रपति डा. रामबरण यादव बाहेक प्राय ः सबै शीर्ष एवम् उच्च पदस्थ व्यक्तिहरु दिवाभोजमा सहभागी भएका छन् । कार्यक्रममा प्रधानमन्त्री सुशील कोइराला, उपराष्ट्रपति परमानन्द झा, एमाले अध्यक्ष केपी शर्मा ओली, पुर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, माधव नेपाल, डा. बाबुराम भट्टराई, सुर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द उपस्थित् थिए ।

साथै सबै पार्टीका अध्यक्ष लगायत शीर्ष नेताहरु पनि कार्यक्रममा पुगेका थिए । त्यसको अलवा नेपालस्थित् सबै कुटनितिक निकायका प्रमुखहरु पनि सहभागी थिए । कार्यक्रममा विदेशी राजदुतहरुले अब नेपालको संविधान लेखन प्रक्रिया कसरी अघि बढ्छ भनेर जिज्ञासा राखिरहेका थिए । कार्यक्रममा बाक्लो रुपमा उद्योग व्यवसायीहरु पनि सहभागी भएका थिए । ती मध्ये कोहीले सभाध्यक्ष नेम्बाङ्गको खुलैर प्रशंसा गरिरहेका थिए भने कोही चाहीँ उनको आलोचनामा मै समय खर्चिरहेका थिए । दुतावासका अनुसार कार्यक्रममा करिव २५ सय पाहुनाहरुले सहभागी जनाएका थिए ।

उद्योगपत्ति बनवरीलाल मित्तलले एमाओवादी अध्यक्ष प्रचण्डलाई दुब्लाउनु भएछ नि भनेर सोध्दा प्रचण्डले हत्तपत्त जवाफ दिईहालेछन्–‘होईन, म आजकाल वजन कम गर्नै लागिपरेको छु ।’ प्रचण्डले सत्तापक्षले शान्ति सम्झौताको भावना विपरित बुहमतको आधारमा पेलेर अघि बढेकाले आफूहरु आन्दोलनमा जानु परेको बाध्यता सबैलाई सुनाएका थिए । त्यतिमात्रै होईन, अध्यक्ष दाहालले सभाध्यक्ष नेम्बाङ्गलाई कुन शक्तिले यसरी उचालेको हो वा बहुमत देखेकै भरमा यस्तो निर्णय गरेको भन्दै गुनासो गरेका थिए ।

मोर्चाकै अर्को घटक फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादारले पनि आफूहरु अब आन्दोलनबाट एक ईन्चपनि पछि नहट्ने धमास लगाउँदै थिए । त्यतिकैमा मिसिन आईपुगे हिन्दू राष्ट्र निर्मार्णका संयोजक एवम् नेपाली काँग्रेसका नेता खुमबहादुर खड्का पनि के कम उनले पनि भनिहाले–‘तपाईहरु र म एउटै कित्तामा आईपुग्यौं, म पनि आन्दोलनकारी नै हुँ ।’ नेता खड्काले यति भनिसकेपछि एमाओवादी अध्यक्ष प्रचण्ड खुब हाँसेका थिए ।

एमाले नेता विष्णु पौडेल चाहीँ नेताहरु मिल्नुको विकल्प नै नभएको बताएका थिए । नेता पौडेलले सत्तापक्ष र विपक्षी दलका नेताहरुले एक आपसमा सम्वाद तथा सहकार्य गर्नुको विकल्प नभएको बताएका थिए ।

एमाले अध्यक्ष केपी ओलीले प्रचण्डका छोरा प्रकाशलाई किन उभिरहेको बाबु यता आएर बस भनेपछि प्रकाश ओली भएकै ठाउँमा गएर बसेपछि ओलीले प्रचण्डलाई भने–‘अहिले हामी एउटै टेबलमा बसेर गफगाफ गरिरहेका छौं, वार्ता चाहीँ तत्काल गर्नुपर्छ ।’ उता प्रचण्डले वार्ता गर्ने कि नगर्ने भन्ने सत्तारुढ दलकै कोर्टमा बल छ भनेर जवाफ दिए । दाहालको कुरा भुँईमा खस्न नपाउँदै ओलीले भने–‘अलिहे वादविवाद गर्ने वेला होईन, मिठो मिठो कुरा खाऔं, वार्ता भोलि पर्सि नै गरौंला ।’ दुई नेताको सम्वाद सुनिरहेका भारतीय राजुत रेले कुनै प्रतिक्रिया दिएनन् ।

कार्यक्रममा क्लबका अध्यक्ष ऋषि धमलाई देखेपछि नेताहरुले ठाडै सोधे–ए धमलाजी अब निकास के हुन्छ त ? तपाईसँग मिलाउन सक्ने केही आधार छ भने अहिले यही भनिहाल्नुहोस्, नेताहरुको बोली भुईँमा खस्न नपाउँदै धमलाले पनि भनिहाले–‘सत्तापक्ष र विपक्षीहरुले सम्वालाई निरन्तरता दिनुको विकल्प छैन, वार्ता नै गर्दैनौ भन्नु सत्तापक्षको गल्ती भयो, अनि सडक आन्दोलनमा जान्छौं भन्नु विपक्षीको गल्ती हो, त्यसैले अझैपनि केही बिग्रिएको छैन, बस्नुहोस, सम्वाद गर्नुहोस सहममित त्यहीँबाट निस्कन्छ ।’

कमेन्ट गर्नुहोस्
Share: