सृजना बैंकिङ कार्यक्रमको अर्ध वार्षिक समिक्षा गोष्ठी एवं स्वमुल्यांकन कार्यक्रम

Share:

रञ्जन अधिकारी पोखरा, २९ माघ / सृजनाको लघुबित्तिय आधार, सशक्तिकरण र स्वरोजगारीको पूर्वाधार उद्घोषका साथ सृजना विकास केन्द्र, पोखराले सञ्चालन गरेको सृजना बैंकिङ कार्यक्रमको अर्ध वार्षिक समिक्षा गोष्ठी एवं स्वमुल्यांकन कार्यक्रम विहीबार सम्पन्न भएको छ ।

केन्द अन्तर्गतका विभिन्न शाखाका कर्मचारीलाई पोखरा आमन्त्रण गरी चारदिन सम्म विविध कार्यक्रम आयोजना गरी कार्यक्रम सम्पन्न भएको केन्द्रका अध्यक्ष राजु पौडेलले जानकारी दिए । माघ २६ र २७ गते नेतृत्व विकास सम्बन्धी र सम्बन्धमा सुमधुरता कायम गर्ने समबन्धी तालिम दिर्ईएको थियो । नेशनल ईन्स्टिच्युट फर लिडरशीप डेभलपमेन्टका विकलप्रसाद शेरचन र उषा मल्ल सिंहले नेतृत्व क्षमता विकास सम्बन्धी तालिम प्रदान गरेका थिए भने ब्रह्माकुमारी ईश्वरीय विश्वविदालयकी सुधा दिदी र रमा दिदीले कसरी सम्बन्ध सुधार गर्ने भन्ने विषयमा सहजीकरण गरेकी थिईन् । तालिममा १६ कार्यालयमा कार्यरत कर्मचारीको सहभागिता रहेको थियो ।

सृजना बैंकिङ कार्यक्रम कास्की सहित तनहुँ, लमजुङ र गोरखामा गरी १६ कार्यालयबाट सेवा प्रदान हुँदै आएको कार्यक्रमका कार्यकारी प्रमुख वीरबहादुर अधिकारीले जानकारी दिए । यस कार्यक्रमबाट २१ हजार महिला लाभान्वित भएको उनको भनाई छ।

माघ २६ गते बुधबार बैंकिङ कार्यक्रमको अर्ध वार्षिक समिक्षा गोष्ठी भयो भने विहीबार स्वमूल्यांकनका साथै समापन गरिएको हो । समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक पोखराका उपनिर्देशक दुर्गाबहादुर शाह बाबा रहेका थिए ।

उनले ग्रामीण क्षेत्रमा रहेका निम्न स्तरका समुदायलाई लक्षित गरी कानुनसम्मत ढंगले राष्ट्र बैंकको नियमानुसार नै लघुवित्त कार्यक्रम संचालन भईरहेकोमा खुशी व्यक्त गर्दै अबको समय आर्थिक क्रान्तिको नै भएको बताए । उनले कार्यरत कर्मचारीहरुलाई अनुशाषित रुपमा काम गर्न सुझाव दिए कामको मुल्यांकन भोलि हुने भएकाले हतोत्साही नबनीकन जतिसुकै विकट ठाउँमा भएपनि दुःखसुखले काम गर्न आग्रह गरे ।

जनप्रिय क्याम्पसका प्रमुख विरञ्जी गौतमले जनप्रिय आज पश्चिमाञ्चलकै प्रम्ुख एक क्याम्पस हुनु र देशभरमै उत्कृष्ट नतिजा ल्याउने सामुदायिक क्याम्पस हुनुको जस सृजना विकास केन्द्रलाई पनि जाने बताए ।

राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेष्डो) नेपालका कार्यकारी प्रमुख विश्वप्रकाश प्रसाईंले लघुवित्त अभियान लिएर एकै डुंगामा यात्रारत नेष्डो र सृजना विकास केन्द्र सहकर्मी भएर अघि बढिरहेको जनाउँदै घरघर पुगेर विना धितो कर्जा उपलब्ध, बढि ब्याज प्रदान गरेकोमा आज वित्तिय संस्थाहरुको भिडमा गर्व गर्न लायक काम गरेको बताए । निम्न स्तरका महिलाहरु बीचमा रहेर सम्मानित रुपमा काम गर्न पाउँदा खुशीको महसुस हुने उनले सुनाए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका केन्द्रका अध्यक्ष राजु पौडेलले सिर्जना बहिरा विद्यालय, सिर्जना खानेपानी लगायतका विभिन्न योजनामध्ये सिर्जना विकास केन्द्र जिल्ला जिल्लामा केन्द्रलाई चिनाउन सकेको एउटा अभियान रहेको बताउँदै आज यो अवस्थामा आईपुग्दा खुशी लागेको बताए ।

कार्यक्रमका कार्यकारी प्रमुख वीरबहादुर अधिकारीले सबै कर्मचारीको साथ सहयोगले नै बैंकिङ कार्यक्रम गाउँ गाउँ पुग्न सकेको बताए ।

कार्यक्रममा प्रशिक्षक विकल शेरचन, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी शोभा दिदी, सहभागी कर्मचारीहरु ढुण्डराज पौडेल र रचना श्रेष्ठले बोलेका थिए । कार्यक्रममा सहभागीहरुले गीत, कविता, नाटक पनि प्रस्तुत गरेको लेखापाल उमेश खिचाजुले जानकारी दिए । कार्यक्रमको सञ्चालन आन्तरिक लेखा परीक्षक धर्मदत्त आचार्यले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: