विराटनगर, फागुन ५ / लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। थ्री स्टार क्लबविरूद्व मंगलबार ३–१ को नतिजा निकालेको हो। आहा गोल्डकप पोखरामा फाइनलमा मनाङ थ्री स्टारसँग १–० ले पराजित भएको थियो। यो जितसँगै उसले आहा गोल्डकपमा भोगेको पराजयको बदला लिएको छ।
थ्री स्टारविरूद्व पहिलो हाफको दुई मिनेटमै मनाङले गोल गरेको थियो। मनाङका दीपक राईले सुरुवात गोल गरे। १–० को स्थितिमा गुजे्रको खेलमा थ्री स्टारले खेलको २४ मिनेटमा बराबरीमा ल्याएको थियो। थ्री स्टारका विष्णु सुनुवारले गोल फर्काएका थिए।
दोस्रो हाफको ३५ मिनेटमा मनाङका शिव श्रेष्ठले अर्को गोल थपेर टिमलाई अग्रता दिलाए। मनाङका विशाल राईले दोस्रो हाफको इन्जुरी समयमा अर्को गोल थपेका थिए। खेल सुरु भएको दुई मिनेटमा मनाङका डोडेजको पासलाई सदुपयोग गर्दै राइले गोल गरेका थिए। त्यसको २४ मिनेटपछि थ्री स्टारका अफ्रिकन खेलाडी गोइको पास सदुपयोग गरी विष्णु सुनुवारले हेड गरेको बल गोलमा परिणत भयो।
मध्यान्तरसम्म १–१ को स्थितिमा रहेको बराबरीमा रहेको दुबै टिमले मध्यान्तरपछि आक्रामक खेल प्रर्दशन गरेका थिए। ८० औं मिनेटमा मनाङका श्रेष्ठले अर्को गोल गरी २–१ को अग्रता दिलाए। तीन मिनेटको इन्जुरी समयको दोस्रो मिनेटमा मनाङका दीपक राईले दिएको पासमा विशाल राईले गरेको डि बक्स छेऊबाट गरेको प्रहार गोलमा परिणत भयो।
खेल अवधिभर दुबै टिमले गोलका लागि प्रयास गरिरहे। १७ औं मिनेटमा थ्री स्टारका रञ्जित धिमालले गरेको प्रहार मनाङका गोलरक्षक विशाल श्रेष्ठले पन्च गरेर बचाए। ३६ औं मिनेटमा मनाङका डोडेज वान भर्सेज वानमा गोल गर्न चुके। ७७ औ मिनेटमा थ्री स्टारका सन्तोष साउखलले गरेको प्रहार पोलमाथिबाट बाहिरियो।
मनाङका दीपक राई म्यानअफ द म्याच भए। उनलाई राष्ट्रिय टोलीका प्रशिक्षक ज्याक स्टोफोनेस्कीले ट्रफी हस्तान्तरण गरेका थिए। बुधाबारको पहिलो सेमिफाइनल खेल झापा–११ झापा र जगदम्बा लुम्बिनी फुटबल क्लब रूपन्देहीबीच हुने छ। मनाङ अब हुने सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबसँग भिड्नेछ।
झापाले यसअघि भएको खेलमा नेपाल पुलिस क्लबमाथि ४–२ गोलको नतिजा निकालेको थियो।
