
लक्ष्मीप्रसाद सापकोटा पर्वत २७ माघ / पर्वतका बिभिन्न गाविसमा रहेका सामुदायिक वनमा आवद्ध किसानहरुलाई लक्षित गरि आयोजना गरेको व्यवसायिक तरकारी तथा च्याउ खेती तालिम मंगलबार सम्पन्न भएको छ ।
बहुसरोकारवाला वन कार्यक्रम र लि–वर्डको आर्थिक सहयोगमा राष्ट्रिय सामाजिक तथा शैक्षिक विकास संस्था नेष्डो नेपालले तालिमको आयोजना गरेको थियो । जिल्लाका बाजुङ, तथा कुश्मा नगरपालिका समेत गरि च्याउ खेतीमा ३० जना र तरकारी खेतीमा ३० जना गरि ६० जना किसानहरुको सहभागिता रहेको थियो । तालिममा जिल्ला कृषि विकास कार्यालय पर्वतका बागबानी विकास अधिकृत अजय अधिकारीले तरकारी बालीमा रासायनिक मल र प्राङ्गारिक मल प्रयोग गर्दाका भिन्नता, गाईबस्तुको पिसाव र गोबरको उपयोगिता, कम्पोष्ट मलको उपयोगिता लगायतका बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै च्याउ खेती तालिममा लि–वर्डका पर्वत प्रतिनिधि हेम गुरुङले च्याउ खेतीबारे प्रशिक्षण दिनुभएको थियो ।
दुई दिन सम्म सञ्चालन भएको तालिमका अवसरमा करेसाबारीमा आफूलाई खानका लागि मात्रै थोरै मात्रामा तरकारी खेती गर्दै आईरहेका किसानहरुलाई तरकारी र च्याउको खेती गरि व्यवसायिक बन्न मद्धत पुग्ने बताईएको छ । जिल्लाका न्यून आय भएका किसानहरुलाई लक्षित गरेर आर्थिक स्तर उकास्ने उद्धेश्यले व्यवसायिक तरकारी र च्याउ खेती तालिम सञ्चालन गरिएको नेष्डो नेपालका कार्यक्रम व्यवस्थापक उत्तम अधिकारीले बताउनुभयो । तालिम समापनका अवसरमा बोल्दै अधिकारीले प्रत्येक उद्यमीहरु व्यवसायिक बनि जिविकोपार्जन र आम्दानी गर्न तालिमले मद्धत पुग्ने बताउनुभयो । उहाँले लघुबित्त कार्यक्र मार्फत आवश्यकता अनुसार कर्जा समेत उपलव्ध गराउँदै जाने बताउनुभएको थियो । समापन कार्यक्रमको सञ्चालन स्थानीय स्रोत व्यक्ति कामना रेग्मीले गर्नुभएको थियो । आफूहरुले गर्ने परम्परागत खेतीमा सुधार ल्याई आधुनिक खेती प्रणालीबाट व्यवसायिक बन्न प्रेरणा मिलेको तालिममा सहभागि किसानहरुले बताएका छन् ।
