आगलागीमा ४ को मृत्यु, सुराली गएका पोखराका अनिलका परिवार नै जले

Share:

१९ माघ, धादिङ । धादिङको धुसा १ चरौंदीमा आगोमा जलेर एकै परिवारका चार जनाको मृत्यु भएको छ । स्थानीय किशोरचन्द्र थपलियाको घरमा आगो लाग्दा थपलियासहित उनको ज्वाईं पोखरा बुढीचौर घर भएका अनिल जिसी, छोरी योजना र ५ वर्षीया नातिनी रोजेट जिसीको मृत्यु भएको हो । थपलिया एनेकपा माओवादी धुषा गाउँ कमिटीका अध्यक्ष हुन् । थपलियाको घरमा भाई पवनको विवाह थियो । आइतबार राती अबेरसम्म बिहेको रमझम सकेर फर्किएका आफन्त र छिमेकीहरु घर पुगेर निदाउन नभ्याउँदै पत्याउनै नसकिने खबर सुनेर आत्तिए । खबर गलत होस भन्ने कामना गर्दै रामप्रसाद थपलियाको घरतर्फ दौडिएका उनीहरुले जे सुनेका थिए, त्योभन्दा धेरै आफ्नै आँखाले देख्नुपर्यो, कहालीलाग्दो दृश्य ।

10351910_10204905023898485_6200504276832958628_n

त्यहाँ पुगेका सबैको आँखा रसाउन थाल्यो । अघिल्लो साँझसम्म हाँसखेल गरिरहेका दाजुभाइ र माईती मावलीले सोमवार बिहानसम्म पनि उनीहरुलाई देख्न पाएनन । दनदनी बलेको आगो छिचोलेर घर भित्र भएका बाहिर निस्कन भ्याएनन र बाहिर हुने पनि भित्र पस्न सकेनन । मध्यरातमा घरभित्र बिजुली सर्ट भएर लागेको आगोले घर सम्पत्तिसँगै घरभित्र सुतिरहेका चार जनालाई एकै ठाउँमा खरानी बनायो । मध्यरातमा लागेको आगोबाट परिवारका चार जना एकै ठाउँमा गुमाउनु परेको पीडाले ८३ बर्षिय रामप्रसाद थपलिया र उहाँकी श्रीमती बेहोस हुनुहुन्छ । शारीरिक रुपमा अशक्त थपलियालाई आँखै अगाडि परिवारका चार जना जलेको दृश्यले निकै चोट पुर्याएको छ । घरको तल्लो तलामा सुत्नु भएका रामप्रसाद र हरिमायालाई छिमेकीले तानेर बाहिर निकाल्न भ्याए । तर माथिल्लो तलामा रहेका चारजना बचाउ बचाउ भन्दाभन्दै आगोले जलेको देख्नेहरु यतिबेला शोकमा डुबेका छन ।

शनिवार राती अबेरसम्म रमझम देखिएको थपलिया निवास मध्यरात हुँदा खरानीमा परिणत मात्र भएन परिवारका चार जनालाई संधैका लागि गुमाउनु पर्दा चरौंदी मात्रै होइन, आसपासका वस्ती पनि शोकाकुल बनेको छ । धादिङको धुषा गाविसको चरौंदी घुम्तीका रामप्रसाद थपलियाको घरमा राती एक बजेतिर भएको आगलागीबाट रामप्रसादका जेठा छोरा ५२ बर्षिय किशोरचन्द्र थपलिया, किशोरका छोरी योजना थपलिया, योजनाका श्रीमान अनिलदेव घर्ती र ५ बर्षिया छोरीको घरभित्रै जलेर ज्यान गएको हो ।

आगलागीमा परी किशोरकी श्रीमती अणकुमारी थपलिया गम्भीर घाईते हुनुभएको छ । शरीरको पछाडि भाग जलेर घाईते हुनुभएकी थपलियालाई उपचारका लागि काठमाडौं लगिएको छ । उपचारमा रहेकी थपलियालाई अहिलेसम्म श्रीमान, छोरी ,ज्वाई र नातिनीको मृत्यु भएको खबर दिईएको छैन । अरुलाई पनि उपचारका लागि अन्य अस्पताल लगिएको भनेर ढांट्नु परेको थपलियाका आफन्तहरुले बताए ।

अब यस्तो खुशी रहेन । अनिल र योजनाको जोडीको खुशी देखि सहेनन् दैवले 

रातीको समयमा घर भित्रबाट एक्कासी चारैतिर आगो निस्किएपछि घरको तल्लो तलामा सुतेका ८३ बर्षिय रामप्रसाद, उहाँकी श्रीमती ६८ बर्षिया हरीमाया थपलिया, किशोरका जेठा छोरा ३० बर्षिय अभिषेक र कान्छा छोरा अशेष भने बच्न सफल भएका छन । छिमेकीहरुका अनुसार माथिल्लो तलामा एकैसाथ चारैतिरबाट आगो बल्न थालेपछि कोठाभित्र सुतेका अणकुमारी बाहेक अरु कोठा बाहिर निस्कन नसक्दा भित्रै जलेर ज्यान गएको हो । किशोरका छोरी योजनाको बाहेक अरु सबैको शरीर जलेर केही भाग मात्र बाँकी रहेको छ । योजनाको पनि शरीरको धेरै भाग जलेको छ ।

10534663_10152494949973950_6448959228862001710_n

      कति निष्ठुरी दैव, कलिली नानीलाई पनि जलाएरै छाडिस् !

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार आगलागीबाट थपलिया परिवारमा ५० लाख रुपैंया भन्दा बढीको क्षति पुगेको छ । रातीको समयमा आगलागी भएकाले उद्धारमा निकै कठिनाई भएको र घर भित्र सुतिरहेका व्यक्तिलाई वाहिर निकाल्न नसक्दा दुखद घटना हुन पुगेको स्थानीयबासिन्दाले बताए ।

News Photo: Keshav Adhikari, Photo: Facebook

कमेन्ट गर्नुहोस्
Share: