ट्रकको ठक्करबाट किशोरको मृत्यु, चालकले जानी जानी मारेको भन्दै आफन्तद्वारा विरोध

Share:

रञ्जन अधिकारी पोखरा, ९ माघ / पोखरा १५ फलेपाटनमा ट्रकको ठक्करबाट एक किशोरको ज्यान गएको छ । शनिबार मध्यान्ह भएको दुर्घटनामा परी तनहुँ ढोरफिर्दी ५ घर भई हाल पोखरा १५ खत्रीचोक बस्दै आएका १७ वर्षीय विनोद परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । परियार कालिका उच्च माविमा कक्षा १० मा अध्ययन गर्दै आएका थिए ।

ग१क ७१८ नम्बरको ट्रकले परियार सवार ग८प ३०५६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । परियार पछि बसेका तनहुँ ढोरफिर्दीका १६ वर्षीय कृष्णबहादुर गुरुङ सामान्य घाईते भएका छन् । तनहुँबाट घुम्न पोखरा आएका गुरुङ उपचारपछि घर फर्किसकेका छन् ।

परियारलाई ट्रकले ठक्कर दिएपछि सामान्य घाईते अबस्थामा ट्रक चालकले ब्याक गरेर परियारको टाउको माथि ट्रक गुडाएर मारेको घाईते गुरुङको दाबी छ । ट्रकका चालक र सहचालक मिलेर ठक्करपछि परियारलाई ट्रकले नै किचेर मारेको प्रत्यक्षदर्शी प्रेम थापाले बताए । मृतक परियारको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ । आफन्तले शव बुझ्न नमानेको प्रहरी हवल्दार सुजन घिमिरेले जानकारी दिए ।

परियारको मृत्यु भएपछि रामबजार एरियाका महिला तथा स्थानियबाशीहरुले वडा प्रहरी कार्यालय, रामबजारमा प्रर्दशन गरेका छन । सामान्य घाईते अबस्थामा रहेको व्यक्तिलाई जवरजस्ती ब्याक गरेर मारेको भन्दै उनिहरुले चालकलाई हदैसम्मको सजाय हुनुपर्ने माग गरेका छन । ट्रक चालक पोखरा १८ भेडिफाराम बस्दै आएका ५३ वर्षीय ओमपसाद श्रेष्ठ कास्की प्रहरी नियन्त्रणमा रहेका छन् ।

आक्रोशित स्थानियहरुले ट्रकमा आगजनी गर्न प्रयास गरेपछि प्रहरीले लाठीचार्ज गरेर स्थिती नियन्त्रणमा लिएको थियो । लाठीचार्जबाट केही स्थानिय सामान्य घाईते भएका छन् । कास्की प्रहरीले भने दुर्घटना भएको तर ट्रक चालकले किचेर मारेको बारे पुष्टि नभएको जनाएको छ । स्थानीयबासीले ठक्करपछि पनि ट्रकले किचेर मारेको भन्दै विरोध गरेपछि अनुसन्धान भैरहेको प्रहरी स्रोतले बताएको छ । ठक्कर दिने ट्रक र दुर्घटनामा परेको स्कुटरलाई पनि कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । आवस्यक अनुसन्धानपछि दोषी उपर कडा कारबाही गरिने कास्की प्रहरी प्रवक्ता डिएसपी केदार रजौरेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: