प्रि–मनसुन सुरु नहुदै चट्याङको भय, साबधानी अपनाउन बिज्ञको सुझाब

611
0
Share:

पोखरा ६ फागुन । पोखरा र आसपासको क्षेत्रमा बुधवार अपरान्ह अचानक मौषम बदली भई असिना पानी संगै चट्याङ प¥यो । गर्मीयामको बेला प्रायःजसो मनसुन पूवार्ध तथा मनसुनकालमा नेपालका विभिन्न स्थानमा चट्याङबाट थुप्रै मानिसको ज्यान जाने गरेको पाइन्छ ।

हुन त गर्मीयाममा मात्र नभई जाडोयाममा पनि चट्याङ पर्नेगर्छ तर तुलनात्मक रूपमा गर्मीयाममा चट्याङ बढी पर्ने र यसको प्रभाव बढी देखा पर्छ । यसपाली अलि चाडैनै चट्याङको भय देखिएको छ । प्रि मनसुनको अबधि अंग्रेजी महिना मार्च, अप्रिल र मे चट्याङको जोखिमयुक्त समय हो ।
जल तथा मौषम बिज्ञान बिभाग मौषम पूर्बानुमान माहाशाखाका अनुसार पोखरासंगै देशका अन्य स्थानमा बुधवारबाट चट्याङ पार्ने बादल देखिएका छन् । ‘ मार्चपछि यसको फ्रिक्वान्सी अझै बढ्दै जान्छ’ बरिष्ठ मौषम बिद् बरुण पौडेलले पिस पोखरा डटकमसंग भने ‘ यसपाली आज पहिलो पटक चट्याङ पर्ने बादलहरु देखिएका छन्, स्थानिय प्रभाबको कारणले देखा परेको हो ।’

पौडेलका अनुसार चट्याङ एक किसिमको बिजुलीको धार हो । जुन वायुमण्डलमा देखापर्ने गर्छ । वैज्ञानिक अध्ययन अनुसार एक चोटी चट्याङ पर्ने बेला १० हजार एम्पिएर वा सो भन्दा बढी मात्रामा करेन्ट उत्पत्ति हुने गर्छ । यति धेरै करेन्ट उत्पत्ति हुने भएकाले यस्तो बिजुलीको धार आकाशबाट पृथ्वीको धरातलतिर केन्द्रित भई प्रवाहित हुनेबेला यसको संसर्गमा आउने मानिस वा अन्य कुनै प्राणीको क्षण भरमै मृत्यु हुन्छ । अध्ययन अनुसार आकाशमा एक चोटी बिजुली चम्कदा वायुमण्डलिय तापमान एक्कासी बढेर ३० हजार डिग्री सेल्सियस वा सो भन्दा बढी पुग्न थाल्छ ।

आकस्मिक रुपमा क्षणभरमै वायुमण्डलिय तापमान यति धेरै बढ्ने कारण त्यस क्षेत्रको वायुमण्डल तातिएर आयतन एक्कासी वृद्धि हुन थाल्छ , जसले गर्दा एक किसिमको विस्फोटनको आवाज निस्कन्छ । र यसलाई मेघ गर्जन भनिन्छ । यही कारणले गर्दा चट्याङ पर्ने बेला आकाशमा बिजुली चम्कनुको साथै मेघ गर्जनको आवाज आउने गर्छ । मौषमबिद् पौडेलका अनुसार तराई र हिमालतिर भन्दा पहाडी भेगमा चट्याङको डर बढी छ ।

गृह मन्त्रालयबाट प्रकाशित सन् १९८३ देखि २०१० सम्मको चट्याङ सम्बन्धी तथ्याङ अनुसार नेपालमा बार्षिक सरदर ३४ जना मानिसको ज्यान हुरीबतास तथा चट्याङबाट मात्र जाने गर्छ । गत बर्षमात्रै चट्याङबाट २६ जनाको ज्यान गएको सरकारी तथ्याङ्क छ । चट्याङबाट बच्ने उपाय बारे कमैलाई थाहा छ । चट्याङ परेको बेला रुखमुनी ओत लाग्नु खतराजनक हुन्छ भने बिजुलीको खम्बामुनी बस्नु पनि खतरा नै हुन्छ । त्यस्तै चट्याङ परेको बेला खुल्ला आकाशमूनि हिडडुल गर्नु, खेतमा काम गर्नु, पोखरीमा पौडी खेल्नु वा डुङ्गा चलाउनु डरलाग्दो हुन्छ ।

चट्याङ परीरहेको बेला टेलिभिजन एरकन्डिसन वा बिजुलीको माध्यमबाट चल्ने यान्त्रिक साधन सञ्चालन गर्नु खतरनाक मानिन्छ । चट्याङको मौषम सुरु भएसंगै यो बाट बच्ने सामान्य उपायको बारेमा बेलैमा सचेत भए ज्यान जोगाउन सकिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: