
रेम बिक, बिग न्युज /पोखरा, १८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत माओवादी, मधेशवादी लगायतका विपक्षी दलहरु सहमतिमा नआए दुई तिहाईबाटै भएपनि संविधान जारी गर्ने स्पष्ट पारेका छन् । प्रेस चौतारी कास्कीले पोखरामा आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले जुनसुकै हालतमा संविधान जारी गर्नु आफुहरुको अर्जुनदृष्टि भएकाले सरकार परिर्वतनको खेलमा नरहेको स्पष्ट पारे । ‘एमाले कसैले लोभ्याएर र तर्साएर तर्सिदैन्, उनले भने– ‘एमालेको अर्जुनदृष्टि संविधान बनाउनेतर्फ रहेको छ,’
‘संविधानसभा भन्दा बाहिर जानेलाई संविधान बनाआंै आउनु भनेर आग्रह गर्छौं, नआए दुई तिहाइ पु¥याएरै भएपनि संविधान बनाई छाड्छौ’– एमाओवादीप्रति इगिंत गर्दै उनले भने – ‘घुर्की लगाउनेहरु, अब पुग्यो आउनुस संविधान बनाउँ, कस्ले के गर्छ हाम्रो जिम्मा हैन, तर, हामी संविधान बनाएरै छाड्छौं ।’ सहमतिमा आउन आग्रह गर्दै ओलीले नत्र बहुमतीय प्रक्रियाबाटै संविधान जारी हुने बताए ।संविधान जारी गरिसकेपछि क–कसले के के गर्ने भन्ने कुरा आफुहरुको जिम्मामा नरहेको पनि उनले स्पष्ट पारे ।
एमाले र काँग्रेसले मात्रै संविधान बनाउन नसक्ने भन्दै उनले संविधान बनाउन सहमति नै आवश्यक रहेको स्पष्ट पारे । सहमतिको कुरा गर्ने तर, सहमतिमा आउन नचाहाने एमाओवादी जर्ववस्ती अगाडि बढ्न खोजेको आरोप उनको छ ।
उनले संविधान बनाउनका लागि चार तरिकाहरु अघि सार्दै अत्यधिक दललाई सहभागी गराउने तथा विरोध र बहिष्कार गर्नेको पनि विरोध नहुने गरि संविधान बनाउने प्रयास गरिने बताए । ‘पहिलो दुई तिहाईबाट संविधान, दोस्रो अत्याधिक बहुमतबाट संविधान, तेस्रो संविधानसभामा भएका सबैदलको सहमतीमा संविधान र चौथो संविधानसभा बाहिर भएकाहरुलाई समेत समेटेर संविधान जारी गर्ने हाम्रो पहल हुनेछ ।’ उनले भने–‘मानेनन् भने हामीले पहिलो विकल्प नै रोज्नुपर्ने हुन्छ ।’
उनले सवै दलहरु मिलेपनि प्रक्रियामा नगई संविधान बन्न नसक्ने दावी गरे । ‘विना प्रक्रिया संविधान बन्दैन, सहमति भएपनि नभएपनि संविधान सभाबाटै नै संविधान जारी गर्ने हो’ उनले भने – ६ सय १ जनाको समर्थन भएपनि प्रक्रियाबाट नै जारी गर्नु पर्दछ । ’ पहिचानको सवालमा संविधानको मुल जड रोकिएको हो ? भन्ने संचारकर्मीहरुको प्रश्नमा उनले भने– हामीले पहिचानको सवाललाई संविधानमा समेट्छौँ, तर कुनै हालतमा जातिय राज्य हामीलाई मान्य छैन ।’ एमाओबादीले जातीय राज्यका नाममा देशमा द्धन्द्ध सृजना गर्न खोजेको भन्दै राष्टिय एकतालाई भत्कन नदिने र त्यसको पहरेदार गरिरहने बताउनुभयो । निर्वाचनको क्रममा एमालेले बहुपहिचानको मुद्दालाई आफ्नो घोषणापत्रमा समेट्नु ‘अप्ठेरो परेको बेला गरिएको कबुल’ को रुपमा उनले परिभाषित गरे ।
बहुमतीय प्रणालीमा संविधान जारी गरेपछि आन्दोलनमा जाने विपक्षीको चेतावनीलाई उनले ‘बेकाम’को संज्ञा दिए । उनले भने– जनता कोहि बिच्किएका अरिंगाल होईनन् कि जसलाई भेट्यो उसैलाई चिल्ने ।’ जनताले आन्दोलनमा कुन बेला कसरी होमिने भन्ने कुरा बुझिसकेको बताउँदै उनले एमाओबादीले अहिलेसम्म आन्दोलन गर्नै नजानेको आरोप लगाए । ‘एमाओबादीले अहिलेसम्म आन्दोलन गरेकै छैनन्, उनीहरुले त उत्पात मात्रै मच्चाएका छन् ।’ ओलीले एमाओबादीप्रति व्यङ्ग गर्दै भने ।
अध्यक्ष ओलीले आवेग, उत्तेजना र तोडफोडले संविधान नबन्ने बताए । प्रचण्डले पहिलो संविधानसभामा आफूहरुले दुई तिहाईको दम्भ नदेखाएको भनाई सार्वजनिक गरिरहँदा ओलीले काँग्रस र एमाले विना संविधान बन्न नसक्ने भन्दै पहिलो संविधान सभामा लोकतान्त्रिक शक्तिको बहुमत नहुदाँ विघठन भएको र अहिले त्यस्तो अवस्था नरहेका टिप्पणी गरे ।
अधिकांश समय एमाओबादीको विषयमा बोलेका ओलीले कुरा टुंगाउँदै भने–‘केपी ओली कहिल्यै पनि अररो भएको छैन, म सँधै लचिलो छु ।’ संविधान बनाउनलाई नै आफु लचिलो भएको बताउँदै उनले अन्तिममा एमाओबादी सहितको विपक्षी मोर्चाहरुलाई सहमतीमा आउन आग्रह समेत गर्न भ्याए । उहाँले संविधान नवन्दा सम्म एमाले र काँग्रेस विचमा फाटो ल्याउने कोसिस सफल नहुने बताए । प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुवँरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव माधब बराल र स्वागत कोषाध्यक्ष एकराज गिरीले गर्नुभएको थियो ।
