पोखरामा दुई सहित ५ नेपाली स्वाइनफ्लु संक्रमित

384
0
Share:

बिग न्युज पोखरा, फाल्गुन ११ / पोखरामा परीक्षणका क्रममा दुई जनामा स्वाइफ्लु भेटिएको छ । भारतमा महामारीको रुपमा देखिएको स्वाइनफ्लुबाट पोखराका दुई सहित ५ नेपाली पनि संक्रमित भएका छन् । हालसम्म पोखराका दुई सहित पाच नेपालीमा एच वान एन वान को भाईरस देखिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

क्षेत्रीय प्रयोगशालामा रक्त परीक्षणका क्रममा  एक  ५१ वर्षका पुरुष र ११ वर्षका बालकमा स्वाइफ्लु भेटिएको हो ।  पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा बिरामी भइ भर्ना भएका दुवैको रगत परीक्षण गर्दा शकास्पद रुपमा स्वाइनफ्लु  भेटिएको जिल्ला जनस्वास्थय कार्यालय पोखराका प्रमुख बालकृष्ण भुषालले जानकारी दिए ।

थप पुष्टिका लागि  राष्ट्रिय प्रयोगशाला काठमाडौंमा पठाइएकोमा प्रयोगशालाले नमुना परिक्षणका क्रममा स्वाइन फ्लुको संक्रमण देखिएको पुष्टि गरेको हो । स्वाइनफलु भेटिएका दुवै जना पोखराकै बासिन्दा हुन् । प्रयोगशालामा पोखराका दुई, काठमाडौंका २ र भक्तपुरका १ गरि पाँच जनामा स्वाइन फ्लुको संक्रमण देखिएको हो । स्वाइन फ्लु देखिएकाको परिवारलाई समेत परिक्षण गरि निगरानीमा राखिएको छ ।

उनीहरूलाई एन्टिभाइरल औषधि दिएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीकाले जानकारी दिए । स्वाइन फ्लुको संक्रमण भएका सबै भारतबाट नेपाल फर्किएका नेपाली हुन् । स्वाइनफ्लुको कारण भारतमा साढे ६ सय भन्दा धेरैको ज्यान गईसकेको छ भने १० हजार भन्दा बढी प्रंभाबित छन् ।

सीमा जोडिएको छिमेकी मुलुक भारतमा स्वाइनफ्लूको महामारी फैलिँदै गएकोले नेपालमा जोखिम उच्च तर सुरक्षा सतर्कता फितलो छ । सीमा नाकाबाट नेपाली र भारतीय नागरिकको आवत जावत भैराख्ने हुँदा कुनै पनि बेला स्वाइनफ्लूको महामारी नेपालमा पनि फैलिन सक्ने सरोकारवाला बताउँछन् । नेपाल र भारत आवत(जावत गर्ने साना ठूला गरी ८ दर्जन भन्दा धेरै नाका छन् । पैदल नाका तथा विमानस्थलहरुबाट सजिलै मानिसहरुको आवत(जावत हुन्छ । तर ति नाकाहरुमा स्वास्थ्य परीक्षणको व्यवस्था नहुँदा भारतमा महामारीको रुप लिइसकेको स्वाइनफ्लू नेपालमा पनि भित्रिएर जोखिम बढ्ने चिन्ता व्यक्त भैरहेको छ ।

स्वाइनफ्लू लागेमा रुघाजस्तै लक्षण देखिन्छ । नाक बन्द हुने, पातलो सिगान बगिरहने, हाच्छ्यू आउने, खोकी लाग्ने, थकाई महसुस हुने, खान मन नलाग्ने यसका प्रारम्भिक लक्षण हुन् । यसका साथै कडा ज्वरो आउने, टाउको दुख्ने, झाडा पखाला लाग्ने पनि हुन्छ । त्यसैले रुघा खोकी वा यस्तै कुनै लक्षण देखिए सामान्यरुपमा नलिइ स्वास्थ्य जाँच गराइहाल्न चिकित्सकहरुले सुझाव दिएका छन् । कास्की जिल्ला भारतसग सिमाना नजोडिएकोले जोखिम नरहेर पनि स्वाइफ्लु भेटिएपछि जनचेतनाका कार्यक्रम बढाउनु पर्ने भुषालले बताए ।

कमेन्ट गर्नुहोस्
Share: