
पोखरा १८ माघ । माघ २० गतेदेखि पोखरामा सुरु हुने १३ औं आहा रारा गोल्डकपको तयारी पुरा भएको छ । आयोजक सहारा क्लबले आईतवार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ ।
फागुन २ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा दुई विदेशी सहित १२ टोली सहभागि हुदैछन् । प्रतियोगितामा वेलायतको अल्ड्रासोट टाउन फुटवल क्लव, भारतको कन्चङजंगा फुटवल क्लव, नेपालमा ए डिभिजनका क्लव र आयोजक सहारा क्लब सहितको सहभागिता रहने क्लबका महासचिब केशब बहादुर थापाले जानकारी दिए ।
प्रतियोगितामा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदी क्लव, थ्रि स्टार क्लव, विभागिय टोली नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी वलको एपिएफ क्लव, त्रिभुवन आर्मी क्लव, झापा ११ फुटवल क्लव, रुपन्देहिको लुम्बिनी फुटबल क्लब, कैलालीको सुदुरपश्चिमाञ्चल फुटवल क्लव, सिमराको नव जन जाग्रिती युवा क्लव र आयोजक सहारा क्लवले प्रतिश्पर्धा गर्नेछन् ।
प्रतियोगिता उद्घाटनको दिन मंगलवार आयोजक सहारा क्लब र सिमराको नव जन जागृति युवा क्लब बिच प्रतिश्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको अन्य खेल तालिका भने सार्वजनिक गरिएको छैन ।
प्रतियोगितामा बिजेतालाई ३ लाख ५१ हजार र उपबिजेतालाई २ लाख एक हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष बिरभद्र आचार्यले जानकारी दिए । त्यस्तै एक जना सर्बोत्कृष्ट खेलाडिले टिभिएस मोटरसाईकल प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक, मिडफिल्डर, गोलकिपर, स्ट्राईकर र डिफेण्डरलाई जनही १० हजार नगद प्रदान गरिनेछ । सर्वाधिक गोलकर्तालाई भने १५ हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सर्बाधिक गोलकर्ता पुरस्कार पोखरा उद्योग बाणिज्य संघ, पाच बिधाका पुरस्कार प्रायोजन पृथ्बी राजमार्ग बस सञ्चालक समिति, इमोन क्याफेले फियर प्ले टिम पुरस्कार प्रायोजन गरेका छन् । मोटरसाईकल प्रायोजन सहारा युके र टिभिएसले गरेका छन् ।
सहारा एकेडेमीको सहयोगार्थ सञ्चालन हुने प्रतियोगिताबाट यस बर्षदेखि भने क्लबले फुटबल मैदान संरक्षण र मर्मतको लागि प्रबेश टिकटमा प्रति टिकट एक रुपैया छुट्याएको छ । प्रतियोगिताबाट बचत भएको रकम एकेडेमी सञ्चालनको लागि खर्च गरिने क्लबले जनाएको छ । एकेडेमीमा अहिले बिपन्न वर्गका १२ जिल्लाका २१ वालकहरु रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न ७३ लाख ३४ हजार एक सय खर्च लाग्ने र ९५ लाख ९७ हजार आम्दानी गर्ने लक्ष्य राखिएको छ ।
म्याच मनि
आहा रारा गोल्ड कपमा सहभागि भएर एक खेल खेलेको खण्डमा कुनै पनि टिमले म्याच मनि प्राप्त गर्ने भएको छ । प्रि–क्वाटरफाईनल खेलमा जितेको टिमले १५ हजार र पराजित भएको टिमले भने १० हजार प्राप्त गर्ने भएको हो । क्वाटरफाईनलमा जित हासिल गरेको टिमले २० हजार र पराजित टिमले १५ हजार प्राप्त गर्ने भएको सहारा क्लवले जनाएको छ । सेमिफाईनल विजेता तथा उपविजेतालाई जनहि २५/२५ हजार म्याच मनि दिने भएको क्लवले जनाएको छ ।
सहयोग हस्तान्तरण
यसै विच पत्रकार सम्मेलनको अवसरमा सहारा एकेडेमीको अक्षयकोष स्थापना गर्न तथा आहा रारा गोल्ड कपको लागि रकम हस्तान्तरण समेत गरीएको छ । सहारा युकेका बखत गुरुङ र चन्द्रकला गुरुङबाट अक्षयकोषको लागि ५० हजार सहयोग हस्तान्तरण गरीएको छ ।
हङकङमा रहेका अधिवक्ता देव गुरुङले आहा रारा गोल्ड कपलाई पठाएको ५१ हजार १ सय रुपैया रेडियो अन्नपुर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले क्लवका अध्यक्ष विरभद्र आचार्यलाई हस्तान्तरण गरे । पुरुषेतम रेग्मीले आफ्नो छोरा रुपक रेग्मीको स्मृतीमा २५ हजार ५ रुपैया क्लवलाई सहयोग गरे । रेग्मीका सहयोगी सरोज बरालले उक्त रकम क्लवलाई हस्तान्तरण गरेका हुन ।
यसै विच, सगरमाथा आरोहण गर्ने तयारीमा रहेका एचआईभि संक्रमित गोपाल श्रेष्ठलाई एक लाख ८२ हजार सहयोग हस्तान्तरण गरीएको छ । तमु धिं युकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले संक्रमीत श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेका हुन । उक्त रकम प्रकाश गुरुङ, ज्ञानबहादुर रोक्का, तमु धिं युकेको टोलीबाट संकलन भएको गुरुङले बताए ।
