सुनीताको फिनल्याण्डमा मृत्यु, घरपक्ष भन्छ–आत्महत्या, माईतीपक्ष भन्छ–घरपरिवार मिलेर गरेको हत्या

Share:

रेम बिक पोखरा, १४ माघ । फिनल्याण्डमा आत्महत्या गरेको भनिएकी एक महिलाको हत्या भएको दाबी गर्दै उनको माईतीपक्षले सत्य तथ्य छानविनको लागि आग्रह गरेको छ । माईतीपक्षको यस्तो आग्रहसँगै आत्महत्या भनिएको मृत्यु शंकास्पद बनेको छ ।

६ महिनायता आफ्नो श्रीमान्सँग फिनल्याण्ड बस्दै आएकी नयाँगाऊँकी २२ वर्षिया सुनीता नेपालीलाई घरका मान्छेहरु मिलेर हत्या गरेको माईतीपक्षको आरोप छ । ‘विहे गरिसकेपछि घरमा बहिनीलाई दाईजो नलिएको भन्दै नानाथरीका कुराहरु सुनाएर दबाब दिँदै आएका रै’छन् ।’ सुनीताका दाजु गणेशबहादुर नेपालीले भने–‘फिनल्याण्ड गैसकेपछि श्रीमान्ले बारम्बार कुट्ने गरेको पनि थाहा पाईयो ।’ दाईजो नल्याएको भन्दै पिट्ने र धम्क्याउने गरेको परिवारका सदस्य नै मिलेर आफ्नो बहिनीको हत्या गरेको उनले आरोप लगाए ।

लेकसाईडकी सुनीताको नयाँगाउँका सुरज नेपालीसंग मागी विवाह भएको थियो । विवाह भएको ६ महिनापछि सुनीता आफ्नो श्रीमान्सँग फिनल्याण्ड गएकी थिईन् । बारम्बार घरको दबाबका कारण उनले फिनल्याण्डबाटै माईतीसँग गरगहना र घरेलु सामाग्रीहरु मगाउने गरेकी थिईन् । बेला बेलामा फोनमा कुरा हुँदा आफुलाई हिँसा भएको कुरा उनले बताउँदै आएको कुरा माईतीपक्षले बताएको छ ।

फिनल्याण्डमा सुनीताको मृत्यु भएसँगै माईतीपक्षलाई उनको घरपरिवारले ढिलो गरि मात्रै जानकारी गराएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । ‘छोरीले आत्महत्या गरेको खबर पनि मैले अरु आफन्तबाट सुन्नुप¥यो, छोरीका घरका सदस्यले भनेनन् ।’ सुनीताका बुवा निर्मलबहादुर नेपालीले भने–‘अझै ज्वाँई त झन् घटना घटेको ११ दिनसम्म पनि सम्पर्कमा आएनन् ।’

सुनीताको मंसिर ९ गते मृत्यु भएको थियो । उनको शवलाई नेपाल ल्याउन पनि परिवारले सहयोग नगरेको माईतीपक्षले आरोप लगाएको छ । ‘उनको घरपरिवारले उनलाई फिनल्याण्डमै अन्त्येष्टि गर्न लागेको थियो । तर हामीले हाम्रै खर्चमा छोरीको शव झिकायौँ ।’ बुवा निर्मलले भने–‘शव अस्पतालमा राखेपनि हामीलाई नसोधी परिवारले छोरीको शवलाई अन्त्येष्टी गरेछन् ।’ छोरीको अन्त्येष्टी हुँदा पनि ज्वाँई घाटमा नरहेको आफुहरुले थाहा पाएको उनले सुनाए ।

सुनीताको आत्महत्या नै भएपनि फिनल्याण्डको अस्पतालले दिएको पोस्टमार्टम रिपोर्ट माईतीपक्षले घरपक्षसँग माग गरेको थियो । तर घरपक्षका मानिसहरुले त्यस्तो कुनै आत्महत्याको प्रमाण देखाएका छैनन् । सुनीताको माईती पक्षले विभिन्न कानुनी बाटो अपनाए पनि आफुहरुलाई कतैबाट गतिलो साथ नभएको बताएको छ । सुनीताको ससुरा पूर्णबहादुर नेपाली (जोसेफ)लाई घटनाको बारेमा बुझ्न सम्पर्क गरेपनि उनी सम्पर्कमा आएनन् । सुनीताका श्रीमान् सुरज नेपाली केहि समय अगाडि नै फिनल्याण्ड फर्किसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: