
माघ २४ / सुनचाँदी व्यवसायीले बहुमूल्य धातु सुनको कारोबारमा उपभोक्तालाई ठगेको खुलासा भएको छ । गरगहना तयार गर्ने कालिगढलाई व्यवसायीहरुले बढिभन्दा बढि रसायन(केमिकल) मिसावट गर्न दबाब दिएपछि कालिगढले त्यसको विरोध गर्दा सो कुरा वाहिर आएको हो । व्यवसायीले भने अनुरुप स्थानीय कालिगढहरुले अत्याधिक केमिकल मिसावट गर्न नमानेपछि भारतको कलकता तथा बंगलादेशका कालिगढ ल्याएर सुनमा ठगी गरिरहेको सुनचाँदी कालिगढ व्यवसायी सङ्घ धनुषाका अध्यक्ष अजय ठाकुरले बताए ।
जनकपुरका सुनचाँदी व्यवसायीहरुले अध्याधिक मुनाफा कमाउने उद्देश्यले सुनमा रसायनको अत्याधिक प्रयोग गर्ने गरेको स्थानीय कालिगढ बताउँछन् । स्थानीय कालिगढ व्यवसायीले भने बमोजिमको सुनमा मिसावट नदर्गा सेवासुविधा तथा ज्यालामा समेत कटौति गर्ने गरेको अध्यक्ष ठाकुरको भनाइ छ । व्यवसायीले जर्ति र रसायनको बहाना बनाएर उपभोक्तालाई एक तोला सुनमा कम्तिमा ५ हजारभन्दा बढी रकम ठगी गर्दै आएको उनको दावी छ । जनकपुरमा ३ सय ५० जनाभन्दा बढि कार्यरत कालिगढ मध्ये अधिकांश भारतको कलकता र बंगलादेशी छन् । र यीहरुलाई जनकपुरका सुनचाँदी व्यवसायीले विभिन्न प्रलोभन तथा ज्यालामा बढोतरी गरेर सुनमा मिसावट गर्दै आएको सुनचाँदी कालिगढ संघका सचिव विजय कुमार ठाकुरले बताए । सम्बन्धित निकायले चासो नदिदां सुनमा मिसावट तथा व्यवासयीको संलग्नामा दैनिक लाखौं रकम ठग्ने गरेका छन्, ठाकुरले भने ।
तर सुनचाँदी व्यवसायीसङ्घ धनुषाका अध्यक्ष अमरनाथ गुप्ताले सुनको मिसावट सम्बन्धमा कुनै जानकारी नरहेको बताउंदै जनकपुरमा भारतको कलकता र बंगलादेशी कालिगढ कार्यरत रहेको स्वीकारेका छन् । सुनचाँदी व्यवसायी सङ्घ धनुषाका अनुसार जनपकुरमा दैनिक दुई सय तोला सुनको कारोबार हुने गरेको छ । तर पछिल्लो एक वर्षदेखि जनकपुरका बैङ्कबाट एक तोला पनि सुनको कारोबार नभएको अध्यक्ष गुप्ताले बताए । यसले गर्दा जनकपुरमा चोरीपैठारीबाट आएको सुनोको कारोबार फस्टाएको देखिन्छ । जनकपुरका सुनचाँदी व्यवसायीले काठमाडौंमा निर्धारण गरिएको प्रतितोला सुनको मूल्यभन्दा तीन हजार बढी मूल्य कायम गरी वर्षौदेखि बेच्दै आएका छन् । जनकपुरस्थित गुणस्तर तथा नापतौल कार्यालयले हालसम्म एकपटक पनि सुनपसलमा छापामारी र गुणस्तर परीक्षण गर्न नसक्दा उपभोक्ता मारमा परेको कालिगढ व्यवसायी सङ्घको भनाइ छ ।
