
काठमाडौं, फाल्गुन ३ । एक दिवसीय विश्वकप क्रिकेटमा साविक विजेता भारतले विजयी सुरुवात गरेको छ । भारतले चिरपरिचित छिमेकी प्रतिद्धन्द्धी पाकिस्तानलाई ७६ रनले हराएको हो । अष्ट्रेलियाको एड्लेडमा भएको खेलमा तीन सय एक रनको चुनौती पछ्याउने क्रममा पाकिस्तानले ४७ ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनाउन सक्यो ।

कप्तान मिसबाह उल्हकले ७६ रन बनाएको इनिङ्गलाई सस्तैमा समेट्ने क्रममा मोहम्मद सामीले ४ तथा मोहित शर्मा र उमेश यादवले समान २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर तीन सय रन बनायो ।
म्यान अफ द म्याच विराट कोहलीले १ सय ७ रन जोडे भने सुरेश रैनाले ७४ तथा शिखर धवनले ७३ रन बनाए । पाकिस्तानका सोहेल खानले ५ विकेट लिए ।
उता, दक्षिण अफ्रिकाले पनि विजयी सुरुवात गरेको छ । न्यूजिल्याण्डको ह्यामिल्टनमा भएको खेलमा दक्षिण अफ्रिकाले जिम्बाबेलाई ६२ रनले हराएको हो ।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा तीन सय ३९ रन बनायो ।
८३ रन जोड्दा नै ४ विकेट गुमाएको अवस्थामा डेभिड मिलर र जेपी डुमिनीले पाँचौं विकेटका लागि अविजित दुई सय ५६ रनको कीर्तिमानी साझेदारी गरेसंगै दक्षिण अफ्रिकाले सो योगफल जोडेको हो ।
मिलरले ९२ बलमा एक सय ३८ तथा डुमिनीले सय बलमा एक सय १५ रन बनाए । जवाफमा जिम्बावेले दुई सय ७७ रनमात्र बनाउन सक्यो । ह्यामिल्टन मासाकाद्जाले ८० रन बनाएको इनिङ्गमा इम्रान ताहिरले सर्वाधिक ३ विकेट लिए ।
