
पोखरा, ५ फागुन / पोखरा नयाँबजारस्थित शान्ति वन वाटिकामा जारी जंगल फेस्टिभलमा मंगलवार दर्शकहरुको अत्यधिक घुईचो लागेको छ । मंगलवार मात्रै करिव २० हजार दर्शकले फेस्टिभल अवलोकन गरेको परिचय नेपालका प्रमुख शोभित वस्यालले जानकारी दिए ।
मंगलवार विदाको दिन भएकाले पनि दर्शकको संख्या बढेको उनले बताए । फेस्टिभलको पाँचौ दिनसम्म ६० हजार भन्दा बढी दर्शकले मेला अवलोकन गरेको बस्यालले जानकारी दिए ।
सामान्यतया पोखरामा भैरहने मेला महोत्सवभन्दा फरक भएका कारण जंगल फेस्टिभलमा दर्शकहरुले निकै मनोरञ्जन लिएका छन् । जंगल थिममा आधारित विभिन्न कार्यक्रमसँगै जंगलमै खानपिन, खेलकुद र साँगीतिक मनोरञ्जन लिनेको संख्या दिनानुदिन बाक्लिँदै गएको परिचय नेपालका प्रमुख वस्यालको भनाई छ । मंगलवार फेस्टिवलको मुख्य आकर्षणमा थारु डान्स, अपाङ्ग फेसन शो र विमोर्चा र लक्ष्य व्याण्डको प्रस्तुती रहेको छ ।
जंगली जनावर, जंगलमा बस्ने जनजातिसँगको साक्षात्कार, हात्तिमा चढेर जंगल सफारी गर्ने अवसर र जंगलकै थिममा खेलाईने खेलमा दर्शकहरु बढि आकर्षित भैरहेका छन् । आयोजकले दिएको जानकारी अनुसार बुधवार थारु डान्स, कन्दरा व्याण्ड, सुगम पोख्रेलको प्रस्तुती र काठमाण्डौं सकर्ष मुख्य आकर्षण रहने छन् ।
राउटे जातिहरुसँग प्रत्यक्ष भेटघाट पनि फेस्टिभलमा आएका दर्शकले गर्न पाउनेछन् । जंगल भित्र प्रत्यक्ष रुपमा अष्ट्रीच, इमु, मुसाका प्रजाति, खरायो, लेकमा पाइने भेडा, चौरी, बाँदरका विभिन्न नयाँ प्रजातिका चरा देख्न पाईन्छ ।
विश्वप्रसिद्धमोटर उत्पादक ‘भक्सवागन’ ब्राण्डले मूख्यप्रायोजन गरेको ईभेन्टलाई पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमले प्रस्तुत गरेको हो । एएचएलसीको सहकार्यमा हुने ईभेन्टमा नेपाल टेलिकम, नेपाल टुरिज्म बोर्ड र पोखरा उपमहानगरपालिका प्रबद्र्धक रहेका छन् ।
