
पोखरा २ फागुन । परिचय नेपालको आयोजनामा नयाँबजारस्थित शान्ति वन वाटिकामा जारी जंगल फेस्टिभलको दोस्रो दिन करिब १५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन् ।शनिबारको दिन जंगलमा पुगेर फेस्टिभलमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएको प्रतिक्रिया दिएका छन् । विशेषगरि दर्शकहरुले फेशन शो र सर्कस रुचाएको आयोजकले बताएको छ । जंगली थिममा आयोजना भएको फेस्टिभलमा दर्शकहरुले सबैभन्दा बढि याक हेर्न आएका छन् भने गोवाको नरिवल सबैभन्दा बढि विक्रि भएको छ । त्यस्तै हात्ति सफारीमा पनि दर्शकहरु उत्तिकै झुमेका देखिन्थे । खासगरि जंगलमा खेलिने खेलमा पनि बालबालिकाहरु निकै रमाईरहेका थिए ।
राउटे जातिका मानिसहरुसँग फोटो खिच्नेको घुँईचो उस्तै लागेको थियो । जनजातिहरुको डमी घर हेर्नेहरु पनि बाक्लै देखिन्थे । नाचगानसँगै खानपिनमा पनि दर्शकहरु साँझ ८ बजेसम्मै रमाईरहेका थिए । शनिबार लोकगायक बमबहादुर कार्की, हास्य कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, सुलेमान शंकर ईकु लगाएतले दर्शकलाई पेट मिचिमिचि हँसाएका थिए । आकाँक्षा बस्याल पनि कन्सर्टमा आकर्षणको केन्द्र बनिन् ।
‘शनिबार दर्शकहरुको घुँईचो देखेर हामीलाई सफलतातर्फ उन्मुख भएको भान भएको छ ।’ परिचय नेपालका अध्यक्ष सोभित बस्यालले भने–‘अझै दर्शकहरुको साथ यस्तै रहोस् ।’ जंगल फेस्टिभल दर्शकहरुका लागि मनोरञ्जनको सम्पूर्ण प्याकेज भएको उनले बताए ।जंगल फेस्टिभलमा आईतबार कमल खत्री, सर्कस काठमाण्डौ, नट्टु शाहसँगै भक्सवेगनको विशेष रमाईलो कार्यक्रम रिदम नाईट हुनेछ । जुन कार्यक्रमका लागि मिस नेपाल सदिक्षा श्रेष्ठ सहितको टोली पोखरा आईपुगेको छ ।
जंगल भित्र प्रत्यक्ष रुपमा अष्ट्रीच, इमु, मुसाका प्रजाति, खरायो, लेकमा पाइने भेडा, चौरी, बाँदरका विभिन्न नयाँ प्रजातिका चरा देख्न पाईने आयोजकले बताएको छ । डाँफे होटलले जंगल भित्र सिस्नोको मःमः विक्रि गर्दै आएको छ भने बाजेको सेकुवामा अष्ट्रिचको विभिन्न परिकारहरु समेत दर्शकहरुले निकै रुचाएका छन् ।विश्वप्रसिद्धमोटर उत्पादक ‘भक्सवागन’ ब्राण्डले मूख्यप्रायोजन गरेको ईभेन्टलाई पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमले प्रस्तुत गरेको हो । एएचएलसीको सहकार्यमा हुने ईभेन्टमा नेपाल टेलिकम, नेपाल टुरिज्म बोर्ड र पोखरा उपमहानगरपालिका प्रबद्र्धक रहेका छन् ।
