पोखरामा दुई नयाँ प्रहरी प्रमुख, पोखराको ट्राफिक व्यवस्थापन एक साताभित्र सुधार्न निर्देशन, नत्र सरुवा

Share:

रञ्जन अधिकारी पोखरा, ३ फागुन / ‘पोखराको ट्राफिक समस्याबारे धेरै कुरा आयो । आज मात्रै जिल्ला ट्राफिक प्रमुख सहितको बैठकमा डिआईजी साबले स्पष्ट भन्नुभो– एक हप्ताको समय छ । तपाईंहरु काम गरेर देखाउने भए देखाउनुस्, सक्नुहुन्न भने हात उठाउनुस्, जुन ठाउँ जान चाहनुहुन्छ म सरुवा गर्र्दिन्छु ।’ जिल्ला प्रहरी कार्यालय कास्कीमा हालै प्रमुख भएर पोखरा आएका प्रहरी उपरीक्षक (एसपी) हरिबहादुर पाल पत्रकारमाझ आईतबार दिउँसो यसो भन्दै थिए । साथमा थिए पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय, पोखराका नयाँ प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) पंकज श्रेष्ठ ।

परिचयात्मक कार्यक्रममा पोखराका पत्रकार टोलीले ट्राफिक व्यवस्थापन, पार्किङ समस्या लगायतका तत्काल समाधान गर्नुपर्ने दुई दर्जनजति नागरिकका समस्याबारे जानकारी गराएपछि दुई प्रमुखले एक हप्ताभित्र आम नागरिकले महसुस गर्ने गरी पोखराको ट्राफिक व्यवस्थापनमा परिवर्तन गर्न निर्देशन दिईसकेको बताएका हुन् । पोखराको ट्राफिक व्यवस्थापन र पार्किङ समस्या समाधानमा आवश्यक गृहकार्य गरिने पनि उनीहरुले स्पष्ट पारे । कार्यक्रममा डिआइजि श्रेष्ठले आफू यसअघि पनि ट्राफिक क्षेत्रमा काम गरिसकेकाले कानुन र परिधि भित्र रहेर पोखरालाई व्यवस्थित बनाउन पूर्ण रुपमा क्रियाशील भएर लाग्ने बताए ।

जवाफमा पत्रकारहरुले कास्की जिल्लामा ट्राफिक प्रहरीको संख्या न्युन भएकाले सबै दायित्व यही सीमित ट्राफिक प्रहरीलाई मात्र नथोपरेर उनीहरुको आवासको राम्रो व्यवस्थाका लागि तत्काल ध्यान दिन पनि आग्रह गरे । दिनभर धुलोमा रहने ट्राफिकहरु राति भएपछि वर्षाको समयमा पानीमा रुझ्दै भागी भागी सुत्नुपर्ने बाध्यता रहेकोमा पनि ध्यानाकर्षण गराए । सिटी एरियामा चेकजाँच धेरै हुने गरेपनि हाईवेमा कम भएकोमा यसतर्फ पनि ध्यान जानुपर्ने उनीहरुको भनाई थियो ।

पश्चिम क्षेत्र प्रमुख डिआईजी श्रेष्ठले पत्रकार, नीजि क्षेत्र, विभिन्नि सरकारी तथा गैरसकारी निकाय, आम नागरिकसँग निकट रहेर पश्चिमाञ्चल क्षेत्रकै सुरक्षा अमनचयनमा आफू लागिपर्ने बताए । लागूपद्धार्थ तथा हतियार ओसारपसारमा कडाई, भ्रष्टाचार विरुद्ध अभियान आफ्नो प्राथमिकतामा रहेको उनले खुलाए । ‘फोर डी अर्थात ड्रग्स, डन, डोजर र ड्राईभर यी चार गतिविधिमा प्राथमिकता हो ।’ उनले भने– ‘नागरिकसँग निकट रहेर काम गर्नेछौं ।’

कास्की प्रमुख एसपी पालले अवैधानिक गतिविधि पूर्ण रुपमा बन्द गरिने बताउँदै पोखरामा रहँदा आम नागरिकको साथ पाईने आफूलाई जानकारी प्राप्त भएकाले नागरिक माझ नै रहेर अघि बढ्ने बताए । उनले आफ्नो ठाउँमा जुनसुकै घटना भएमा जिल्ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुम, प्रवक्ता वा आफूलाई प्रत्यक्ष सम्पर्क गर्न सकिने पनि बताए । पोखरामा क्षेत्रमा सुरु भएका नयाँ यौन व्यवसायबारे थप सुचना संकलन गर्ने कार्य भईरहेको भन्दै उनले जिल्ला प्रहरी कार्यालयलाई सुचना मैत्री बनाउन पनि आफू लागि पर्ने बताए ।

4

कार्यक्रममा सहभागि पत्रकारहरुले पोखरामा बढ्दै गएको अपराधिक कृयाकलाप र गुण्डागर्दी प्रवृत्तिको अन्त्य गर्दै अगाडी बढ्न सुभाव दिएका थिए । कास्कीमा साता हतियार बरामद हुने क्रम बढ्दो र डन प्रवृत्ति लेखनाथ क्षेत्रतिर सरेकाले सचेत पनि बनाएका थिए । सुरुमा आउँदा जुन खालको उत्साह देखिन्छ ,त्यही हिसावले काम गर्न पनि दुवै प्रहरी प्रमुखलाई सुझाव थियो ।

कार्यक्रममा सहभागी पत्रकारहरुले फुटपाथ व्यापारीलाई हटाएर अहिले पार्किङ शुल्कको डरले फुटपाथमा सवारी पार्किङ गर्ने गरेको, लखनचोक (पृथ्वीचोक) को एरिया घटाउने सहमतिलाई कार्यान्वयनमा अग्रसर हुन, स्थानीय निकायबीच समन्वय गर्दै काम गर्न, अघिल्लो प्रमुखका योजनाहरुलाई पूरा गर्न पनि आग्रह गरे । यस्तै, लागू औषध ओसारपसारलाई नियन्त्रण गर्न नाका चेकजाँचडमा कडाई गर्न, सीसीटीभी जडान, ट्याक्सी मिटर कार्यान्वयन गर्न, मेलामहोत्सवका नाममा हुने अवैधानिक गतिविधि रोक्न, बागलुङ बसपार्क क्षेत्रबाट उठेको यौन व्यवसाय अन्य क्षेत्रमा भएको जानकारी आएकाले यसतर्फ सोच्न, डन तथा भ्रष्टाचारीहरुलाई नियन्त्रणमा लिन पनि अनुरोध गरेका थिए ।

सवारी चेकजाँचलाई व्यवहारिक बनाउन पनि पत्रकारहरुले आग्रह गरेका थिए । स्वरुप परिवर्तनको नाममा सिट काटेको, प्लाष्टिक नम्बर प्लेट हालेका साना मोटरसाईकललाई कडा कारबाही तर ठूलो आवाजको बुलेट, निकै अग्लो भिआर जस्ता मोटरसाईकललाई कारबाही नभएकोमा गुनासो थियो । पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआईजी पंकज श्रेष्ठ बमबहादुर भण्डारीको स्थानमा र कास्की प्रहरी प्रमुख एसपी हरिबहादुर पाल बसन्त कुमार लामाको स्थानमा आएका हुन् ।

 

कमेन्ट गर्नुहोस्
Share: