
रेम बिक पोखरा, १ फागुन । नेपाल आउन लागेका बलिउड सुपरस्टार नायक शाहरुख खानसँगै पाँचौ सँस्करणका विग आईकन विजेता कुन्साङ गुरुङले पनि स्टेज शेयर गर्ने भएका छन् । फागुन २४ गते काठमाण्डौको तारे होटलमा हुने एक विशेष कार्यक्रममा उनले शाहरुखसँगै स्टेज शेयर गर्नेछन् ।
‘कान्साई नेरोल्याक पेन्ट्स’ले काठमाण्डौमा आयोजना गर्ने भव्य कार्यक्रममा शाहरुख खान प्रमुख अतिथीको रुपमा आउँदैछन् । शाहरुख खानले आफ्नो प्रस्तुती राख्ने त्यहि कार्यक्रममा कुन्साङले आफ्नो साँगीतिक प्रस्तुती दिने कुरालाई विग एफएमले पुष्टी गरेको छ ।
पाँचौ सँस्करणको विग आईकनको प्रायोजक मध्ये एक ‘कान्साई नेरोल्याक पेन्ट्स’ले विग आईकनको लागि शाहरुखसँगै स्टेज शेयर गर्ने व्यवस्था मिलाएको हो । पेन्ट्सका कन्ट्री हेड सत्यप्रकाशले पाँचौ सँस्करणको विग आईकनको ग्राण्ड फिनालेमा विग आईकनलाई शाहरुखसँगै स्टेज शेयर गराउने घोषणा गरेका थिए ।
‘कान्साई नेरोल्याक पेन्ट्स’को नेपाल स्थित मुख्य कार्यालयले मार्च ८ अर्थात फागुन २४ गते एक विशेष कार्यक्रममा शाहरुखलाई बोलाएको हो । शाहरुख ‘कान्साई नेरोल्याक पेन्ट्स’का ब्राण्ड एम्बेसडर हुन् । नेपालमा अत्याधिक फ्यान फलो भएका शाहरुखलाई केहि विशिष्ट व्यक्तिहरु बाहेक सर्वसाधारणले भने देख्न पाउनु पनि मुश्किलको कुरा रहेको आयोजकले जनाएको छ । सुरक्षाको कारणले शाहरुख आउने कार्यक्रममा सर्वसाधारणको सहज पहुँच नदिईएको उसले बताएको छ ।
विग आईकन कुन्साङसँगै शाहरुख खानसँग नेपालबाट प्रियंका कार्की, अकेशा विष्ट र विल्शनविक्रम राईले पनि स्टेज शेयर गर्ने आयोजकले बताएको छ । शाहरुख खानको सुरक्षा व्यवस्था भारतीय राजदुतावासले गर्ने भएको छ । साहरुख नेपाल आउने चर्चा लामो समयदेखि चलेपनि यो पटक मात्रै उनी आउन लागेका हुन् । उनी नेपालमा जम्माजम्मी २४ घण्टा मात्रै रहने बताईएको छ ।
बताईए अनुसार शाहरुख खान चार्टड गरिएको विमानबाट फागुन २४ गते बिहान ११ बजे नेपाल आउनेछन र बेलुकी कार्यक्रममा सहभागी भएर भोलीपल्ट मुम्बई र्फकनेछन् ।
