
चितवन, फागुन ६ – पटिहानीमा भएको पद्मोदय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफले जितेको छ । नेपाल आर्मीलाई प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै एपिएफले उपाधि उचालेको हो । वुधबार भएको फाइनल खेलमा एपिएफले आर्मीलाई जित्न चार सेटसम्म संघर्ष गर्नुपर्यो । उसले आर्मीलाई २५–१९, १५–२५, २५–१६ र २५–१८ को सेटमा पराजित गर्यो ।
त्यस्तै नेपाल प्रहरीले पश्चिमाञ्चललाई पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । सेमिफाइनलमा पराजित टिमबीच तेस्रो स्थानका लागि भएको खेलमा नेपाल प्रहरीले पश्चिमाञ्चललाई २५–२३, २५–१० र २५–१५ को सेटमा सहजरुपमा पराजित गर्यो । उपाधि सहित एपिएफले नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाएको छ । दोस्रो भएको नेपाल आर्मीले एक लाख रुपैयाँ पाएको छ । तेस्रो भएको नेपाल प्रहरीले ५० हजार र चौथो स्थानमा चित्त बुझाएको पश्चिमाञ्चल भलिबल टिमले २५ हजार रुपैयाँ पुरस्कार पाएको छ ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका एपिएफका सुरेश थारु सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । त्यस्तै बेस्ट एट्याकर नेपाल आर्मीका मानबहादुर श्रेष्ठ, बेस्ट ब्लकर एपिएफका महेन्द्र श्रेष्ठ, बेस्ट सेटर नेपाल आर्मीका हरिहजुर थापा, बेस्ट सर्भर नेपाल प्रहरीका ध्रुव पौडेल तथा बेस्ट लिबेरो एपिएफका पुष्पजंग मल्ल घोषित भएका छन् । उनीहरु सबैले समान ५ हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । तीन दिनसम्म चलेको प्रतियोगितामा ८ वटा टिम सहभागी थिए ।
