ल्यारक्याल प्रकरण : ल्यारक्याल भन्छन् – अब माओवादीलाई सुधार्छु, ल्यारक्याल विज्ञ व्यक्ति हुन्ः एमाओवादी

Share:

काठमाडौं, २८ माघ एमाओवादीको कोटामा ल्हारक्याल लामा सभासदमा नियुक्त भएपछि एमाओवादी भित्रै विवाद चर्किएको छ । पार्टी नेतृत्वको नियर्णप्रति एमाओवादीका दुई नेताहरुले सार्वजनिक रुपमै विरोध जनाउनुका साथै केन्द्रीय कमिटिलाई झुक्याएको आरोप लगाएका छन् ।

लामालाई सभासद बनाएकोमा पछिल्लो पटक स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले असन्तुष्टि जनाए । गृह जिल्ला बाग्लुङमा बुधबार भएको कार्यक्रममा पौडेलले लामालाई सभासद् बनाउन पार्टीमा कुनै छलफलसमेत नभएको बताउँदै असन्तुष्टि प्रकट गरे । उनले नेताहरु राजधानी बाहिर प्रशिक्षणमा रहेको बेला झुक्याएर यस्तो निर्णय भएको जनाउँदै विरोध गरे ।

यस्तै मंगलबार एमाओवादीका सभासद प्रभु साहले लामालाई सभासद नियुक्त गरिएकोमा आपत्ति जनाएका थिए । साहले केन्द्रीय समितिको फर्जि हस्ताक्षर गरेर सिफारिस गरिएको गम्भिर आरोप लगाएका थिए । उनले मधेशी दलीतको कोटा खोसेर मालदार तथा विवादास्पद ब्यक्तिलाई सिफारिस गरिएकोमा पार्टीले छलछामपूर्ण र भद्दा निर्णय गरेको आरोप लगाए थिए ।

यसअघि एमाओवादी प्रवक्ता दीनानाथ शर्माले मंगलबार प्रेश विज्ञप्ति जारी गर्दै लामाको बचाउ गरे । शर्माले अर्थराज्यमन्त्री बनाएको बेला पार्सपोर्ट विवाद भएको तर पछि त्यसबारे भएको छनविनले सफाई दिइसकेकोले विवाद नगर्न आग्रह गरेका थिए । साथै समानुपातिक उम्मेदवारमा जनजाति तथा बौद्ध समुदायको तर्फबाट विज्ञ व्यक्तित्वको हैसियतमा लामालाई पार्टीले सिफरिश गरेको भनि शर्माले स्पष्टीकरण दिएका थिए ।

वरिष्ठ नेता बाबुराम भट्टराईले पनि लामाको नियुक्तलाई बचाउ गरे । उनले समाजिक सञ्जाल ट्वीटरमा ‘ संविधानसभाकै अपहरण्ँ गरेर ०४७ को संविधान नया गाता सहित जारी गर्ने प्रतिगामी हर्कतभन्दा ठुलो हो त? कागको पछि नदौडौं ’ भन्दै ट्वीट गरेका थिए । यसअघि निर्वाचन आयोगले आइतबार प्रेश विज्ञप्ति जारी गर्दै लामालाई एमाओवादीको सिफारिशमा सभासदमा नियुक्त गरेको थियो । शम्भु पासवान हजारी राष्ट्रिय दलित आयोगको सदस्य पदमा वाहाल रहेको अवस्थामा सभासद चयन भएपछि उनको पद रद्द थियो । उक्त रिक्त स्थानमा भएपछि माओवादीले लामालाई सिफारिश गरेको थियो ।

तीन वर्षअघि एमाले कोटामा अर्थ राज्यमन्त्री बनेका लामामाथि विभिन्न आरोप लागेको थियो । विवादमा परेपछि उनले पदबाट राजीनामा दिएका थिए । लामामाथि नेपालसहित विभिन्न तीन देशको नागरिकता लिएको तथा स्वतन्त्र तिब्बत आन्दोलनमा सहभागी भएको आरोप लागेपछि छानविन आयोग गठन भएको थियो ।

छानविन आयोगले लामालाई सफाइ दिएपनि सत्यतथ्य प्रतिवेदन बाहिर ल्याउन नसकेको आरोप लाग्दै आएको छ । छानविन आयोगलाई परराष्ट्र मन्त्रालयले आवश्यक प्रमाण दिन आनाकानी गरेपछि लामामाथि लागेको आरोप पुष्टि हुन नसकेको बताइएको छ । आफूमाथि आरोप लाग्दा पनि चुप बसेपछि एमालेसँग रुष्ट बनेका लामा संविधानसभा निर्वाचन ताका एमाओवादीमा प्रवेश गरेका थिए । त्यसयता लामा एमाओवादी अध्यक्ष प्रचण्डसँग नजिक छन् ।

ल्यारक्याल भन्छन् – अब माओवादीलाई सुधार्छु  ‘केपी कमरेड मेरो आदरणीय नेता हो’

एमाओवादीबाट सभासदमा मनोनित ल्यारक्याल लामाले अब एमाओवादीलाई आन्दोलनमा जान नदिने र वार्तामा ल्याउने बताएका छन् । आफूले माओवादीलाई सुधारेर शान्तिको बाटोमा ल्याउने उनले बताएका छन् । ‘अब म एमाओवादीलाई पनि सन्तुलित गर्छु, हामीले जहिले पनि आन्दोलनको कुरा गर्न हुँदैन,’ ल्यारक्यालले  भने,’अब म एमाओवादीलाई आन्दोलन र मारकाटबाट शान्तिमा ल्याउन प्रयास गर्छु ।’

एमाओवादीका केही नेताबाट आफ्नो विरोध भइरहँदा एमाले नेताहरुलाई सम्झेको बताउँदै ल्यारक्यालले केपी ओली आदरणीय नेता भएको बताए । प्रचण्डलाई आफूले एक कौडी पनि पैसा नदिएको बताउने ल्यारक्यालले एमाले र एमाओवादी मिल्नुपर्ने बताए ।

ल्यारक्यालको भिडियो : ‘प्रचण्डले अशोक स्तम्भ बेचेर खान सक्छ’

तीनवर्ष अघि एमाओवादी अध्यक्ष प्रचण्ड लुम्बिनीको विकासका लागि एशिया प्यासिफिक एक्स्चेञ्ज एण्ड को-अपरेशन फाउन्डेसन (एपेक) को उपाध्यक्ष थिए ।त्यसबेला प्रचण्ड लुम्बिनीमा अन्तरराष्ट्रिय लगानी भित्र्याउन जोडतोड गरिरहेका थिए । तर, त्यहीबेला सभासद ल्यारक्याल लामाचाँहि भन्दै थिए- ‘प्रचण्डले अशोकको पिल्लर बेचेर खान्छ कि भन्ने मलाई डर लागेको छ ।’

बीबीसी साझा सवालका लागि लुम्बिनीमै खिचिएको भिडियोमा ल्यारक्यालले प्रचण्डमाथि यस्तो गम्भीर आरोप लगाएका हुन् । साझा सवालको २१६ औं श्रृंखलाको यो भिडियो अहिले पनि युट्युबमा मज्जाले हेर्न र सुन्न सकिन्छ ।

अशोक स्तम्भ बेचेर खान्छ भनिएका प्रचण्डले तिनै ल्यारक्याललाई यतिबेला सभासद बनाइदिएका छन् । अहिलेचाँहि उनै ल्यारक्याल भन्दैछन्- ‘प्रचण्डले हामीजस्ता उत्पीडित जनजातिलाई माथि उठाउने रहेछन् ।’

ल्यारक्याल विज्ञ व्यक्ति हुन्ः एमाओवादी

विवादित ब्यक्तिलाई सभासद् भएको भन्दै सवर्त्र आलोचना हुन थालेपछि एकीकृत नेकपा माओवादीले सभासद ल्यारकाल लामाको बचाउ गरेको छ । पार्टी प्रवक्ता दीनानाथ शर्माले मंगलवार विज्ञप्ति जारी गर्दै लामा विज्ञ ब्यक्ति भएकाले सभासदमा सिफारिस गरिएको जनाएका छन् ।

dinanath-press-relese

एमाले पार्टीबाट अर्थ राज्य मन्त्री बनाएको बेला पासपोर्ट विवाद भए पनि राज्यको तर्फबाट भएको छानबिनबाट सफाइ पाइसकेको प्रवक्ता शर्माले प्रष्ट्याएका छन् ।  दोस्रो संविधानसभाअघि एमाले छाडेर एकीकृत माओवादीमा प्रवेश गरेका लामालाई जनजाति तथा बौद्ध समूदायको तर्फबाट दोस्रो संविधानसभाको समानुपातिक निर्वाचनमा उम्मेदवार बनाएको र हाल रिक्त रहेको पदमा सिफारिस गरिएको शर्माले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सामाजिक सञ्जालहरुमा एमाओवादीले सभासद बनाएको भन्दै आलोचनाहरु भएपछि एमाओवादीले विज्ञप्ति नै जारी गरि आलोचना नगर्न आग्रह गरेको हो ।
एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भएको बेला लामालाई अर्थराज्यमन्त्री बनाइएको थियो । लामालाई सभासद बनाएपछि एकीकृत माओवादी पार्टी भित्रै पनि विवाद चर्किएको छ ।

कमेन्ट गर्नुहोस्
Share: