
रञ्जन अधिकारी पोखरा, ८ फागुन / नेपाल निर्माण व्यवसायी संघ कास्कीको २३ औं वार्षिक साधारणसभा शुक्रबार पोखरामा सम्पन्न भयो । साधारणसभाको उद्घाटन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनले गरेका हुन् ।
प्रमुख अतिथि गौचनले निर्माण व्यवसायीको हकहितका सवालमा प्रतिबद्ध रहेको जनाउँदै आफू नेतृत्वको कार्यकाल सफल हुने बताए । कास्की संघको संस्थापक अध्यक्ष रहेका गौचन गत मंसीर अन्तिम साता मात्रै महासंघको १७ औं साधारणसभाबाट केन्द्रिय अध्यक्षमा निर्वाचित भएका हुन् । उनले निर्माण व्यवसायीको पक्षमा नीति निर्माणका लागि राज्यलाई झकझकाउने बताउँदै निर्माण व्यवसायलाई अझै व्यवस्थित र व्यवसायिकरण गर्दै लानुपर्नेमा जोड दिए । ‘निर्माण व्यवसायीबीचको अस्वस्थ प्रतिष्पर्धालाई व्यवस्थित गर्दै जानुपर्ने छ’ – उनले भने – ‘उद्योगको रुपमा मान्यता प्राप्त गर्न लागि परेका छौं । विभेदपूर्ण टेण्डर प्रक्रियालाई पनि सुधार गर्न राज्यसँग जोडदार माग गर्दछौं ।’
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठ, उपाध्यक्षद्वय रुद्रप्रसाद शर्मा (पश्चिमाञ्चल) र तेजकुमार कुङवाङ (पूर्वाञ्चल), उपमहासचिव (नीतिगत) विष्णु बुढाथोकी, सदस्य (गण्डकी) महेन्द्र अधिकारी, संघ कास्कीका सल्लाहकार शिवशंकर गौचन, निवर्तमान अध्यक्ष राजेन्द्र पहारी, पश्चिमाञ्चल निर्माण व्यवसायी संघका अध्यक्ष ओम गौचन लगायतले मुलुक बनाउन निर्माण व्यवसायी आफै सक्षम भएको दाबी गर्दै विदेशी आयोजना र श्रमशक्ति आवश्यक नपर्ने भएकाले नेपालीलाई नै काममा लगाउन राज्यसँग जोडदार माग गरे ।
सभासद्हरु रविन्द्र अधिकारी, सीता गिरी ओली, यज्ञबहादुर थापा र शारदा पौडेलले पूर्वाधार विकासका लागि विनियोजित बजेट खर्च हुन नसकिरहेको विडम्वनापूर्ण अवस्था रहेको भन्दै नीति नियम संशोधन गर्नुपर्ने भए गर्दै सबै मिलेर विकासका काममा एकजुट हुनुपर्ने खाँचो औंल्याए ।
नेकपा एमालेका सचिव दामोदर बैरागी, नेपाली काँग्रेसका प्रतिनिधि देवेन्द्रप्रसाद शेरचन, राप्रपाका जिल्ला उपाध्यक्ष नरहरि तिमिल्सिना लगायतले नीति निर्माण तहमा रहेकाहरु गम्भीर हुनुपर्ने भन्दै जनता र राष्ट्रले विकास चाहेकाले चाँडो भन्दा चाँडो संविधान निर्माण गर्नुपर्ने बताए ।
संघ कास्कीका अध्यक्ष ऋषिराम गौतमको अध्यक्षतामा भएको साधारणसभामा सचिव दीपेन्द्र मर्सानीले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सुरेश श्रेष्ठले आय व्यव प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष बासुदेव गौचनले स्वागत तथा सचिव दीपेन्द्र मर्सानीले कार्यक्रमको सञ्चालन गरेका थिए ।
सो अवसरमा सिद्धार्थ क्लब र निर्माण व्यवसायी संघ, कास्कीले संयुक्त सञ्चालन गर्ने एम्बुलेन्स समेत हस्तान्तरण गरिएको थियो । क्लब र संघले साढे चार लाखका दरले नौ लाख रुपैंयामा किनेको एम्बुलेन्सले निकट भविष्यमै सेवा प्रदान गर्ने सिद्धार्थ क्लबका अध्यक्ष तथा संघका सचिव दिपेन्द्र मर्सानीले जानकारी दिए । एम्बुलेन्स खरीदमा भन्सार छुट भएको थियो ।
यस्तै, साधारणसभाको अवसरमा संघले ७० वर्ष उमेर कटेका ज्येष्ठ निर्माण व्यवसायी मेघनाथ पौडेललाई नगद एक लाख सहित सम्मान गरेको थियो भने एसएलसी परीक्षा २०७० मा निर्माण व्यवसायीका छोराछोरी मध्ये उत्कृष्ट हुने अनुप बिक र एलिशा बराललाई पनि नगद २० हजार सहित सम्मान गरिएको थियो ।
