जनकपुर राष्ट्रिय महिला क्रिकेटको सेमिफाइनलमा

Share:

काठमाडौं, फागुन ५ /समूह चरणमा अपराजित रहँदै क्षेत्र नम्बर ७ जनकपुर राजधानीमा जारी राष्ट्रिय महिला क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।कीर्तिपुर क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले क्षेत्र नम्बर ५ नेपालगन्जलाई १० रनले पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ गर्दै जनकपुरले ३८.५ ओभरमा अलआउट हुँदै १ सय १८ रन बनाएको थियो।

जनकपुरका लागि सरस्वती चौधरीले २८, शोभा आलेले २३, ममता चौधरीले १९ र उर्मिला चौधरीले ११ रन बनाएका थिए। नेपालगन्जकी प्रतिक्षा जिएमले ११ रन खर्चंदै चार विकेट लिएकी थिइन्। १ सय १९ रनको लक्ष्यसहित प्रत्युत्तर ब्याटिङमा उत्रिएको क्षेत्र नम्बर ५ नेपालगन्ज १ सय ८ रनमै समेटियो। नेपालगन्जलाई थोरैमा समेट्ने क्रममा शान्ति चौधरी र ममता चौधरीले ३–३ विकेट लिएका थिए।

आजै पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा भएको खेलमा विराटनगरले काठमाडौंलाई ४३ रनले पराजित गर्‍यो। पहिले ब्याटिङ गरेको विराटनगरले संगीता राईको शानदार ८० रनको मद्दतले निर्धारित ४० ओभरमा ८ विकेट गुमाउँदै दुई सय रनको योगफल बनाएको थियो। विराटनगरका लागि अप्सरी बेगमले ३३, काजोल श्रेष्ठले २६ र सञ्जना बुढाथोकीले २५ रन बनाएकी थिइन्। दुई सय एक रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको काठमाडौं ३८.१ ओभरमा १ सय ५७ रन बनाउँदै अलआउट भएको थियो।

प्रतियोगिताअन्तर्गत भोलि कीर्तिपुर मैदानमा विराटनगर र धनगढीका बीच खेल हुनेछ भने पुल्चोकमा नेपालगन्ज र काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान साढे ९ बजे सुरु हुनेछ।

कमेन्ट गर्नुहोस्
Share: