सहमतिपछि मणिपालमा उत्पन्न तनाव साम्य, अस्पतालमा तोडफोड

Share:

रञ्जन अधिकारी पोखरा, १९ माघ । पोखरा फूलबारी स्थित मणिपाल शिक्षण अस्पतालमा शल्यक्रियाको क्रममा बिरामीको ज्यान गएपछि आन्दोलरत मृतकका आफन्तले आन्दोलन स्थगित गरेका छन् । सोमबार अस्पताल प्रशासनसँग सहमति भएपछि अस्पतालमा अबरोध हटाएको उनीहरुले जानकारी दिए ।गत माघ १५ गते विहिबार पोखरा १६ बाटुलेचौरकी २२ वर्षीया सबिना जिसी तामाङको कलेजोको शल्यक्रियाका क्रममा ज्यान गएको थियो । अस्पतालले शल्यक्रिया सफल भएको जनाएपनि शल्यक्रियाकै क्रममा ज्यान गएकाले तीन दिनसम्म बिरामी बेहोस् भन्दै अस्पतालले झुट बोलेकाले आफन्त आन्दोलित भएका थिए ।

सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा प्रशासनको रोहवरमा भएको वार्तामा मृतक तामाङको उपचारमा लागेको सम्पूर्ण खर्च अस्पतालले व्यहोर्ने, मृतककी तीन वर्षीया छोरीलाई दुई लाख प्रदान गर्ने र उनी अविवाहित रहेसम्म अस्पतालमा सम्पूर्ण उपचार खर्च निःशुल्क हुने, बिरामीको उपचारका क्रममा भएको घटनाको सत्यतथ्य छानविन गर्न समिति गठन गर्ने र दोषी पाईए सोहि अनुरुपको क्षतिपूर्ति अस्पतालले प्रदान गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिईएको वार्तामा सहभागी दीपक वाईबाले जानकारी दिए । सत्यतथ्य छानविन नभए अथवा अस्पतालले सहयोग नगरे पुनः आन्दोलनमा उत्रने मृतकको आफन्तको भनाई छ । वार्तामा मृतकका घर तथा माईतीको आफन्त, अस्पतालका प्रशासन प्रमुख डा. वीरेन्द्र कुमार यादव सहितको टोली, प्रशासनबाट एक प्रतिनिधि र मणिपाल कर्मचारी यूनियन समन्वय समितिका प्रतिनिधि सहभागी थिए । मृतककी आमा यशोदा जिसी विगत १५ वर्षदेखि सोहि अस्पतालमा कार्यरत छिन् ।

यसैबीच, आईतबार दुई चरणमा भएको वार्ता टुंगोमा पुग्न नसकेपछि सोमबार पूर्वान्ह ११ बजे वार्ता बस्ने भनिएपछि अस्पतालले आलटाल गरेपछि दबाब दिन भन्दै मृतकका आफन्तले अस्पतालमा तोडफोड गरे । आक्रोशित आफन्तले अस्पताल परिसरको गमला, सिसा, टिभि, टेलिफोन, कुर्ची तथा रिसेप्सनमा तोडफोड गरेका हुन् । पटक पटक बिरामीको ज्यान लिने गरेको अस्पताल यसपटक पनि पेलेरै जाने रणनीतिमा लागेपछि बाध्य भएर तोडफोडमा उत्रनुपरेको आफन्त रोशन तामाङले जानकारी दिए । आईतबारदेखि उनीहरुले मुल गेट बन्द गरी आवागमन प्रभावित पारेका थिए

शल्यक्रिया पछि १२ घण्टासम्म होस नखुलेपछि परिवारलाई जानकारी नै नगराई होस नखुलेको बिरामीलाई पोष्ट अपरेटिभ वार्डमा सारेर गैरजिम्मेवार कार्य गरेको, आँखामा पट्टी बाँधेर मुखमा भ्याकुम दिएर जिवितै भएको नाटक गरेर दुई दिनसम्म आफूहरुलाई गुमराहमा राखेको मृतकका आफन्तको दाबी छ । अस्पताल प्रशासनले भने हालसम्म घटनाबारे जानारी गराएको छैन । शल्यक्रियाका क्रममा डा. डोलेन्द्र रिजाल, ओम श्रेष्ठ लगायतको टोली सहभागी भएको मृतकका आफन्तले बताएको छ ।सबिनालाई कोखा दुख्ने समस्या देखिएपछि बगरमा गरिएको भिडियो एक्सरेको क्रममा कलेजोमा पानी र जुका जस्तो देखिएकाले तुरुन्त अपरेशन गर्न भनेकोमा माघ १४ गते बुधबार सबिना आफ्नी आमा यशोदासँगै अस्पताल हिँडेरै पुगेकी थिईन् ।

कमेन्ट गर्नुहोस्
Share: