
रेम बिक पोखरा, १ फागुन / पोखराको शान्तिबनबाटिकामा शुक्रबारदेखि ‘जंगल फेस्टिभल’ सुरु भएको छ । जंगलमै बस्ने राउटेको समूहले वृक्षरोपण गरेर र फेस्टिभलमा ल्याईएको मुख्य आकर्षण हात्तीले प्रवेशद्वारको रिबन काटेर फेस्टिभलको शुभारम्भ गरेको हो । परिचय नेपालको आयोजना तथा बिग एफएमको प्रस्तुतिमा एक सातासम्म चल्ने ‘भक्सवागन’ जंगल फेस्टिभलको जंगलमा बस्दै आएका लोपोन्मुख जाति राउटेहरुको मुखिया बालकृष्ण शाहिले वृक्षारोपण गरेर उद्घाटन गरेका थिए ।
आयोजकले शुक्रबार बिहान हात्ति र राउटे सहित टाँगा, सर्कस काठमाण्डौँबाट आएका अतिथि टोली सहितलाई ¥यालीमा उतारेको थियो । शान्ति वन वाटिकाबाट शुरु भएको ¥याली पृथ्वीचोक, न्यूरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार हुँदै पुनः शान्ति वनमा पुगेर टुंगिएको थियो । परिचय नेपालका अध्यक्ष सोभित बस्यालले फेस्टिभलका लागि झकिझकाऊ शान्तिवनमा दर्शकहरुलाई ‘जंगली अनुभव’ दिलाउन कुनै कसर बाँकी नराखेको बताए । ‘दर्शकको पर्खाई अब सकिएको छ ।’ उनले भने–‘दर्शकहरुको मनोरञ्जनका लागि यो पटक हामीले जंगलमा धेरै कुराहरुलाई समेटेका छौँ ।’
‘हरियाली सप्ताह’को थिममा आयोजना हुन लागेको फेस्टिभलमा दर्शकहरुले विभिन्न जातजातिका जनावर, चराचुरुङगीहरुको सामिप्यतामा रम्न पाउने आयोजकको दाबी छ । फेस्टिभलमा जंगलमा बस्दै आएको राउटे समुदायका मानिसहरुले उनीहरुको रहनसहन, जीवनशैली प्रदर्शन गर्नेछन् । राउटे जातिकै शैलीमा बनेका घरहरु पनि दर्शकहरुको लागि आकर्षण बन्ने आयोजकले अनुमान लगाएको छ ।
जंगल भित्र प्रत्यक्ष रुपमा अष्ट्रीच, इमु, मुसाका प्रजाति, खरायो, लेकमा पाइने भेडा, चौरी, बाँदरका विभिन्न नयाँ प्रजाति देखि १८ प्रजातिका चरा देख्न पाईने आयोजकले बताएको छ । १६ थरीका जनवार फेस्टिभलमा हेर्न पाईनेछ । त्यस्तै हात्ति सफारी पनि दर्शकहरुको लागि आकर्षण बन्न सक्ने उसको दाबी छ ।
फेस्टिभलमा दर्शकको मनोरञ्जनका लागि ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती सँगै अरु विविध कार्यक्रमहरु हुने आयोजकले बताएको छ । इन्दिरा जोशी, मिलन अमात्य, आकांक्षा बस्याल, तिलकबम बल्ल, सुगम पोखरेल, विनोद बानियाँ, कमल खत्री, योगेशकाजी देखि कन्दरा ब्यान्ड, डि–मर्चा तथा बमबहादुर कार्कीको प्रस्तुती रहने आयोजकले बताएको छ । फेस्टिभलमा विश्वप्रसिद्ध ‘सर्कस काठमाडौ’ ले विभिन्न प्रदर्शन गर्नेछ । यस्तै फेस्टिभलमा जंगलकै थिममा आधारित रहेर मोडलहरु ¥याम्पमा पनि हिँड्दैछन ।
विश्वप्रसिद्धमोटर उत्पादक ‘भक्सवागन’ ब्राण्डले मूख्यप्रायोजन गरेको ईभेन्टलाई पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमले प्रस्तुत गर्न लागेको हो । एएचएलसीको सहकार्यमा हुने ईभेन्टमा नेपाल टेलिकम, नेपाल टुरिज्म बोर्ड र पोखरा उपमहानगरपालिका प्रबद्र्धक रहेका छन् ।

