
काठमाडौं, ८ फागुन / प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनमा रहेको एमाओवादी नेतृत्वको विपक्षी मोर्चालाई दोस्रो पटक वार्ताको लागि आह्वान गरेका छन् । यसअघि माघको दोस्रो साता प्रधानमन्त्री कोइरालाले वार्ताको लागि आह्वान गरेपनि विपक्षीले आफ्ना मागलाई सम्बोधन नगरेको भन्दै वार्तामा बस्न अस्वीकार गरेका थिए ।
यसपटक प्रधानमन्त्रीले राष्ट्रिय एकता, सहमति, सहकार्य र मेलमिलापको भावनाप्रति प्रतिबद्ध भएर वार्तामा आउन आग्रह गरेका छन् । सरकारको एकवर्षे कार्यकाल पूरा भएको अवसरमा दिएको सन्देशमा प्रधानमन्त्रीले विपक्षी नेतृत्वलाई संविधानका सहमति हुन बाँकी विषयमा सहमति खोज्न वार्तामा आउन अनुरोध गरेका छन् ।
नेपालको अन्तरिम संविधानको मर्म र भावनाअनुरुप संविधानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासनरप्रशासनलाई संस्थागत गर्ने मूल उद्देश्यमा केन्द्रित भएर संविधान निर्माणमा देखिएका मतभेद हटाउने निरन्तर प्रयास भइरहेको बताउँदै उनले सहमतिका आधारमा संविधान बनाउन आन्दोलनका सबै कार्यक्रम स्थगन गरी वार्ताको टेवलमा आउन आह्वान गरे।
संविधानका सहमति हुन बाँकी विषयमा अन्तरिम संविधानले हामीलाई मार्गदर्शन गर्छ र विगतमा भएका सम्झौतामा अभिव्यक्त उदार लोकतान्त्रिक भावनले प्रेरित गर्छ भन्दै प्रधानमन्त्रीले सहमतिमा संविधान निर्माण गर्ने प्रयास र समझदारीले मूर्तरुप लिएको अवस्थामा अरु प्रक्रियाको सान्दर्भिकता स्वतः हराएर जाने स्पष्ट पारेका हुन् ।
