
रञ्जन अधिकारी पोखरा, १५ माघ /कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले कृषि क्षेत्रमा युवाको सहभागिता बढ्दै गएको भन्दै खुशी प्रकट गरेका छन् । काम नपाएको भन्दै युवाहरु विदेशिएर विभिन्न समस्यासँग जुध्दै निम्न स्तरको काम गर्न बाध्य बनिरहँदा मन्त्री पराजुलीले कृषि क्षेत्रमा युवाहरुको सहभागिता वृद्धि गर्नु सरकारको नीति रहेको बताए ।
पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा विहीबारदेखि सुरु आठौं राष्ट्रिय प्राङगारिक कृषि मेला प्रर्दशनी २०७१ को समुद्घाटन समारोहमा बोल्दै मन्त्री पराजुलीले नेपालको ग्रामीण क्षेत्रका जनताको क्रयशक्ति विकास गर्ने भनेको नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने हो भन्ने मान्यतामा उभिएर सरकारद्वारा बजेट र कार्यक्रमहरु अघि सारिएको दाबी गरे । ‘कृषि मन्त्रालयको कूल बजेट २३ अर्ब २८ करोड भित्र १३ अर्ब ११ करोड रुपैंया अनुदानका रुपमा विभिन्न शीर्षकमा किसानहरुलाई दिने गरी कार्यक्रमहरु तर्जुमा भएको छ ।’ उनले भने– ‘युवा लक्षित कार्यक्रम अन्तर्गत गत वर्ष चार हजार युवालाई र यस वर्ष बढाएर साढे ९ हजार युवालाई दिने भनेकोमा २४ हजारले आवेदन दिएको अवस्था छ । कृषिमा युवाको आकर्षण बढेको छ ।’ कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री पराजुलीले ६५ प्रतिशत जनसंख्या अल्झिएको यस क्षेत्रलाई देखिने गरी परिवर्तन गर्न नसकिने टिप्पणी गरे ।
उनले भुमिहीन, सुकुम्बासी, हलिया, मुक्त कमलरी तथा कमैया जस्ता आफ्नो स्वामित्वमा खेती गर्ने जग्गा नभएकाहरुका लागि सरकारले जग्गाको सबै जिम्मेवारी लिने समेत बताए । ‘जसको कृषि सीप भन्दा अरु कुनै सीप छैन र जग्गा छैन । पहाडमा ६० रोपनी वा तराईमा साढे ४ बिगाहा सम्मको जग्गा अरु कसैको भाडामा लिएर, एक्लैले वा समूहमा व्यवसायिक कृषि खेती गर्न चाहन्छन् भने त्यस्ता, व्यक्ति, संस्था वा समूहलाई उनीहरुले जग्गा भाडामा लिएबापत तिर्नुपर्ने सबै रकम सरकारले व्यहोर्नेछ ।’ उनले थपे– ‘जग्गा मात्रै नभई बिउ, बिजन, खेती गर्ने प्रक्रिया, चाहिने सामाग्रीका लागि ३२ हजार देखि १ लाखसम्म सिड मनीका रुपमा अनुदान दिने गरी बजेटमा व्यवस्था गरिएको छ ।’ मन्त्री पराजुलीले समूहहरुले व्यवसायिक कृषि गर्न खोजेमा जग्गाका लागि ५० प्रतिशतसम्मको खर्च सरकारले अनुदान स्वरुप दिने समेत जनाए । उनले अब बैँकहरुले किसानको लागि ६ प्रतिशत ब्याजमा कृषि ऋण प्राप्त गर्ने समेत बताए ।
एमाओवादी सभासद् तेज कुमारी पौडेलले सरकारले वास्तविक किसानको हितअनुरुप नीति तथा कार्यक्रम ल्याउन नसकेको बताउँदै भूमिहीन, सुकुम्बासी र साना किसान लाई पनिसम्मेटनु पर्नेमा जोड दिईन् । उनले आजको आवश्यकता भनेको अर्गानिक कृषि रहेको बताईन् ।
पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले प्राङ्गारिक उत्पादनको प्रमाणिकरण गर्ने संस्थागत र नियमनकारी निकायका लागि किसानले जोडदार रुपमा माग उठाउन अनुरोध गर्दै प्राङ्गारिक कृषि पर्यटन प्रवद्र्धन गर्न पोखरालाई सकिने बताए । उनले किटनाशक औषधि प्रयोग भएको खानेकुरा खान बाध्यकारी अवस्था रहेको भन्दै खाद्य अधिकारमाथि ठाडो हस्तक्षेप भएको बताए ।
कार्यक्रमको अध्यक्षता समेत गरेका कृषि विभागका महानिर्देशक डाक्टर युवक ध्वज जिसीले पहिले पहिले रासायनिक मलको प्रयोगले उत्पादन बढ्छ भन्ने भए पनि त्यसको असर ठुलो भएकोले मानिसको स्वास्थ्यको लागि पनि प्राङ्गारिक उत्पादन अनिवार्य भएको बताए ।
स्थानीय मेला व्यवस्थापन समितिका संयोजक समेत रहेका क्षेत्रीय कृषि निर्देशनालय पोखराका निर्देशक लेखनाथ आचार्यले मेलामा कृषकको उत्साहजनक सहभागिताले आफूहरुमा उर्जा थपिएको बताए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले कृषकले आफ्नो उत्पादनलाई कसरी बढि भन्दा बढि शुद्ध बनाउन तर्फ सोच्नुपर्ने भन्दै राज्यले उचित कृषि नीति ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रमका सहआयोजक समेत रहेका पोखरा उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष मीनराज काफ्लेले किसान र उपभोक्ताको बीचमा रहने बिचौलियाका कारण किसानले उत्पादन मूल्य समेत नपाउने अवस्था रहेको र उपभोक्ताले महंगोमा खरीद गर्नुपर्ने बाध्यता रहेकाले यो जाल तोड्नुपर्नेमा जोड दिए । लिबर्डका अध्यक्ष कृष्णप्रसाद बरालले युवाहरुको बढ्दो विदेशिने मोहलाई रोक्दै कृषि क्षेत्रमा कसरी आकर्षित गर्ने भन्नेबारे सोच्नुपर्ने बेला आएको बताए ।
अखिल नेपाल किसान महासंघ, पश्चिमाञ्चल संयोजक पुण्य पौडेलले अनुपस्थित जमिन्दारका कब्जामा रहेका खेतीयोग्य जग्गा राज्यले लिएर भुमिहीन कृषकलाई लिजमा नदिएसम्म किसानको अवस्था माथि नआउने र कृषिको व्यवसायीकरण नहुने ठोकुवा गरे । नेपाल किसान संघ, कास्कीका अध्यक्ष भेषराज पराजुलीले संविधानमा किसानको हकअधिकारबारे सुनिश्चित गरिनुपर्नेमा जोड दिए । कृषकका तर्फबाट बोल्दै माया केसीले रसायन र बिषादीको बढ्दो प्रयोग र यसको सेवनले अब मानिसले सन्तान दिन नसक्ने दाबी गरिन् । रेडियो नेपाल कृषि कार्यक्रमकी बुढी आमै लक्ष्मी भुषालले केहिबेर आफ्नो प्रस्तुति समेत राखिन् ।
क्षेत्रीय कृषि निर्देशानलय पोखरा र कृषि ब्यवसाय प्रवद्धन कार्यक्रम हरिहर भवन ललितपुरको संयुक्त आयोजना शुरु भएको आठौं राष्ट्रिय प्राङगारिक कृषि मेला पोखराको प्रर्दशनीकेन्द्र नयाँ बजारमा माघ १८ गतेसम्म चार दिन सञ्चालन हुनेछ । एक कार्यक्रमका विच कृषि मन्त्री हरिप्रसाद पराजुलीले उद्घाटन गर्नु भएको छ । कार्यक्रमको संचालन क्षेत्रीय कृषि निर्देशनालयका अधिकृत प्रकाश सञ्जेलले गरेका थिए ।
मेलामा प्राङ्गारिक कृषि गीत सम्बन्धि प्रतियोगिता, प्राङ्गारिक कृषि सम्बन्धी प्राविधिक सूचना एवं प्रस्तुतीकरण, प्राङ्गारिक कृषि सम्बन्धमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुति, जेटीए र बुढी आमाको प्रहसन लगायतको कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
यसअघि, विहिबार बिहान क्षेत्रीय कृषि निर्देशनालयको प्राङ्गणबाट शुरु भएकोे नौमती बाजा सहित विभिन्न कृषि झाँकीमा किसानहरुले सुन्तला, कफि तथा आलुको माला, हलो, जुवा कोदाली, फर्सी, कुभिन्डो, मुला, माछा लगायत बोकेर सहभागी थिए ।
गुल्मी लगायतका विभिन्न जिल्लाबाट समेत आएका कृषहरुले गाडीहरुमा पनि विभिन्न कृषि उपजले सजाएर नाच्दै गाउँदै बजाउदै पोखराको चिप्लेढुङा, महेन्द्रपुल, नयाँबजारको परिक्रमा गर्दा बाटोमा ¥याली हेर्नेहरुको भिड नै लागेको थियो भने कृषहरुको बृहत सहभागिताले ती क्षेत्रमा २ घण्टा सवारी आवगमन समेत प्रभावित भएको थियो । प्रदर्शनी केन्द्रमा पुगेर कृषक समूहरुले आफ्ना प्रस्तुति समेत राखे । आयोजकले कृषकहरुको झाँकी प्रर्दशनी प्रतियोगितात्मक भएको जनाएको छ । उत्कृष्टताका आधारमा उनीहरु पुरस्कृत हुनेछन् ।


