जंगल फेस्टिभलमा दर्शकले गरे फरक अनुभूति, अष्ट्रेलियन राजदुत पनि फेस्टिभलमा

Share:

रेम बिक पोखरा, ३ फागुन । सामान्यतया पोखरामा भैरहने मेला महोत्सवभन्दा फरक भएका कारण नयाँबजारस्थित शान्ति वन वाटिकामा जारी जंगल फेस्टिभलमा दर्शकहरुले निकै मनोरञ्जन लिएका छन् । जंगल थिममा आधारित विभिन्न कार्यक्रमसँगै जंगलमै खानपिन, खेलकुद र साँगीतिक मनोरञ्जन लिनेको संख्या दिनानुदिन बाक्लिँदै गएको छ । आईतबार फेस्टिभलमा दर्शकहरुको घुँईचो लाग्यो ।

जंगली जनावर, जंगलमा बस्ने जनजातिसँगको साक्षात्कार, हात्तिमा चढेर जंगल सफारी गर्ने अवसर र जंगलकै थिममा खेलाईने खेलमा दर्शकहरु बढि आकर्षित भैरहेका छन् । तेस्रो दिनसम्म आईपुग्दा करिब ३५ हजार दर्शकले फेस्टिभल अवलोकन गरिसकेको आयोजकले दाबी गरेको छ । परिचय नेपालको आयोजनामा जंगल फेस्टिभल भएको हो ।

“विहान छिरेका दर्शकहरु साँझ पर्दासम्म जंगलबाट निस्कनु पर्दैन ।” परिचय नेपालका अध्यक्ष सोभित बस्यालले भने– “दिनभरी जंगलमा आफुले चाहेको खानपिन, खेलकुद, साँगीतिक प्रस्तुती र वातावरण पाएपछि एक दिन आएका दर्शकहरु झन् दिनदिनै आउन थालेका छन् ।” दर्शकको उपस्थिती र प्रतिक्रिया देख्दा आफुहरु सफल भैसकेको दाबी बस्यालले गरे ।

आईतबार फेस्टिभलमा अष्ट्रेलियन राजदुत ग्लेन ह्वाईटले पनि प्रत्यक्ष अवलोकन गरेका थिए । त्यस्तै आईतबार दर्शकहरुले जादुगर कमलको जादु, सर्कस काठमाण्डौको प्रस्तुती र बि बोईङ नृत्य बढि रुचाए । त्यस्तै कमल खत्री, सन्तोष बस्याल, नट्टु शाहसँगै भक्सवेगनको विशेष रमाईलो कार्यक्रम रिदम नाईट पनि दर्शकले निकै रुचाए । तन्नेरी दर्शकहरु साँझ अबेरसम्म डिजे सेसनमा नाचेका थिए ।

आयोजकले दिएको जानकारी अनुसार सोमबार फेस्टिभलमा विशेष जंगली थिमको फेशन शो हुने भएको छ । त्यस्तै कमल खत्री, योगेश काजी बिसी र विग आईकन मुस्कान रानाभाटको विशेष प्रस्तुती पनि फेस्टिभलमा हुनेछ । काठमाण्डौ सर्कसको प्रस्तुती पनि हुने आयोजकले बताएको छ ।

राउटे जातिहरुसँग प्रत्यक्ष भेटघाट पनि फेस्टिभलमा आएका दर्शकले गर्न पाउनेछन् । जंगल भित्र प्रत्यक्ष रुपमा अष्ट्रीच, इमु, मुसाका प्रजाति, खरायो, लेकमा पाइने भेडा, चौरी, बाँदरका विभिन्न नयाँ प्रजातिका चरा देख्न पाईन्छ । डाँफे होटलले जंगल भित्र सिस्नोको मःमः विक्रि गर्दै आएको छ भने बाजेको सेकुवामा अष्ट्रिचको विभिन्न परिकारहरु समेत दर्शकहरुले निकै रुचाएका छन् ।

विश्वप्रसिद्धमोटर उत्पादक ‘भक्सवागन’ ब्राण्डले मूख्यप्रायोजन गरेको ईभेन्टलाई पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमले प्रस्तुत गरेको हो । एएचएलसीको सहकार्यमा हुने ईभेन्टमा नेपाल टेलिकम, नेपाल टुरिज्म बोर्ड र पोखरा उपमहानगरपालिका प्रबद्र्धक रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: