मनाङलाई टाईब्रेकरमा हराउँदै आर्मी बिराट गोल्डकपको फाईनलमा, उपाधिका लागि झापा ११ सँग खेल्न

Share:

विराटनगर, फागुन ७ / नेपाल आर्मी विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ। मनाङ मर्स्याङ्दी क्लबलाई बिहीबार ट्राइब्रेकरमा हराउँदै आर्मीले फाइनल यात्रामा सफलता हासिल गरेको हो। यो सिजनमा लगातार उपाधि जितेर चर्चामा रहेको त्रिभुवन आर्मीले फाइनलमा अब झापा–११ सँग सामना गर्नुपर्नेछ।

आर्मी सिजनका चार वटा गोल्डकप फुटबलमा बिजेता बनेको थियो। आर्मीले मनाङलाई ४–२ ले पराजित गर्यो। निर्धारित समयमा बराबरी १ गोलमा खेलेका दुबै टिमले थपिएको ३० मिनेट अतिरिक्त समयमा पनि गोल गर्न सकेनन्। अतिरिक्त समय खेर गएपछि नतिजाका लागि ट्राइब्रेकर गरिएको थियो। आर्मीका जितेन्द्र कार्की, हिराण्य मगर, नवयुग श्रेष्ठ र दीपक गुरूङले गोल गरे। आर्मीका सन्तोष तामाङको प्रहार मनाङका गोलरक्षक विशाल श्रेष्ठले छेकिदिएका थिए।

मनाङबाट रुपेश केसी र शिव श्रेष्ठले गोल गरे। कप्तान अनिल गुरूङ ट्राइब्रेकरमा चुके। उनको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले रोकिदिए। विशाल राईको प्रहार पनि कुथुले रोकिदिए। खेल सुरू भएको ६ मिनेटमै मनाङले अग्रता लिएको थियो। मनाङबाट अफ्रिकन खेलाडी लिओन्स जिखाल डोडोजले गोल गरेका थिए। दोस्रो हाफको २५ मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल फर्काएर खेल बराबरीमा ल्याए।  आर्मीले पोखरामा सम्पन्न आहा रारा गोल्डकप सेमिफाइनलसम्म खेलेको थियो। आर्मीलाई मनाङले २–१ गोलले पराजित गरेको थियो। प्रतियोगिताको म्यान अफ द म्याच आर्मीका नवयुग श्रेष्ठ भए।

मनाङका प्रशिक्षक राजुकाजी आफ्नो टिमले उत्कृष्ट प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिएका छन्। ‘हाम्रो पक्षमा सुरुवाती सफलता हुँदाहुँदै पनि टिमले राम्ररी खेल्न सकेन,ु शाक्यले भने, ‘फिनिसिङमा हाम्रो टिम चुक्यो, धेरै थकित भएजस्तो गरी खेलाडी खेलिरहेका देखिन्थे।ु

आर्मीका प्रशिक्षक मेघराज केसीले सिजनदेखि नै आफ्नो टिमलाई सफलता मिल्दै गएको र मनाङसँगको विजयले आफ्नो सशक्तता पुष्टि भएको बताए। ‘मनाङ धेरै राम्रो टिम हो, हामीले अहिलेसम्म जितेका थिएनौं,ु उनले भने, ‘यो सिजनदेखिका खेलहरूमा हामीले लगातार उपाधि हात पारेका थियौं, यो जितमा खेलाडीको मेहनत उत्कृष्ट रह्यो।ु

 खिलानाथ ढकाल

कमेन्ट गर्नुहोस्
Share: