दिल्लीमा आम आदमी पार्टीको अप्रत्याशित जित: ७० मध्ये ६७ सिटमा आपको जित

Share:

नयाँ दिल्ली, माघ २७ –अरबिन्द केजरिवाल नेतृत्वको आम आदमी पार्टी(आप)ले दिल्ली विधानसभा निर्वाचनमा अप्रत्यासित जित हासिल गरेको छ । ७० सिटमध्ये ६७ सिट आपले जितेको छ । आपले दुई तिहाईभन्दा बढी सिट जितेको छ । केन्द्रीय सरकारमा सत्तारुढ भारतीय जनता पार्टीले ३ सिट मात्र जितेकेा छ । यसअघि लामो समय दिल्लीमा शासन गरेको कांग्रेस आईले एक सिट पनि जित्न सकेन ।

यस्तो छ ७० सिटको मत परिणाम:
– आम आदमी पार्टी (आप)- ६७ स्थानमा (जित)
– भारतीय जनता पार्टी (बीजेपी)- ३(जित)
– कांग्रेस आई- ०
– अन्यः ०

दिल्ली विधानसभाको चुनावी परिणाम आउँदै गर्दा मंगलबार आम आद्मी पार्टी (आप) का अध्यक्ष अरविन्द केजरीवाल आफ्नै निवासमा समर्थकलाई सम्बोधन गर्दै थिए– यति धेरै बहुमतले डर लागिरहेको छ। अब अहंकार त्यागेर काम गर्ने बेला आएको छ। केजरीवाल समर्थकलाई जितमा नमात्तिन आग्रह गर्दै थिए। पोहोर यति नै बेला दिल्लीमा तनाव थियो। मुख्यमन्त्री केजरीवाल आफूलाई ‘एर्नाकिस्ट’ घोषणा गर्दै सडकमा पुगेका थिए। केजरीवाललाई रोक्न केन्द्र सरकारलाई हम्मेहम्मे भएको थियो।

तर स्पष्ट बहुमत नभएकाले केजरीवालको केही सीप चलेन। मुख्यमन्त्री भएको ४९ औं दिनमै केजरीवालले राजीनामा दिए। विधानसभा भंग भयो। दिल्लीमा राष्ट्रपतीय शासन लाग्यो।  ठ्याक्कै एक वर्षपछि दिल्ली फेरि केजरीवालमय भएको छ। विधानसभाका ७० सिटमध्ये ६७ सिटमा आम आद्‌मी पार्टीले जित हासिल गरेको छ। भाजपा ३१ सिटबाट ३ सिटमा खुम्चिएको छ। कंग्रेसले खातै खोल्न सकेन।

केजरीवाल अब शक्तिशाली मुख्यमन्त्री बन्ने छन्। गत वर्ष १४ फेब्रुअरीमा राजीनामा दिएका उनले ठ्याक्कै एक वर्षपछि सोही दिन मुख्यमन्त्रीको सपथ लिने भएका छन्।
तर केजरीवालको चर्चा पोहोरको भन्दा यो वर्ष बढी छ, किनकी पोहोर उनको चुनाव चिह्न झाडुले कंग्रेस पार्टीलाई दिल्लीबाट बढारेको थियो। अहिले ‘स्वच्छ भारत अभियान’ चलाउन झाडु नै बोकेका प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई आपको झाडुले शानदार तरिकाले हराइदिएको छ।

एक वर्षअघि केजरीवालले राजीनामा दिँदा किन राजिनामा गरेको होला? सत्तामा बसेको बेला काम गर्नुपर्ने भन्दै केजरीवालमा राजनीतिक परिपक्वता नै नभएको जस्ता टिप्पणी आएका थिए। तर, एक वर्षको अवधिमा उनले आफूलाई पुनः अब्बल साबित गरेका छन्। दिल्लीको राजनीतिमा ‘कमन म्यान’को वर्चश्व स्थापित भएको छ।

हिन्दुस्तान टाइम्स्‌ले दिल्ली विधानसभामा आपको जितले अब आम आदमी पार्टी दिल्लीमा मात्र होइन, पुरै भारतमा भारतीय जनता पार्टीको प्रतिपक्षका रूपमा कंग्रेसको विकल्प बन्न सक्ने उल्लेख गरेको छ। केजरीवालको लहर आउनुका पछाडि उनको व्यक्तित्व र भाजपाको कमजोरीभन्दा आपले उठाएका पानी, बिजुलीलगायत सर्वसाधारणका मुद्दा कारण भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

सन् २०१३ को दिल्ली विधानसभाको चुनावमा १५ वर्षदेखि शासन गरिरहेको कंग्रेसलाई हराएर एकाएक चर्चामा आएको आपका अध्यक्ष केजरीवाल त्यसअघि अधिकारको आन्दोलनमा होमिएका थिए। अन्ना हजारे, किरण वेदी (हाल भाजपाबाट मुख्यमन्त्रीकी दाबेदार, आप उम्मेदवारसँग पराजित)सहितको केजरीवालको समूहले सन् २०११ मा दिल्लीमा जनलोकपाल विधेयक माग्दै चलाएको आन्दोलनले धेरै चर्चा र जनसमर्थन पाएको थियो।

