प्रश्नावली समिति विपक्षी अनुकुल : सभाध्यक्ष नेम्बाङ

Share:

काठमाडौं, १५ माघ / सभाध्यक्ष सुवास नेम्बाङ प्रश्नावली निर्माण समिति एमाओवादी लगायतका विपक्षी दल अनुकुल भएको बताउँदै विपक्षीहरुले नै विरोध गरेकोमा आश्चर्यचकित भएको बताएका छन् । नेम्बाङले सत्तापक्षले मस्यौदा समितिलाई अघि बढाउन जोड गरिरहेको बेला आफुले मध्यमार्गि बाटो अपनाउँदै प्रश्नावली निर्माण समिति गठन गरेको दाबी गरे ।

‘काँग्रेस–एमालेले मस्यौदा समितिलाई अघि बढाउन चाहेका थिए । ’ नेम्बाङले भने ‘मैले बीचको बाटो प्रयोग गरेर, सबै दलको सहभागिता होस् भनेर ७३ सदस्यीय प्रश्नावली निर्माण समिति गठन गरेको हुँ ।’ एमाओवादीले सत्तापक्षप्रति उदार भएको भनि लगाएको आरोप खण्डन गर्दै नेम्वाङले अघि भने ‘ आफ्नो अनुकुल हुँदा सबै ठीक, अनि आफुलाई चित्त नबुझदा चै सबै बेठीक ? ’

नेम्बाङले बाहिर हल्ला गरे जस्तो विवाद नभएको बताउँदै दलहरु अनौपचारिक वार्तामा जुटिरहेको बताए । ‘वार्तामा सबै दलहरु सकारात्मक देखिन्छन्, अहिले पनि अनौपचारिक वार्ता भएका छन् । वार्तामा देख्दा लाग्छ, दलहरुबीच खासै विवाद छैन । ’ नेम्वाङले भने ‘ रात रहे अग्राख पलाउछ भन्थे, तर यहाँ दिउँसै अग्राख पलाएको छ, दिउँसो छलफलमा सकारात्मक भएका दलहरु एकछिन पछि विवाद गर्छन । ’

दलहरुबीच के कारण विवाद बढ्दै गइरहेको हो भन्ने प्रश्न गर्दै नेम्वाङले दलहरुको नियतमा शंका उत्पन्न भएको बताए । उनले सत्तापक्षले संयमीत भएर वार्ता गर्नु पर्ने बताए । बिहिबार राष्ट्रपति डा. रामबरण यावदसँग पनि दलहरुले वार्ताबाट विवादको अन्त्य गर्नुपर्ने विषयमा छलफल भएको नेम्वाङले बताए ।

कमेन्ट गर्नुहोस्
Share: