
पोखरा, ६ फागुन । नयाँबजारस्थित शान्तिवनमा जारी ‘जंगल फेस्टिभल’मा मनोरञ्जनसँगै अध्ययनको लागि आउनेहरुको संख्या बाक्लिँदै गएको छ । जंगलका बोटविरुवा, जनावर र जंगलमा बस्ने जाति राउटेको विषयमा जान्नेहरुको लर्को लाग्ने गरेको आयोजकले बताएको छ ।
जंगलको बारेमा जानकारी दिनका लागि विभिन्न विद्यालयहरुले विद्यार्थीहरुलाई फेस्टिभलमा ल्याउने गरेका छन् । ‘अध्ययनसँगै जंगलको बारेमा जानकारी लिने उद्देश्यले स्कुलका शिक्षक र विद्यार्थीहरु आउने क्रम दिनानुदिन बढ्दै गएको छ ।’ परिचय नेपालका निर्देशक सुरेन्द्रमणि पौडेलले भने–‘मनोरञ्जनसँगै जानकारीमुलक भएका कारण जंगल फेस्टिभलको उचाई निकै माथि पुगेको हामीले अनुमान लगाएका छौँ ।’ बुधबार जंगल फेस्टिभलमा पोखराका ८ वटा स्कुलका विद्यार्थीहरु जंगल, जंगली जनावर र राउटेको बारेमा जानकारी लिन आएका थिए ।
फेस्टिभलमा आएका विद्यार्थीहरुले राउटेहरुसँगै नाचगान समेत गरेका थिए । प्राईम मन्टेश्वरीका बालबालिकाहरु राउटेसँगै मिलेर नाचगान गरेको अन्य दर्शकले पनि औधी मन पराएका थिए । स्कुले बालबालिकाहरुले जंगली जनावरहरु प्रत्यक्ष हेरेर त्यसको बारेमा जानकारी लिएका थिए । त्योसँगै फेस्टिभलमा लोकदोहोरी र सर्कस काठमाण्डौको प्रस्तुती पनि दर्शकले निकै रोचक मानेका थिए ।
साँझ परेसँगै झरी परेपछि बाँकी कार्यक्रमहरु आयोजकले स्थगित गरेको थियो । साँझमा हुने भनिएको जंगली थिमको फेशन शो र सुगम पोखरेलको प्रस्तुती विहिबारको लागि सारिएको आयोजकले बताएको छ ।
विश्वप्रसिद्धमोटर उत्पादक ‘भक्सवागन’ ब्राण्डले मूख्यप्रायोजन गरेको ईभेन्टलाई पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमले प्रस्तुत गरेको हो । एएचएलसीको सहकार्यमा हुने ईभेन्टमा नेपाल टेलिकम, नेपाल टुरिज्म बोर्ड र पोखरा उपमहानगरपालिका प्रबद्र्धक रहेका छन् ।