तर, त्यतिबेला केन्द्रमा सरकार चलाइरहेको कंग्रेसले विधेयक कुनै आन्दोलनका आधारमा नभई जनताले चुनेका प्रतिनिधिले बनाउने जवाफ फर्काएको थियो। त्यसपछि केजरीवाल आफूले चाहे अनुसारको परिवर्तन गर्न राजनीतिमा होमिने निष्कर्षमा पुगेका थिए। उनको यो निर्णयमा अन्ना हजारे असहमत थिए। त्यसका बावजुद केजरीवालले सन् २०१२ को नोभेम्बरमा आम आद्‌मी पार्टी स्थापना गरे। २०१३ को मार्चमा वैधानिक रुपमा पार्टी निर्वाचन आयोगमा दर्ता भयो।

सन् २०१३ को दिल्ली विधानसभा चुनावमा ७० मध्ये २८ सिट जितेर आप र अरविन्द केजरीवाल दिल्लीको राजनीतिमा ‘अल्टरनेटिभ’ शक्तिका रुपमा स्थापित भए। त्यतिबेला १५ वर्षदेखि दिल्लीमा शासन गरिरहेको कंग्रेस ८ सिटमा खुम्चियो। भारतीय जनता पार्टीले ३१ सिट पायो। तर, कंग्रेसले केजरीवाललाई समर्थन गरेपछि २८ डिसेम्बर २०१३ मा केजरीवाल दिल्लीका मुख्यमन्त्री बने।

त्यसपछि उनी दिल्लीमा सुधार गर्न प्रयत्नरत भए। तर अल्पमत भएकाले आफ्ना योजना सफल हुन नसकेको ठहर गर्दै उनले ४९ औं दिनमा पद त्यागे। त्यसपछि उनी भारतीय जनता पार्टीका प्रधानमन्त्रीका उम्मेदवार नरेन्द्र मोदीविरुद्ध लोकसभाको चुनावमा उभिए। तर पराजित भए। लोकसभा अहिले आम आद्‌मी पार्टीको ५४३ सिटमध्ये ४ सिट मात्र छ। त्यतिबेला भाजपाका कतिपय नेताले आपलाई ४ जनाको पार्टीको संज्ञा दिएका थिए।अहिले परिस्थिति फेरिएको छ, भाजपा दिल्ली विधानसभामा ३ सिटमा खुम्चिएको छ।

त्यसो त लोकतान्त्रिक व्यवस्थामा एकपटकको निर्वाचन मात्रै सधैंको जनादेश भन्न मिल्दैन। तरल मतादेश परिवर्तन हुन सक्छ। त्यसैले भारतीय पत्रकार तथा विश्लेषक विनोद मेहताले टि्वटरमा अरविन्द केजरीवाल लक्षित गर्दै भनेका छन्– जनता जब देती है तो छप्पड फाडके देती है, जब लेती है तो थप्पड मारके लेती है। केजरीवाल ध्यान रखे यह कहावत सभी पार्टीयों पर लागु होती है। केजरीवालले विजयलाई अहंकारका रुपमा लिन नहुने बताएका छन्।

कतिपयले नयाँदिल्लीमा आपको विजयलाई भारतमा मोदी लहरको हारका रूपमा विश्लेषण गरेका छन्। कतिले किरण वेदीजस्ता अवसरवादीले हार्नुलाई नैतिकताको जितका रुपमा अर्थ्याएका छन्। मोदी स्वयंले भने केजरीवाललाई बधाइ दिँदै दिल्लीको विकासका लागि सँगैसँगै अगाडि बढ्नु पर्ने बताएका छन्।

हरियाणामा जन्मेका ४६ वर्षीय केजरीवालले मेकानिकल इन्जिनियर पढेका हुन्। आन्दोलनमा आउनुअघि उनी कर अधिकृत थिए। उनले रोमन म्यागासेस पुरस्कार पनि पाएका छन्। (एजेन्सीको सहयोगमा)

केजरीवाललाई प्रधानमन्त्री मोदीको बधाई

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आम आदमी पार्टीका प्रमुख अरबिन्द केजरीवाललाई बधाई दिनुभएको छ । आम आदमी पार्टीले प्रचण्ड बहुमत हासिल गरी नयाँ दिल्लीमा सरकार गठन गर्ने स्पष्ट भएपछि उहाँले केजरीवाललाई फोन गरी बधाई दिनुभएको बताइएको छ । भारतीय टेलिभिजनहरुले सो समाचार प्रशारण गरिरहेका छन् । प्रधानमन्त्री मोदीले आम आदमी पार्टीको अचम्मको प्रभावकारिता रहेको भन्दै बधाई दिनुभएको जानकारी दिइएको छ ।

साथै उहाँले देशको राजधानी नयाँ दिल्लीमा सरकार निर्माणका लागि आवश्यक सबै सहयोग गर्न आफु र भारतीय सरकार तयार रहेको जानकारी पनि सो अवसरमा दिनुभएको थियो ।

– रासस र भारतीय सञ्चार माध्यमको सहयोगमा

 

कमेन्ट गर्नुहोस्
Share: