थ्रीस्टार सेमिफाइनलमा, झापा २–० ले पराजित

Share:

रञ्जन अधिकारी पोखरा, माघ २७ / थ्रीस्टार क्लब पोखरामा जारी आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको मंगलबार भएको तेस्रो क्वार्टरफाइनलमा झापा–११ लाई २–० ले हराउँदै थ्रीस्टारले अन्तिम चारमा ठाउँ पक्का गरेको हो ।

10984070_410809689083952_7157347926716375088_n

थ्रीस्टारको जितमा विजय गुरुङ र सन्तोष साहुखलले एक–एक गोल गरे । खेलको २८ औं मिनेटमा जगजीत श्रेष्ठको कर्नर प्रहारमा विजयले टोलीलाई अग्रता दिलाएका हुन् । खेलको ६८ औं मिनेटमा दिलेन लोक्तानले सन्तोष साहुखललाई फल गरेपछि पाएको पेनाल्टी अवसरमा साहुखलले नै गोल गरेका हुन् ।

उपाधिदाबेदार थ्रीस्टारले सीधै क्वार्टरफाइनलमा प्रवेश पाएको थियो भने प्रिक्वार्टरफाइनलमा जगदम्बा लुम्बिनी फुटबल क्लब लाई ४ –० ले पाखा लगाउँदै झापाले थ्रीस्टारविरुद्धको भिडन्त तय गरेको थियो । अब थ्रीस्टारले फाईनल प्रवेशका लागि पुलिससँग खेल्नेछ ।

गत माघ ३ गते पोखरामा भएको मनकामना पोखरा कपको फाईनलमा पुलिससँग थ्रीस्टार सडेन डेथमा पराजित भएको थियो । केहि दिन अघि ईलाममा भएको माईभ्याली कपमा पनि थ्रीस्टार सडेन डेथमै अर्को विभागीय टिम आर्मीसँग पराजित भएको थियो । तीन हप्ता बीचमा थ्रीस्टार दुई पटक फाईन पुगेर पनि उपाधि विमुख बन्यो ।

यसअघिका खेलहरुमा विजयी हुँदै नेपाल पुलिस क्लब र सुदूरपश्चिमान्चल फुटबल क्लब कैलालीले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा बुधबार दाबेदारहरु मनाङ–मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । विजेताले फाईनल प्रवेशका लागि सुदुरपश्चिमाञ्चलसँग दोस्रो सेमिफाईनल खेल्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: