
रञ्जन अधिकारी पोखरा, १० फागुन /डेढ लाख उपचार खर्च नभएर मुटुको शल्यक्रिया गर्न नसकेका चितवन भरपुर १३ आनन्दपुरका २० वर्षीय विष्णुप्रसाद अधिकारीको अन्ततः उपचार हुने भएको छ । एफएम बिग लगायतका वेबसाईटमा डेढ लाख नहुँदा विष्णुको उपचारमा समस्या समाचार प्रकाशित भएपछि अष्ट्रेलिया बस्दै आएका व्यवसायी डिला खरेलले विष्णुको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता जनाएका हुन् ।
“विष्णु भाइलाई उपचार गर्न समस्या परेकाले सघाउन मन लाग्यो ”- खरेलले भने – “म पनि आनन्दपुरकै हुँ, न्युज पढेपछि थाहा भयो ।” सिड्नीका एक सफल युवा उद्यमी खरेल समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । खरेल परोपकारी संस्था हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाका महासचिव समेत हुन् । खरेलले चितवनमै रहेका आफ्ना भाइ भानु खरेललाई विष्णुको उपचारमा सघाउन आग्रह गरिसकेका छन् । विष्णुको उपचारका लागि फेसबुकमा आव्हान पछि ५० हजार बढि रकम उठेको थियो । बाँकी रकम खरेलले व्यहोर्ने भएका हुन् । 
चार वर्षको उमेरमै बुबा बितेका विष्णुको ५ कक्षा पढ्दै गर्दा प्यारालाईसिसले दाहिने हात र गोडा नचल्ने भएको थियो । अरुकै सहायताले उपचार भएपनि अझै तन्दुरुस्त हुन नसकिरहेका उनलाई मुटु सम्बन्धी रोग लागेको हो । विष्णुको परिवार आफ्नो नाममा केहि सम्पति नभएपछि मामाघरको एउटा कटेरोमा बस्दै आएको छ ।
यसैबीच, विष्णुको उपचारका लागि सामाजिक सञ्जाल फेसबुकमा सहयोगको याचना गरिएकोमा युवाहरुको सेक्रेट ग्रुप मेन्स रुम रिलोडेडका दाजुभाइले ५० हजार बढि सहयोग गरेका छन् । फेसबुकमा ग्रुपमा उनको सहयोगको याचनापछि सहयोगी भावनाले ओतप्रोत भएका मुकेश पोखरेलले ५ हजार २ सय ५२, ऋषि सापकोटाले ५ हजार, सुदिनले ५ हजार, अम्रेश पोखरेलले ३ हजार ६ सय, शेखर खड्काले २ हजार २ सय, सन्तोष कुमार राईले २ हजार र जनकले ८ सय रुपैंया सहयोग गरेका थिए । पछि ऋषि सापकोटाको पहलमा उनका साथीहरुबाट संकलित २८ हजार बढि रकम समेत विष्णुलाई प्रदान गरिएको थियो ।
विष्णुको परिवारमा बुढी आमा दिलकुमारी, दिदी सुमित्रा र बहिनी सरस्वती छन् । तीन दिदीमध्ये लक्ष्मी र गौरीको बिहे भईसकेको छ । विष्णुले हात गोडा लुलै भएपनि मंगलपुर स्थित विश्वप्रकाश उच्च माविबाट ६२.२५ प्रतिशत ल्याएर एसएलसी उत्तीर्ण गरेका थिए । साईन्स पढ्ने ईच्छालाई गरीबिले मारेपछि व्यवस्थापन विषयमै उनले १२ कक्षा उत्तीर्ण गरे । घर गृहस्थी चलाउन पढाई छाडेर जागिर सुरु गर्ने बित्तिकै उनलाई मुटु रोगले च्याप्यो । भरतपुरको अस्पतालमा उपचार गर्दा मुटुको रोग देखिएपछि काठमाण्डौं गएका विष्णलाई अस्पतालले साढे ६ लाख रुपैंया लाग्ने बताएपछि पुनः चितवन फर्केका थिए । गंगालाल हृदयरोग केन्द्रमा खर्चले धान्न नसक्ने भएपछि शिक्षण अस्पतालमा भारी छुटपछि डेढ लाखमै उपचार हुने भएपनि उनीसँग रकम पर्याप्त भएन । अस्पतालले फागुन १० गतेपछि डेढ लाख र छ/सात जना बी पोजिटिभ रगत भएको व्यक्ति साथमा ल्याउनु भनेको बताउँदै विष्णुले जति ढिला हुन्छ ग¥यो उति जोखिम हुने बताएको जनाए ।
